देवबहादुर बिष्ट
‘मलाई लाग्थ्यो, मेरो जीवन अब यहीँ सकियो । रातभर निद्रा लाग्दैनथ्यो, कसैसँग आफ्नो पीडा भन्न सक्दिनथेँ । आज फेरि म भविष्यको सपना देख्न थालेकी छु ।’
यी शब्दहरू हुन् गीता राई (नाम परिवर्तन) का । एक समय उनी निराशा, एक्लोपन र असहायताले घेरिएकी थिइन् ।
आज उनी आफ्नै मेहनतमा भविष्य निर्माण गर्ने आत्मविश्वासका साथ अगाडि बढिरहेकी छन् ।
गीताको विवाहपछि परिवारमा खुसी थपिँदै गएको थियो ।
२०६० साल मंसिरमा छोराको जन्म भयो र केही वर्षसम्म जीवन सामान्य रूपमा चलिरहेको थियो ।
तर, आर्थिक अवस्था सुधार्ने उद्देश्यले उनका श्रीमान् रोजगारीका लागि साउदी अरब गएपछि जीवनको दिशा बदलिन थाल्यो ।
सुरुका वर्षहरूमा श्रीमानले नियमित रूपमा सम्पर्क गर्ने, घरखर्च पठाउने र परिवारको जिम्मेवारी निर्वाह गर्ने प्रयास गर्नुभयो ।
त्यसैले गीताले दुरीलाई बाध्यता सम्झेर सहन सकिन् । तर, नेपाल फर्किएर केही समय बसेपछि श्रीमान् पुनः विदेश गए र त्यसपछि सम्बन्ध विस्तारै टाढिँदै गयो ।
समयसँगै फोन सम्पर्क कम हुन थाल्यो । घरखर्च आउन छाड्यो । फोनमा अपमानजनक शब्द प्रयोग गर्ने, चरित्रमाथि आरोप लगाउने र आफू अर्को महिलासँग बसिरहेको बताउने श्रीमानका व्यवहारले गीताको मन गहिरो रूपमा आहत भयो ।
उनीसँग आफ्ना पीडा सुनाउने कोही थिएन । सासू–ससुराले कहिलेकाहीँ आर्थिक तथा भावनात्मक साथ दिए पनि श्रीमानको अनुपस्थिति र सम्बन्धमा आएको दुरीले उनलाई भित्रभित्रै कमजोर बनाउँदै लग्यो ।
श्रीमान् विदेश गएको १२ वर्षभन्दा बढी समय बितिसकेको थियो । घरव्यवहार, खेतीपाती, छोराको पालनपोषण र दैनिक खर्चको सम्पूर्ण जिम्मेवारी गीताले एक्लैले सम्हालिरहेकी थिइन् । खेतीपाती गरेर परिवार धानिरहेकी उनी आर्थिक अभावसँग मात्र होइन, सामाजिक दबाब र भावनात्मक पीडासँग पनि निरन्तर संघर्ष गरिरहेकी थिइन् ।
यही समयमा अर्को चिन्ता थपियो । उनका छोरामा व्यवहारसम्बन्धी समस्या देखिन थाल्यो । विद्यालयमा साथीलाई ब्लेडले काट्ने, शिक्षकको कुरा नमान्ने र आक्रामक व्यवहार देखिन थालेपछि उनी झन् चिन्तित बनिन् । एकातिर आफ्नै मानसिक पीडा र अर्कोतिर छोराको भविष्यको चिन्ताले उनी पूर्ण रूपमा थाकिसकेकी थिइन् ।
बिस्तारै उनी रातभर सुत्न नसक्ने, खाना खान मन नलाग्ने, काममा ध्यान दिन नसक्ने, आफ्नो स्वास्थ्यको बेवास्ता गर्ने र गाउँघरका सामाजिक गतिविधिबाट टाढिँदै जाने अवस्थामा पुगिन् ।
भविष्यप्रति विश्वास हराउँदै गएको थियो ।
यही क्रममा गाउँमै मनोसामाजिक परामर्शकर्तासँग उनको भेट भयो । पहिलो भेटमै परामर्श सेवाको उद्देश्य, गोपनीयता र प्रक्रियाबारे जानकारी दिइयो ।
सुरक्षित र विश्वासिलो वातावरण पाएपछि गीताले वर्षौँदेखि मनमा थुप्रिएका पीडा पहिलो पटक खुलेर व्यक्त गरिन् ।
त्यसपछि नियमित घरभेटमार्फत सात–आठ पटक मनोसामाजिक परामर्श प्रदान गरियो ।
परामर्शका क्रममा सक्रिय श्रवण, भावनात्मक समर्थन, तनाव व्यवस्थापन, समस्या समाधानका सीप, सकारात्मक सोचको विकास, आत्मविश्वास अभिवृद्धि तथा भविष्यप्रति आशा जगाउने विषयमा काम गरियो ।
साथै परिवारसँग समन्वय गर्दै छोराको व्यवहार व्यवस्थापन र मानसिक स्वास्थ्यका विषयमा पनि आवश्यक सहयोग प्रदान गरियो ।
परामर्शका क्रममा गीताका आफ्नै सबल पक्षहरू पहिचान गरिए । खेतीपाती गर्ने क्षमता, मेहनती स्वभाव, जिम्मेवारी बहन गर्ने बानी, छोराप्रतिको माया र कठिन परिस्थितिमा पनि हार नमान्ने दृढतालाई परिवर्तनको आधार बनाइयो । उनलाई दैनिक गतिविधिमा सक्रिय रहन, आत्महेरचाह गर्न, सामाजिक कार्यक्रममा सहभागी हुन र आफ्ना क्षमतामाथि विश्वास गर्न निरन्तर प्रोत्साहित गरियो ।
क्रमशः गीताको जीवनमा सकारात्मक परिवर्तन देखिन थाल्यो । आज उनी विगतका पीडामा अल्झिएर बस्नेभन्दा वर्तमान र भविष्य निर्माणमा केन्द्रित भएकी छन् ।
खेतीपातीका काममा सक्रिय छन्, गाउँका सामाजिक कार्यक्रममा नियमित सहभागी हुन्छिन् र आफ्ना छोराको शिक्षालाई प्राथमिकता दिन थालेकी छन् । छिमेकीसँगको सम्बन्ध सुधारिएको छ । श्रीमानसँग पनि पुनः नियमित संवाद हुन थालेको छ र उहाँ निकट भविष्यमा नेपाल फर्किने तयारीमा रहेको जानकारी गीताले दिएकी छन् ।
सबैभन्दा महत्वपूर्ण कुरा, उनी अब आफ्नै सानो व्यवसाय (पसल) सञ्चालन गर्ने तयारीमा छन् । आर्थिक रूपमा आत्मनिर्भर बन्ने लक्ष्यले उनको आत्मविश्वासलाई नयाँ उचाइ दिएको छ ।
भावुक हुँदै उनी भन्छिन्, पहिले मलाई लाग्थ्यो, मेरो जीवनमा अब केही बाँकी छैन । रातभर निद्रा लाग्दैनथ्यो, धेरै चिन्ता हुन्थ्यो र कसैसँग आफ्ना कुरा भन्न सक्दिनथेँ ।
मनोसामाजिक परामर्शकर्तासँग भेट भएपछि पहिलो पटक कसैले मेरो पीडा सुन्ने र बुझ्ने प्रयास गरेको महसुस भयो । अहिले म धेरै हलुका महसुस गर्छु ।
पुराना पीडामा अल्झिनुको सट्टा काममा व्यस्त रहन्छु, छोराको भविष्यका लागि योजना बनाउँछु र आफ्नै मेहनतले जीवन अघि बढाउन सकिन्छ भन्ने विश्वास जागेको छ ।
मुख्य सिकाइ
गीताको जीवनयात्राले देखाउँछ कि वैदेशिक रोजगारीका कारण उत्पन्न पारिवारिक दुरी, भावनात्मक उपेक्षा र आर्थिक असुरक्षाले व्यक्तिको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ ।
तर, समयमै प्रदान गरिएको मनोसामाजिक परामर्श, भावनात्मक साथ, परिवारसँगको समन्वय र व्यक्तिका आफ्नै सबल पक्षहरूको पहिचान तथा सशक्तीकरणले निराशालाई आशामा, असहायतालाई आत्मविश्वासमा र निर्भरतालाई आत्मनिर्भरतामा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
गीताको कथा केवल एउटी महिलाको संघर्षको कथा मात्र होइन, उचित साथ र अवसर पाएपछि मानिसले आफ्नो जीवनलाई पुनः नयाँ दिशामा अघि बढाउन सक्ने सम्भावनाको सशक्त उदाहरण पनि हो ।
मनोसामाजिक परामर्शको क्रममा विद्यालयमा विद्यार्थीहरूसँग र समुदायमा भएका सचेतना कार्यक्रममा आएको चुनौतिहरू
– सेवाग्राहीमा फोनसम्पर्क नहुनु ।
– मानसिक स्वास्थ्य र रोगलाई सामान्य ठान्नु ।
– भौगोलिक कठिनाइ ।
सुझावहरु;
– मानसिक रोग तथा समस्यालाई चिन्न र बुजाउनको लागि समुदायमा सचेतना कार्यक्रम र मनोसामाजिक परामर्शको अभियान चलाउनु पर्छ ।
नयाँ अभ्यासहरू;
– पालिकाको सबै कार्यक्रममा मानसिक स्वास्थ्यको र रोगको बिषयमा छलफल हुनु ।
– तनाब ब्यवस्थापनको बारेमा बिद्यालयमा कार्यक्रम हुनु ।
(लेखक देवबहादुर बिष्ट, टेम्केमैयुङ गाउँपालिका, भोजपुरका मनोसामाजिक परामर्शकर्ता हुन् ।)
View : 21
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved