Biratnagar, Morang, Nepal
१८ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

बाढी प्रभावितका लागि अरनिको कलेजको १० लाखभन्दा बढी सहयोग

उद्‌घोष संवाददाता
१७ भदौ २०८३, बुधवार

हिसान मोरङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी चेक हस्तान्तरण गर्दै अरनिको कलेजका प्राचार्य राजेश कार्की तथा सञ्चालकहरू ।

Advertisement

विराटनगर । विराटनगर-१० तिनटोलियास्थित अरनिको कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी  १० लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गरेको छ ।

कलेजले बुधबार उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङमार्फत उक्त रकम भोटेकोशी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि  हस्तान्तरण गरेको हो । कलेज परिसरमा आयोजित कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्की तथा सञ्चालकहरूले हिसान मोरङका अध्यक्ष अमित ढकाल र कोशी प्रदेश सचिव दिपेश बास्तोलालाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा कलेजका सञ्चालक भरतराज दाहाल, निलमकुमार अधिकारी, विकास खनाल, विलास लुइँटेल, डा. भविन्द्र निरौला, लक्ष्मीप्रसाद अधिकारी र शैलेशकुमार झासहितको उपस्थिति थियो । बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको प्राचार्य कार्कीले बताए । विपत्तिका बेला संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कलेजले सहयोग गरेको उनको भनाइ छ ।

विराटनगरको शैक्षिक क्षेत्रमा विज्ञान शिक्षाका लागि स्थापित पहिचान बनाएको अरनिको कलेजले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको छ । कलेजले आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई अध्ययनको अवसर उपलब्ध गराउन छात्रवृत्ति तथा शुल्क छुटका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

शिक्षालाई केवल कक्षाकोठाभित्र सीमित नराखी विद्यार्थीलाई सामाजिक जिम्मेवारी र समुदायप्रतिको दायित्वबोध गराउने प्रयास पनि कलेजले गर्दै आएको छ । यही सामाजिक उत्तरदायित्वको निरन्तरताका रूपमा अहिले बाढी प्रभावितका लागि आर्थिक सहयोग गरिएको प्राचार्य कार्कीले बताए । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ । कोशी प्रदेशको राजधानी विराटनगरसहित प्रदेशका विभिन्न जिल्ला तथा स्थानीय तहबाट आर्थिक सहयोग, खाद्यान्न र आवश्यक सामग्री पठाउने क्रम जारी छ ।

सरकारी निकायसँगै निजी क्षेत्र, उद्योगी-व्यवसायी, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थाले राहत तथा उद्धारमा सहयोग परिचालन गरिरहेका छन् । बाढीले प्रभावित नागरिकलाई तत्काल राहतसँगै पुनःस्थापनाको आवश्यकता बढिरहेका बेला शैक्षिक संस्थाबाट भएको यस्तो सहयोगले विपत्तिमा संस्थागत सामाजिक उत्तरदायित्वको भूमिकालाई समेत थप बलियो बनाएको छ ।

View : 128

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved