Biratnagar, Morang, Nepal
११ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

उद्योग संगठनको पहलले क्लियरिङ एजेन्टको पेनडाउन फिर्ता, विराटनगर भन्सारबाट आयात–निर्यात पनि सुचारु

उद्‌घोष संवाददाता
११ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । जोगवनी भन्सार क्लियरिङ एजेन्टहरूले सोमबारदेखि गरेको पेनडाउन बुधबार फिर्ता लिएका छन् । ल्यान्ड पोर्ट अफ इन्डिया (एलपीआई) र सीमा सुरक्षा बल (एसएसबी) को दुर्व्यवहारका कारण आन्दोलनमा उत्रिएका एजेन्टहरूले पेनडाउन गर्दा जोगवनी नाकाबाट आयात–निर्यात कारोबार प्रभावित भएको थियो ।

उद्योग संगठन मोरङको पहलमा जोगबनीमा भएको वार्तापछि भन्सार क्लियरिङ एजेन्टहरूले आन्दोलन फिर्ता लिएका हुन् । यो प्रयासले सीमापार व्यापार सामान्यतर्फ फर्किएको संगठनका नन्दकिशोर राठीले बताए । राठीकै नेतृत्वमा जोगबनी भन्सार पुगेको प्रतिनिधिमण्डल र सम्बन्धित निकायबीच भएको छलफलपछि भन्सार एजेन्टहरूले पेनडाउन फिर्ता लिने सहमति जनाएका थिए ।

वार्ताका क्रममा संगठनका अध्यक्ष राठीले पेनडाउनका कारण आयात निर्यात ठप्प हुँदा नेपाली उद्योगी तथा व्यवसायी प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै ल्यान्ड पोर्ट अफ इन्डिया तथा भारतीय सीमा सुरक्षा बलले भन्सार एजेन्टको जायज गुनासा सम्बोधन गर्दै मर्यादित र सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष राठीका अनुसार आन्दोलनका कारण अत्यावश्यक वस्तु तथा औद्योगिक कच्चा पदार्थ बोकेर नेपालतर्फ आउँदै गरेका सात सयभन्दा बढी मालवाहक ट्रक भारतीय सीमामा रोकिएका थिए । 

छलफलमा भन्सार एजेन्ट तथा व्यवसायीले उठाएका समस्याबारे जवाफ दिँदै एलपीआईका प्रबन्धक रत्नाकरले हाल सञ्चालनमा रहेको एउटा नगद काउन्टरलाई दुई साताभित्र तीनवटा पुर्याउने प्रतिबद्धता जनाए । साथै, जाँचपास प्रक्रियामा देखिँदै आएको सर्भर डाउनको समस्या समाधान गरिने जानकारी दिए । त्यसका साथै नेपालतर्फ प्रवेश गर्ने हालको एक गेटलाई विस्तार गरी तीनवटा बनाउने र यसका लागि बजेट प्राप्त हुनासाथ काम अघि बढाइने उनको भनाइ थियो ।

जोगबनी भन्सार क्लियरिङ एजेन्ट संघका अध्यक्ष रामबावु यादवले एलपीआईको व्यवस्थापनका कारण मालवाहक सवारी नेपाल प्रवेश गर्न समय लाग्ने गरेको गुनासो गरेका थिए ।

उनले एउटा मात्र नगद काउन्टर रहेको कम्प्युटरमा बारम्बार सर्भर अवरुद्ध हुँदा जाँचपास प्रक्रिया प्रभावित हुने समस्या उठाए । साथै, एसएसबीबाट व्यवसायी तथा एजेन्टप्रति अपमानजनक व्यवहार हुने गरेको भन्दै त्यसको सुधारको माग गरेका थिए ।

वार्तामा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष विपिन कावरा, कार्यसमिति सदस्य दीपक अग्रवाल, एलपीआई तथा जोगबनी भन्सार क्लियरिङ एजेन्ट संघका प्रतिनिधिहरू सहभागी थिए ।

View : 12

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved