Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

दिमाग खराब’ लाई उच्च शो, बम्पर ओपनिङको दबाब

उद्‌घोष सम्वाददाता
२२ कार्तिक २०८०, बुधवार

काठमाडौं : यसपालिको दशैं नेपाली फिल्मका लागि यादगार बन्दा अबको पर्खाई र चासो तिहारलाई लिएर छ । ‘लुट’ निर्देशक निश्चल बस्नेतको कमब्याक फिल्म ‘दिमाग खराब’ कात्तिक २४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

फिल्मलाई ६ दिन लामो तिहार विदा छ । जसले गर्दा फिल्मले बक्स अफिसमा राम्रो अंक जोड्ने प्रक्षेपण गरिएको छ । तर, यसका लागि फिल्मको ‘वर्ड अफ माउथ’ बुलन्द हुनुपर्नेछ ।

निश्चलको कमब्याक र बलियो स्टारकास्ट भएकाले फिल्मको ‘हाइप’ राम्रो छ । यसैलाई मध्यनजर गर्दै मंगलबार दिउँसोबाट देशका प्रमुख मल्टीप्लेक्स हलहरुले फिल्मलाई शोज उपलब्ध गराउँदै एड्भान्स बुकिङ खुलाएका छन् । फिल्मलाई उपलब्ध शोज संख्या हेर्दा हल व्यवसायीहरुले ठूलै अपेक्षा राखेको देखिन्छ । फिल्मले देशभरका मल्टीप्लेक्सहरुमा डेढ सय बढी शोज प्राप्त गरेको छ ।

देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई काठमाडौं उपत्यका र उपत्यकाबाहिर गरि ५८ शोज दिएको छ भने दोस्रो ठूलो मल्टीप्लेक्स चेन आईएनआईले १४ शोज, एफक्युबले ६ शोज, वान सिनेमाज्ले दुई हलमा गरि १० शोज, बिग मुभिज र क्यूज सिनेमाज्ले समान ५/५ शोज, रञ्जना सिनेप्लेक्सले ७ शोज, सिके सिनेमाज्ले ५ शोज, सीडीसी सिनेमाले ३ शोज प्रदान गरेका छन् ।

समग्रमा फिल्मले पाएको शोज संख्या उत्साहप्रद छ । अब फिल्मलाई बम्पर ओपनिङको दबाब छ । किनकि, यो फिल्म रिलिजको दुई दिनपछि बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ प्रदर्शनमा आउँदैछ । जसले मल्टीप्लेक्सहरुमा ‘दिमाग खराब’को ठूलो मात्रामा शोज खोस्न सक्नेछ । यसैले लगानी सुरक्षितका लागि फिल्मले दुई दिन बम्पर व्यापार गर्न जरुरी देखिन्छ ।

खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी राज्यलक्ष्मी सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्का लगायतको अभिनय रहेको फिल्ममा रौनक विक्रम कडेल निर्मातामा छन् भने सुरजबम ठकुरी कार्यकारी निर्माताको रुपमा छन् ।

View : 302

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved