Biratnagar, Morang, Nepal
१२ असार २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्न माग

उद्‌घोष संवाददाता
१० असार २०८३, बुधवार

Advertisement

विराटनगर । ट्रेड युनियनका प्रतिनिधिहरूले अनौपचारिक क्षेत्रका श्रमिकहरूको सवालमा स्थानीय सरकारलाई अझ जिम्मेवार बन्न आग्रह गरेका छन् ।

मोरङको ग्रामथान गाउँपालिकामा शान्तिका लागि साझा अभियान (कोक्याप) द्वारा मंगलबार आयोजित ‘अनौपचारिक श्रमिकको सामाजिक सुरक्षा अधिकार, अवसर तथा स्थानीय सरकारको भूमिका’ विषयक अन्तरक्रियामा मजदुर प्रतिनिधिहरूले सामाजिक सुरक्षा कोषमा आवद्धता आवश्यक रहेको बताए ।

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपमहासचिव ओपेन्द्र राय, नेपाल ट्रेड युनियन जिफन्टकी सुजाता भट्टराई र नेपाल ट्रेड युनियन महासंघ (स्वतन्त्र) का हरिनारायण तबदारले अनौपचारिक क्षेत्रका श्रमिकहरू अझै पनि सामाजिक सुरक्षा प्रणाली बाहिर रहेको बताए । उनीहरूलाई अब सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताए ।

अनौपचारिक क्षेत्रका श्रमिकहरूको अधिकार सुनिश्चित गर्न नीतिगत र कार्यक्रम समेत सञ्चालन गरी ग्रामथान गाउँपालिकाले ठोस पहल गर्नुपर्नेमा मजदुर प्रतिनिधिहरूले जोड दिए ।

गाउँपालिका अध्यक्ष नमोनारायण माझीले पालिकाले योगदानको आधारमा सामाजिक सुरक्षा योजना  सञ्चालन कार्यविधि जारी गरेकोले सोहीअनुसार श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सहयोग गर्ने बताए ।

उपाध्यक्ष गुणावतीदेवी धामीले आगामी आर्थिक वर्ष २०८३–०८४ को बजेटमा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई लक्षित कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिने आश्वासन दिए । 

प्रमुख प्रशासकीय अधिकृत मुरारीप्रसाद निरौलाले पालिकाको तर्फबाट अनौपचारिक क्षेत्रका मजदुरहरूलाई सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा सामाजिक सुरक्षा कोष विराटनगरका अधिकृत पशुपति खतिवडाले सामाजिक सुरक्षा कोषमा आबद्ध हुने प्रक्रिया, लाभ तथा कानुनी व्यवस्थाबारे जानकारी दिएका थिए । 

त्यस्तै, रोजगार सेवा केन्द्रका संयोजक विनोद भण्डारीले गाउँपालिकाले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०८२’ प्रावधानहरूबारे जानकारी गराए ।

अनौपचारिक श्रमिकहरूलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने, उनीहरूको अधिकारबारे सचेतना अभिवृद्धि गर्ने तथा स्थानीय सरकारको भूमिका सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कोक्यापका कोशी प्रदेश कार्यक्रम अधिकृत प्रकाश परियारले जानकारी दिए ।

View : 53

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved