Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

खैरो हेरोइनको विराटनगर–काठमाडौ ‘कनेक्सन’

उद्‌घोष संवाददाता
१० चैत २०८२, मङ्गलवार

सांकेतिक तस्वीर ।

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा अत्यन्त महंगो मानिने खैरो हेरोइन (ब्राउन सुगर) को अवैध कारोबारले नेपालमा हिमालसम्म सञ्जाल फैल्याउँदै छ । बढी उपभोक्ता भएकाले विराटनगरदेखि काठमाडौसम्म फैलिएको यसको सञ्जाल तोड्न नेपाल प्रहरीले सक्रिय रणनीति अपनाउन थालेको छ ।

हालैको घटनाले यस सञ्जालको गहिराइ र जटिलता उजागर गर्छ । विराटनगर–११ स्थित बसपार्क क्षेत्रबाट शुक्रबार अपरान्ह एक भारतीय युवक करिब ५ लाख रुपैयाँ बराबरको खैरो हेरोइनसहित पक्राउ परे । प्रारम्भिक अनुसन्धानले उनी ठूलो गिरोहका सदस्य रहेको देखाएको छ ।

मोरङ प्रहरीका नायव उपरीक्षक लिलाराज लामिछानेका अनुसार भारतको बिहार राज्य, अररिया जिल्ला फारबिसगञ्ज–२५ का २५ वर्षीय बिपुल बर्माको साथबाट करिब १ सय ग्राम खैरो हेरोइन बरामद गरिएको हो ।

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले विशेष योजना बनाएको थियो ।

यो पक्राउ सामान्य थिएन । यसको जरो काठमाडौसम्म पुग्छ । यसअघि काठमाडौ–१५ कारखाना चोकबाट तीन जना नेपाली युवालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुको साथबाट ३७ दशमलव.४०० ग्राम खैरो हेरोइन बरामद भएको थियो ।

सिन्धुपाल्चोक सुनकोशी–५ का ३१ वर्षीय विशाल श्रेष्ठ, चौतारा–७ का ३९ वर्षीय अर्जुन थापा र काभ्रेपलाञ्चोक तिमाल–८ का ३० वर्षीय सागर तामाङलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए । उनीहरू भारतबाट खैरो हेरोइन मगाएर काठमाडौमा ब्यापार गर्ने समूहसग सम्बन्धित ब्यक्ति हुन् ।

लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख कृष्ण कोइरालाले यिनै पक्राउ परेका व्यक्तिहरूलाई प्रयोग गर्दै अझ ठूलो सञ्जालसम्म पुग्ने योजना बनाए । अनुसन्धानकै क्रममा भारतीय आपूर्तिकर्तालाई नेपालमै बोलाएर पक्राउ गर्ने रणनीति तयार गरियो ।

प्रहरीको योजनाअनुसार नेपाली कारोबारीमार्फत भारतीय तस्करलाई विराटनगर बोलाइयो । ठूलो परिमाणमा खैरो हेरोइन खरिद गर्ने र ढुवानी खर्चसमेत दिने प्रस्ताव राखिएपछि भारतीय पक्ष सहमत भयो । योजनाअनुसार बसपार्क क्षेत्रमा सादा पोशाकमा सुरक्षाकर्मी तैनाथ गरिए ।

तर भारतीय कारोबारीले त्यसको सुइको समेत पाएनन् र अन्ततः प्रहरीको फन्दामा परे । यस घटनाले खैरो हेरोइन तस्करीको मार्गमा आएको परिवर्तन पनि देखाएको छ । 

पहिले भारतको पश्चिम बंगाल हुँदै नेपाल भित्रिने यो लागूऔषध अहिले बिहार हुँदै विराटनगर नाका प्रयोग गरी भित्रिन थालेको प्रहरीको भनाइ छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार का“कडभिट्टा भन्दा जोगवनी नाकामा पछिल्लो समय बढी खैरो हेरोइन बरामद हुन थालेको छ ।

खैरो हेरोइन्को मूल्य अन्तरले यसको कारोबारलाई झन् आकर्षक बनाएको छ । भारत सीमावर्ती क्षेत्रमा प्रतिकिलो करिब ३५ लाख रुपैया पर्ने खैरो हेरोइन काठमाडौ पुग्दा ८० लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।

कम परिमाणमै उच्च नाफा हुने भएकाले युवा कारोबारी तथा भरियाहरू यसतर्फ आकर्षित हुँदै गएको देखिन्छ । अहिले यो समस्या शहरमा मात्र सीमित नभएर हिमाली क्षेत्रमा पनि देखिने गरेको छ । केही अघि संखुवासभाको हिमाली क्षेत्रमा खैरो हेरोइनसहित कारोबारी पक्राउ परेका थिए । 

पूर्वी पहाडी तथा हिमाली जिल्लाहरूमा समेत खैरो हेरोइन बरामद हुन थालेकाले यसको सञ्जाल देशभर फैलिदै गएको संकेत गर्छ । सामान्य प्रयोगकर्तासमेत साथीको संगतबाट सुरु गरेर क्रमशः महंगा र कडा लागुऔषधतर्फ आकर्षित हुने अध्ययनहरुले देखाएका छन् ।

विराटनगर–काठमाडौ कनेक्सनमा गरिएको पछिल्लो अपरेशनले एउटा गिरोह तोड्न सफल भए पनि, लागूऔषध तस्करीको जालो अझै व्यापक रहेको स्पष्ट देखिन्छ । सीमा क्षेत्र, उच्च नाफा र संगठित नेटवर्कका कारण यो चुनौती अझ जटिल बन्दै गएको छ ।

View : 126

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved