Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

कोशीमा एर्लागन औषधि खरिद–बिक्री फुकुवा

उद्‌घोष संवाददाता
१ पुष २०८२, मङ्गलवार

विराटनगर । नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशले भारतीय औषधि उत्पादक कम्पनी ‘एर्लागन’ का औषधि खरिद तथा बिक्री वितरणमा लगाएको रोक फुकुवा गरेको छ ।

कम्पनीको नेपालका लागि आधिकारिक आयातकर्ता ‘प्रिया ट्रेडिङ प्रालि’ ले व्यवसायीहरूको माग सम्बोधन गर्दै लिखित प्रतिबद्धता जनाएपछि संघले उक्त निर्णय गरेको हो । 

संघका अनुसार सोमबार आयातकर्ता कम्पनीले संघको प्रचलित नियमावलीअनुसार म्याद गुज्रिएका औषधिको शतप्रतिशत सोधभर्ना दिने सहमतिपत्र पठाएपछि समस्या समाधान भएको हो । 

नेपाल औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष धनराज काफ्लेले व्यवसायीहरूको माग पूरा भएकाले अब एर्लागन कम्पनीका औषधि निर्धक्क खरिद गर्न प्रदेशभरका व्यवसायीहरूलाई आग्रह गरिएको जानकारी दिए ।

आँखासम्बन्धी जेल तथा ड्रपहरू उत्पादन गर्ने एर्लागन कम्पनीको आयातकर्ता प्रिया ट्रेडिङले म्याद गुज्रिएका औषधि फिर्ता लिने सन्दर्भमा संघको नियमावली विपरीत ९० दिनपछि औषधि फिर्ता नलिने अडान लिएपछि विवाद उत्पन्न भएको थियो ।

नेपाल औषधि व्यवसायी संघको ‘सोधभर्ना तथा क्षतिपूर्ति नियमावली–२०६५ (संशोधित २०८१)’ अनुसार म्याद गुज्रिएका औषधिहरू खुद्रँ बिक्रेताबाट १८ महिनासम्म र थोक बिक्रेताबाट २१ महिनासम्म फिर्ता लिई शतप्रतिशत सोधभर्ना दिनुपर्ने व्यवस्था छ । 

उक्त व्यवस्था पालना नगरेको भन्दै संघले आइतबारदेखि कोशी प्रदेशभर एर्लागन कम्पनीका औषधि खरिद नगर्ने निर्णय गरेको थियो ।

संघको चेतावनीपछि आयातकर्ता प्रिया ट्रेडिङ प्रालिका व्यवस्थापक श्याम महर्जनले संघलाई पत्र लेख्दै संघको नियमावलीअनुसार नै सोधभर्ना तथा क्षतिपूर्ति प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

पत्रमा संघको प्रचलित नियमावली पालना गरिने स्पष्ट उल्लेख गरिएको छ ।

आयातकर्ता कम्पनीले आफ्नो अडान सच्याउँदै व्यवसायीमैत्री व्यवस्था मान्न तयार भएपछि संघले खरिदमा लगाएको प्रतिबन्ध हटाएको अध्यक्ष काफ्लेले जानकारी दिए । 

सहमतिसँगै अब कोशी प्रदेशका अस्पताल, फार्मेसी तथा थोक बिक्रेताहरूले एर्लागन कम्पनीका औषधिहरू सहज रूपमा खरिद–बिक्री गर्न पाउने भएका छन् ।

View : 149

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved