Biratnagar, Morang, Nepal
१४ असोज २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

मोरङ कांग्रेसभित्र क्षेत्रीय सभापतिमा रस्साकस्सी, पाँच क्षेत्रमा प्रतिस्पर्धा र एकमा सर्वसम्मत्

उद्‌घोष संवाददाता
१३ असोज २०८३, मङ्गलवार

मोरङ क्षेत्र नम्बर ४ मा सोमबार क्षेत्रीय समितिको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएपछि आफ्नो मत माग्दै युवा समूहका उम्मेदवारहरू । यहाँ सोमबारका लागि तय भएको निर्वाचन मंगलबारका लागि सरेको छ । तस्वीर : बाबुराम/उद्घोष

Advertisement

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको संघारमा जारी मोरङको छ मध्ये पाँचवटा निर्वाचन क्षेत्रको क्षेत्रीय समितिको नेतृत्वका लागि रस्साकस्सी तीव्र छ । मोरङका ५ वटा निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिका आकांक्षीहरू मैदानमा देखिंदा क्षेत्र नम्बर ५ मा भने सोमबार सर्वसम्मत क्षेत्रीय समिति चयन भएको छ । 

बाँकी पाँच क्षेत्रीय समितिका सभापतिसहित पदाधिकारी र सदस्य पदहरूमा प्रतिस्पर्धा तय भएको छ । 

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशन अघि नै प्रतिनिधि र प्रदेशसभाका क्षेत्रीय समितिको निर्वाचन हुँदैछन् ।

मोरङमा क्षेत्रीय सभापतिको प्रतिस्पर्धालाई आगामी जिल्ला तथा प्रदेश नेतृत्वको समीकरणसँग पनि जोडेर हेरिएको छ । क्षेत्रीय समितिको नेतृत्व चयन सकेलगत्तै महाधिवेशन प्रतिनिधिहरू केन्द्रीय समितिको निर्वाचनमा केन्द्रित हुनेछन् । 

क्षेत्रीय समितिको अधिवेशनले भने जिल्लादेखि प्रदेश तहसम्मको कांग्रेसको आगामी शक्ति सन्तुलनमा प्रत्यक्ष प्रभाव पार्ने भएकोले तानातान देखिएको हो । 

आकांक्षीहरू बीच सहमति जुटाएर एकताको सन्देश दिने प्रयासका बीच क्षेत्रीय समितिमा प्रतिष्पर्धा पनि उतिक्कै बढेको छ ।

मोरङमा क्षेत्रीय सभापतिको प्रतिस्पर्धा मात्रै नभई महाधिवेशन प्रतिनिधि चयनलाई समेत विशेष चासोका साथ हेरिएको छ । 

क्षेत्रीय अधिवेशनबाट चयन हुने प्रतिनिधिहरूले केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने भएकाले केन्द्रीय नेतृत्वका आकांक्षीहरूले आफ्ना पक्षका प्रतिनिधि निर्वाचित गराउन सक्रियता बढाइरहेका छन् ।

क्षेत्रीय प्रतिनिधि नै पार्टीको आगामी नेतृत्व चयन प्रक्रियामा निर्णायक हुँदैछन् । क्षेत्रीय सभापतिको निर्वाचनलाई पनि स्थानीय संगठनको नेतृत्व चयनभन्दा माथि उठेर जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वको समीकरणसँग जोडेर हेरिन्छ ।

मोरङ कांग्रेसमा यस पटक क्षेत्रीय समितिको नेतृत्व चयनमा कतिपय स्थानमा सहमतिको प्रयास भए पनि आकांक्षी धेरै हुँदा निर्वाचनतर्फ जानुपर्ने अवस्था बनिसकेको छ । 

एकातर्फ सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको छ तर त्यो प्रयास अर्थपूर्ण हुने सम्भावना न्यून रहेको कांग्रेस कार्यकर्ताहरू बताउँछन् ।

मोरङका ६ मध्ये ५ निर्वाचन क्षेत्रमा क्षेत्रीय नेतृत्वको प्रतिस्पर्धा आगामी जिल्ला सभापति निर्वाचन, प्रदेश नेतृत्व र केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि चयनको राजनीतिक आधार बन्ने निश्चित देखिएको छ ।

क्षेत्र नम्बर १ मा चाम्लिङ र तुम्रोक

मोरङ क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिका लागि देवराज चाम्लिङ र अर्जुनकुमार तुम्रोक मुख्य दाबेदारका रूपमा देखिएका छन् । चाम्लिङ महासमिति सदस्य हुन् भने तुम्रोक पनि प्रदेश सदस्यका साथै महासमिति सदस्य नै हुन् ।

कांग्रेसका स्थानीय नेताहरूका अनुसार मोरङ १ बाट प्रदेश समितिका वर्तमान सहमहामन्त्री खड्ग फागो र वर्तमान जिल्ला सभापति डिगबहादुर लिम्बू प्रदेश अध्यक्षका दाबेदारका रूपमा अघि बढेका कारण क्षेत्रीय समितिको नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ ।

सोमबार क्षेत्रीय अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएसँगै निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया अघि बढाएको जनाइएको छ ।

क्षेत्र नम्बर २ मा तीन आकांक्षी

क्षेत्र नम्बर २ मा देवेन्द्रबहादुर बस्नेत, यज्ञ कार्की र महेश्वरप्रसाद राजवंशी क्षेत्रीय सभापतिका प्रमुख आकांक्षीका रूपमा देखिएका छन् ।

बस्नेत प्रदेशसभा ‘ख’ का वर्तमान सभापति हुन् । कार्की यसअघि क्षेत्रीय सभापतिको निर्वाचनमा नागेश्वरप्रसाद सिंहसँग पराजित भएका थिए । राजवंशी भने सुनवर्षी नगर सभापतिको निर्वाचनमा पराजित भएका थिए ।

क्षेत्र नम्बर २ मा आइतबार नै मनोनयन दर्ता सम्पन्न भएको थियो । सोमबार निर्वाचनको कार्यक्रम रहे पनि सहमतिको प्रयास भन्दै मंगलबारका लागि मतदानको प्रक्रिया धकेलिएको हो ।

क्षेत्र नं ३ मा अधिकारी र ढकाल भिड्दै

क्षेत्र नम्बर ३ मा राजेन्द्र अधिकारी र राजेन्द्र ढकाल क्षेत्रीय सभापतिका प्रमुख दाबेदार हुन् । अधिकारी वर्तमान क्षेत्रीय समितिका सचिव हुन् । 

अर्का उम्मेदवार ढकाल भने १४औँ महाधिवेशनअघि भएको क्षेत्रीय समितिको सभापति निर्वाचनमा गणेश खड्कासँग थोरै मतान्तरले पराजित भएका थिए । यसपटक उनी पुनः क्षेत्रीय नेतृत्वको दौडमा उत्रिएका हुन् ।

दुवै उम्मेदवारको विगतको संगठनात्मक सक्रियता र क्षेत्रीय प्रतिनिधिहरूमाझको सम्बन्धलाई निर्वाचनको परिणामका लागि महत्वपूर्ण मानिएको कांग्रेस कार्यकर्ताहरूको भनाई छ । 

क्षेत्रीय सभापतिका अर्का दावेदार भोजराज बस्नेतले राजेन्द्र ढकाललाइ समर्थन गरेका छन ।

क्षेत्र नं ४ मा बस्नेत र माझीको प्रतिस्पर्धा

क्षेत्र नम्बर ४ मा विनोद बस्नेत र विद्यानन्द माझी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

उनीहरू मध्येबाट एक सभापति चयनका लागि सोमबार नै निर्वाचनको कार्यतालिका तोकिएपनि यहाँ पनि सहमतिकै लागि भन्दै निर्वाचन प्रक्रिया अवरुद्ध पारिएको मतदानका लागि भन्दै पार्टी कार्यालय पुगेका क्षेत्रीय प्रतिनिधिहरूले बताए ।

उनीहरूले तोकिएको समयमा निर्वाचन गराउन नसक्नु नेतृत्वको तहको कमजोरी भन्दै तत्कालै लोकतान्त्रिक विधी अपनाएर नेतृत्व छान्ने अवसर प्रदान गर्न माग गरेका छन् ।

बस्नेत वर्तमान क्षेत्रीय सभापति हुन् भने माझी कांग्रेसका सक्रिय नेता हुन् । दुवैले आइतबार क्षेत्रीय सभापतिका लागि उम्मेदवारी दर्ता गरेका थिए ।

तबदार र थापा मगर ६ मा भिड्दै

क्षेत्र नम्बर ६ मा चुमनारायण तबदार र जितनारायण थापा मगर क्षेत्रीय सभापतिका प्रमुख दाबेदार छन् ।

तबदारले पत्रकार भेटघाट नै गरेर आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । बुढीगंगा गाउँपालिकाका अध्यक्षसमेत रहेका थापा मगर पनि क्षेत्रीय सभापतिको प्रतिस्पर्धामा उत्रिएका छन् ।

मोरङ क्षेत्र नम्बर ६ मा वडा अधिवेशन सम्पन्न हुन ढिलाइ भएपछि अन्य क्षेत्रको तुलनामा अधिवेशन प्रक्रिया केही ढिलो भएको हो । ढिलाईका वावजुद क्षेत्रीय समितिको निर्वाचनको माहौल बनेको हो ।

५ मा भने गच्छदार निर्विरोध

क्षेत्र नम्बर ५ मा भने जिवछप्रसाद गच्छदार क्षेत्रीय सभापतिमा निर्विरोध चयन भएका छन् । उनी धनपालथान गाउँपालिकाका वर्तमान अध्यक्ष हुन् ।

यस क्षेत्रमा क्षेत्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत चयन भएको बताइएको छ । 

महाधिवेशन प्रतिनिधि चयनसमेत सर्वसम्मत भएको छ । मोरङका अन्य क्षेत्रको तुलनामा क्षेत्र नम्बर ५ मा सहमतिमार्फत नेतृत्व चयन भएको हो ।

View : 191

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved