Biratnagar, Morang, Nepal
१६ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

दसैँअघि सुरक्षा मजदुरलाई चाडपर्व खर्च दिन अखिल नेपाल सेक्युरिटी मजदुर संघको माग

उद्‌घोष संवाददाता
१५ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । अखिल नेपाल सेक्युरिटी मजदुर संघ कोशी प्रदेश समितिले निजी सुरक्षा कम्पनीमार्फत विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत सुरक्षा मजदुरलाई दसैँअघि नै चाडपर्व खर्च उपलब्ध गराउन माग गरेको छ ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघ कोशी प्रदेश समितिका अध्यक्ष टेक नारायण श्रेष्ठ र सचिव श्यामकुमार गौतमद्वारा जारी विज्ञप्तिमा सुरक्षा मजदुरले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित कम्पनीहरूलाई आग्रह गरिएको छ ।

संघले श्रम ऐन २०७४ तथा श्रम नियमावली र सामाजिक सुरक्षा ऐनअनुसार सुरक्षा मजदुरले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन सम्बन्धित सेक्युरिटी कम्पनीहरूलाई आग्रह गरेको हो ।

संघका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा आउटसोर्सिङ प्रक्रियामार्फत निजी सुरक्षा कम्पनीमा कार्यरत मजदुरहरू लामो समयदेखि न्यून पारिश्रमिकमा सेवा सुविधा नपाई काम गर्न बाध्य छन् ।

मजदुरले कानुनअनुसार पाउनुपर्ने सुविधा उपलब्ध गराउन पटक–पटक आवाज उठाउँदै आए पनि समस्या समाधान हुन नसकेको संघको भनाइ छ ।

संघले श्रम ऐन, २०७४ को दफा ३७ उल्लेख गर्दै प्रत्येक श्रमिकले एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था रहेको जनाएको छ ।

सोही व्यवस्थाअनुसार विज्ञप्तिमा प्रतिश्रमिक १२ हजार ९७० रुपैयाँका दरले दसैँअघि नै चाडपर्व खर्च वितरण गर्न माग गरिएको छ ।

त्यस्तै, केही सेक्युरिटी कम्पनीले करिब एक वर्ष सेवा गरेका सुरक्षा गार्डलाई चाडपर्व खर्च दिने समय नजिकिँदा ड्युटी पोस्ट परिवर्तन गर्ने तथा एक वर्ष सेवा अवधि पूरा नभएका वा हाल ड्युटीमा नरहेका सुरक्षा गार्डलाई चाडपर्व खर्च नदिने गरेको जानकारी प्राप्त भएको संघले जनाएको छ ।

यस्तो कार्यले मजदुरलाई कानुनअनुसार प्राप्त हुने सुविधाबाट वञ्चित गरेको भन्दै संघले आपत्ति जनाएको छ ।

संघले माग सम्बोधन नगरी कानुनअनुसारको चाडपर्व खर्च समयमै उपलब्ध नगराए दसैँ बिदाको अवधिमा सुरक्षा मजदुर काममा जान बाध्य नहुने चेतावनीसमेत दिएको छ ।

त्यस अवधिमा सुरक्षा मजदुर काममा नजाँदा हुन सक्ने हानि–नोक्सानी वा घटनाको जिम्मेवारी सम्बन्धित निजी सुरक्षा प्रदायक कम्पनीका व्यवस्थापकले लिनुपर्ने संघको भनाइ छ ।

View : 29

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved