विराटनगर । गुणस्तरहीन वस्तु तथा सेवाबाट पीडित उपभोक्तालाई शीघ्र न्याय दिलाउने उद्देश्यले विराटनगरमा उपभोक्ता अदालत स्थापना तथा सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ।
उपभोक्ता हित संरक्षण मञ्च–नेपाल, मोरङ शाखाको आयोजनामा भएको सो कार्यक्रममा सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने आवश्यकता र औचित्यबारे गहन छलफल गरिएको छ।
मञ्चका मोरङ अध्यक्ष विनोद सुवेदीले उपभोक्ता संरक्षण ऐन, २०७५ ले द्रुत न्यायको व्यवस्था गरे पनि उपभोक्ता अदालतको प्रभावकारी स्थापना र सञ्चालनका लागि अझै काम गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष ज्योति बानियाले सातै प्रदेशमा उपभोक्ता अदालत गठन गर्ने तयारी भइरहेको जानकारी दिँदै यसको औचित्यबारे स्पष्ट हुन आग्रह गरे।
सो अवसरमा वरिष्ठ अधिवक्ता भरतबहादुर थापा, कोशी प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता चुडामणि आचार्य, मोरङका प्रजिअ युवराज कट्टेल, अधिवक्ता देवीबहादुर घिमिरे, मोरङ जिल्ला बार एसोसिएसनका पूर्वअध्यक्ष विनयराज पाण्डे र उच्च बार विराटनगरका अध्यक्ष हरि बराल लगायतले उपभोक्ता अदालत गठन अपरिहार्य रहेकोमा जोड दिए।
स्थानीय सरकार सवलीकरण कार्यक्रम कोशीका संयोजक श्याम साकोटाले अदालतले व्यवसायी र उत्पादकलाई निरुत्साहित नगरी सद्भाव कायम गर्ने किसिमले काम गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा कानुनी प्रावधान, अदालत सञ्चालनका व्यावहारिक पक्ष तथा प्रदेशस्तरमा गर्नुपर्ने तयारीबारे सहभागी सरोकारवालाहरूले आ–आफ्ना धारणा राखेका थिए।
हाल काठमाडौंमा मात्र उपभोक्ता अदालत रहेको र यसलाई सातै प्रदेशमा विस्तार गर्ने प्रावधान रहेकाले कोशी प्रदेशका लागि विराटनगर उपयुक्त रहेको सुझाव सहभागीहरूले दिएका थिए।
View : 104
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved