विराटनगर । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला निकट नेताहरु धमाधम सानेपा फर्किन थालेका छन् ।
कोशी प्रदेशका उल्लेख्य संख्याका नेताहरु मूल कांग्रेसमा फर्केका हुन् । बिहीबार मात्रै संस्थापन इतर समूहका ५१ नेता पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सभापति गगन थापा नेतृत्वमा भएको बैठकमा सहभागी बनेका छन् ।
विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई हालैको केन्द्रीय कार्यसम्पादन समिति बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यकै हैसियतमा वर्तमान केन्द्रीय समितिमा समायोजन गर्ने निर्णय गरेको थियो ।
त्यसपछि थापाले उनीहरूलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए । त्यही निर्णयपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकमा देउवा र शेखर निकट नेताहरू सहभागी भएका हुन् ।
सानेपा फर्किने यो समूहमा कोशी प्रदेशबाट विगतमा देउवा पक्षमा रहेका तर पछिल्लो समय गगन थापा नेतृत्वको संस्थापनतर्फ खुलेका नेताहरूको संख्या पनि उल्लेख्य छ ।
मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, सरस्वती बजिमय, उमेशजंग रायमाझी, सीता गुरुङ, प्रदीपकुमार सुनुवार, माया राई, महेन्द्र लिम्बू, भीम पराजुलीलगायत देउवा निकट नेताहरु बैठकमा सहभागी भएका छन् ।
त्यसो त उनीहरुभन्दा केही समय अघि नै देउवा पक्षमै रहेका कोशीका नेताहरु लक्ष्मी परियार, आङ्गेलु शेर्पा र राजीव ढुंगाना पनि यसअघि नै देउवा समूह छाडेर गगन नेतृत्वको संरचनामा समाहित हुने बाटो रोजिसकेका छन् ।
वैशाखमा गगनले मनोनित गरेका १९ केन्द्रीय सदस्यमध्ये लक्ष्मी परियार, आङ्गेलु शेर्पा र राजीव ढुंगाना देउवा पक्षबाट आएका थिए ।
कोशीमा देउवाको पक्षमा अहिले कृष्णप्रसाद सिटौला र दीपक खड्का मात्रै रहेको दाबी गरिएको छ । यसअघि देउवा–सिटौला समीकरणमा रहेका धेरै नेता गगन नेतृत्वको संरचनातर्फ गइसकेका छन् ।
देउवा समूहमा मात्र होइन, कोशीमा डा. शेखर कोइराला नेतृत्वको संस्थापनइतर समूहमा पनि पछिल्ला महिनामा निरन्तर क्षयीकरण देखिएको छ ।
हालै मात्रै रुक्मणि कोइरालाले शेखरको साथ छाडेकी छन् । यसअघि सुजाता कोइराला, राजीव कोइरालालगायत नेताहरू पनि शेखर समूहबाट अलग भएका थिए ।
‘हामी केन्द्रीय कार्यालय आएका छौं । १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि सबै तहबाट पहल गरौं भन्ने हाम्रो अपिल छ,’ बिहीबार सञ्चारकर्मीसँग मीन विश्वकर्माले भने ।
त्यसो त यसअघि नै १४औँ महाधिवेशनमा कोशी प्रदेश सभापतिका उम्मेदवार बनेका डा. शेखरका निकट मानिने गुरुराज घिमिरे विशेष महाधिवेशनकै क्रममा अर्को धारमा लागेर महामन्त्री भइसकेका छन् ।
कोशी कांग्रेसको संस्थापनइतर समूहको अवस्था प्रदेशसभामा पनि कमजोर बनेको छ । २०७९ को निर्वाचनपछि कांग्रेस संसदीय दलको नेताको निर्वाचनमा नौ मत पाएका पूर्वमुख्यमन्त्री केदार कार्कीसँग अहिले त्यसमध्ये दुई जनाको मात्र समर्थन रहेको नेताहरूको दाबी छ ।
प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । तीमध्ये केदार कार्की, भूपेन्द्र राई, भूमिप्रसाद राजवंशी र रामकुमार खत्री मात्रै संस्थापनइतरतर्फ रहेको बताइएको छ । बाँकी सांसदहरू संस्थापनतर्फ खुलेका छन् ।
यसअघि २०७९ को संसदीय दलको निर्वाचनमा पनि कोशी कांग्रेसभित्र शेखर र सिटौला समूह छुट्टाछुट्टै देखिए पनि दुवै समूहको ठूलो हिस्सा संस्थापनविरुद्ध उभिएको थियो ।
त्यतिबेला उद्धव थापा सिटौला समूहका तर्फबाट र केदार कार्की शेखर समूहका तर्फबाट संसदीय दलको नेतृत्वका लागि प्रतिस्पर्धामा थिए । अहिले भने समीकरण उल्टिएको छ ।
पूर्वमुख्यमन्त्री कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालगायत सीमित नेता मात्र शेखरको पक्षमा उभिएका छन् । देउवा सत्ता र पार्टी दुवैमा प्रभावशाली हुँदा कोशीको राजनीति सम्हाल्दै आएका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समेत देउवालाई अप्ठ्यारो परेको समयमा साथ छाडेका छन् ।
View : 135
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved