Biratnagar, Morang, Nepal
२१ वैशाख २०८२, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

सागर थापासहित तीनजनाको कारवाही प्रदेश कमिटीद्वारा अनुमोदन

पार्टी सदस्यता फिर्ता हुने, पद फिर्ता नहुने
उद्‌घोष सम्वाददाता
१ भदौ २०८१, शनिवार

विराटनगर, १ भदौ । नेकपा एमाले कोशी प्रदेश कमिटीको शनिबार बसेको चौथो पूर्ण बैठकले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापासहित तीनजना माथिको कारवाही अनुमोदन गरेको छ । 

एमाले जिल्ला कमिटी मोरङले अध्यक्ष थापासहित उपसचिव नवराज नेपाल र वडा नं. ३ का वडा कमिटी अध्यक्ष लालमणि भट्टराईलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीको जिम्मेवारीबाट निस्कासन गरेको थियो । उक्त निर्णयलाई प्रदेश कमिटीको बैठकले अनुमोदन गरेको जनाइएको छ । 

एमाले प्रदेश कमिटी स्रोतका अनुसार जिल्ला कमिटीले कारवाही गरेको मितिबाट थापालाई २ महिना, नेपाललाई ४ महिना र भट्टराईलाई ६ महिनाका लागि साधारण सदस्यतासमेत नरहने गरी पदीय जिम्मेवारीबाट निस्कासन गरिएको निर्णय सदर गरेको हो । 

एमाले जिल्ला कमिटीका अध्यक्ष बाबुराम कार्कीले विराटनगर-३ स्थित मानगढ खानेपानी संस्थाको निर्वाचनमा जिल्ला कमिटीले भनेको उम्मेदवारको विरुद्धमा प्रचार प्रसारमा लागेको भन्दै २०८१ जेठ ३१ मा तिनै जनालाई कारवाही गर्ने निर्णय गरेकाे पत्र थमाएका थिए ।

जिल्लाले गरेको कारवाहीको मितिबाट दुई महिना पुरा भएकोले थापाको पार्टी सदस्यता  शनिबारदेखि नै फुकुवा भएको छ तर उनको पार्टीको पदीय जिम्मेवारी भने खोसिएको जनाइएको छ । 

‘सागर थापाको हकमा सुरुमा जिल्ला कमिटीले गरेको निर्णयलाई आजको बैठकले अनुमोदन गरेको छ’ प्रदेश कमिटी स्रोतले भन्यो, ‘जिल्लाको निर्णय अनुसार कारवाही भएकोले सागर जीको कारवाही आजैदेखि फुकुवा पनि भएको छ, सोही मितिबाट नवराज जीलाई ४ महिना र भट्टराईलाई ६ महिनाको कारवाही भएको छ, पार्टीको पद भने पुनर्बहाली भएको होइन ।’

चौथो पूर्ण बैठकले पार्टीलाई वैचारिक र सांगठानिक रुपमा एकतावद्ध बनाएर लैजाने निर्णय गरेको एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले बताए ।

उनले कसैलाई पनि पार्टीको नेतृत्व र निर्णयका विरुद्ध काम गर्न पाउने अधिकार नभएको भन्दै पार्टीभित्रको अन्तरविरोधलाई समाप्त पार्दै लैजाने निर्णय भएको जानकारी दिए ।

बैठकले १४ वटै जिल्लाको प्रतिवेदन स्वीकृत गरेको छ । त्यस्तै जनसंगठन चलायमान बनाउने पनि निर्णय भएको उनले बताए ।

View : 602

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved