Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

मायोपिया सम्बन्धी एकदिने प्रशिक्षण

उद्‌घोष संवाददाता
१० जेठ २०८३, आइतवार

विराटनगर । विराटनगरमा बालबालिकाको आँखामा हुने दृष्टिदोष भनिने मायोपिया ब्यवस्थापन सम्बन्धी एकदिने प्रशिक्षण सम्पन्न भएको छ ।

नेपाल भिजन केयर फाउन्डेशनले एशिलर लक्सोटिकासँगको सहकार्य तथा मेची आँखा अस्पताल र अप्टिकेयर नेपालको सहयोगमा प्रशिक्षण आयोजना गरिएको हो । 

नेपाल भिजन केयर फाउन्डेशनका अध्यक्ष एवं उप–प्राध्यापक सञ्जीवकुमार मिश्रको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षणमा कोशी प्रदेशभरका नेत्ररोग विशेषज्ञ, अप्टोमेट्रिस्ट तथा नेत्र सहायकहरू समेत ७५ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रमको मुख्य उद्देश्य विद्यालय उमेरका बालबालिकामा बढ्दो मायोपियाको समस्या, अत्यधिक स्क्रिन प्रयोग र बाहिरी गतिविधिमा आउने कमीले निम्त्याउने जोखिमबारे स्वास्थ्यकर्मीहरूमा व्यावहारिक एवं प्रमाणमा आधारित ज्ञान अभिवृद्धि गर्नु रहेको थियो । 

सो विषयमा जानकारी दिंदै विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ पंकज अधिकारीले कोभिडपछिको दिनहरुमा इलेक्ट्रोनिक ग्याजेटहरुको प्रयोग बढेकोले बालबालिकामा मायोपिया बढ्दै गएको बताए । 

कार्यक्रममा उप–प्राध्यापक निराजदेव जोशीले नेपाल र विश्वव्यापी रूपमा मायोपियाको अवस्था र प्रारम्भिक पहिचानको महत्वमाथि प्रकाश पारेका थिए । 

त्यस्तै, नोबेल मेडिकल कलेजका विभागीय प्रमुख तथा प्रमाणित मायोपिया व्यवस्थापन विशेषज्ञ उप–प्राध्यापक वीरेन्द्र महतले बालबालिकाको मायोपिया नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रूपमा अभ्यासमा रहेका चस्मा प्रविधि, कन्ट्याक्ट लेन्स, एट्रोपिन थेरापी र यसको क्लिनिकल प्रभावकारिताबारे विस्तृत कार्यपत्र प्रस्तुत गरेका थिए ।

मेची एडभान्सड आँखा अस्पतालका चिफ अप्टोमेट्रिस्ट अमितकुमार सिंहले नियमित निगरानी, एक्सियल लेन्थ एसेसमेन्ट र दीर्घकालीन बिरामी अनुगमनको प्रोटोकलबारे जानकारी गराएका थिए । 

यस्तै एशिलर लक्सोटिकाका आशुतोष त्रिपाठीले बालबालिकामा मायोपियाको गति कम गर्न विकास गरिएको आधुनिक बारे प्राविधिक जानकारी गराए ।

सो अवसरमा बोल्ने अन्य सहभागीहरुले मायोपिया अब चस्मा लगाउने सामान्य विषय मात्र नभई गम्भीर सार्वजनिक स्वास्थ्य चुनौती बनेकाले अभिभावक, विद्यालय र स्वास्थ्यकर्मीबीच सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

View : 166

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved