काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मरिससको राजधानी लुइसमा भोलिदेखि आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षक यही चैत २७ र २८ गते हुने उक्त सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको हो ।
सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नेछन् ।
उनले हिन्द महासागर क्षेत्रको शासन, पहाड–महासागर पारिस्थितिक सम्बन्ध तथा आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वका विषयमा नेपालको दृष्टिकोण प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नवौँ हिन्द महासागर सम्मेलन हिन्द महासागर क्षेत्रसँग सम्बन्धित देशहरू, नीति–निर्माता, विज्ञ र कूटनीतिज्ञहरू सहभागी हुने एक महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन हो । यो सम्मेलनले हिन्द महासागर क्षेत्रका देशहरूबीच सहकार्य, सुरक्षा, व्यापार, वातावरण र कूटनीतिक सम्बन्धका विषयमा छलफल गर्न आयोजना गरिन्छ ।
हिन्द महासागर विश्व व्यापारको महत्वपूर्ण मार्ग हो । यो महासागर धेरै देशहरूको आर्थिक, सुरक्षा र ऊर्जा हित यससँग जोडिएको छ । यस्तो सम्मेलनले क्षेत्रीय स्थिरता र सहकार्य बढाउन मद्दत गर्ने गर्दछ ।
सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री खनालले विभिन्न देशका आफ्ना समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।
उनी चैत ३० गते स्वदेश फर्किने जनाइएको छ ।
View : 99
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved