उद्घोष दैनिक २२ औँ वार्षिकोत्सव
विराटनगर । प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज एसोसिएसन अफ नेपाल (अफिन) का अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले स्वास्थ्य शिक्षा र चिकित्सा सेवाको विकासका लागि निजी क्षेत्रलाई पनि राज्यले आफ्नो हिस्सेदारका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।
मेडिकल शिक्षा र स्वास्थ्य सेवा नेपालको विकासका लागि अपरिहार्य क्षेत्र भएको भन्दै निजी क्षेत्रलाई राज्यले सौतेलो व्यवहार गर्न नहुने बताएका हुन् ।
उद्घोष दैनिकको २२औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्कीले नेपालमा मेडिकल शिक्षाको ठूलो हिस्सा निजी क्षेत्रले धानिरहेको बताए ।
‘नेपालमा आजको दिनमा देशलाई अपरिहार्य नभई नहुने एउटा स्वास्थ्य हो र अर्को स्वास्थ्य शिक्षा हो । यी दुई कुरामा हामीले मेहनत गर्यौं भने राम्रो फड्को मार्न सक्छौँ,’ उनले भने ‘तर, सरकारद्वारा सञ्चालित मेडिकल कलेजलाई मात्र सरकारले आफ्नो ठान्छ, प्राइभेट मेडिकल कलेजलाई आफ्नो ठान्दैन ।
नेपालको मेडिकल शिक्षाका बारेमा सोच्नुहुन्छ भने ७० देखि ८० प्रतिशत मेडिकल एजुकेसन प्राइभेटको हातमा छ,’ कार्कीले भने, ‘स्वास्थ्य क्षेत्रमा पनि ७० प्रतिशत सेवा प्राइभेट इन्स्टिच्युसनहरूले दिइरहेका छन् । त्यसका बाबजुद पनि राज्यले जहिले पनि हामीलाई अलि सौतेलो व्यवहार गर्छ कि जस्तो मलाई लाग्छ ।’
नेपालले मेडिकल शिक्षामार्फत ठूलो संख्यामा विदेशी विद्यार्थी आकर्षित गर्न सक्ने सम्भावना रहेको उनले बताए ।
उनका अनुसार छिमेकी भारतमा ठूलो संख्यामा विद्यार्थीले मेडिकल प्रवेश परीक्षा दिने भए पनि सीमित विद्यार्थीले मात्र त्यहाँ अध्ययनको अवसर पाउँछन् ।
बाँकी लाखौँ विद्यार्थीको पहिलो गन्तव्य नेपाल हुन सक्छ । तर दुर्भाग्य, आजसम्म जम्मा ६६१ जना विदेशी विद्यार्थीले मात्र नेपालमा भर्ना पाउँछन्,’ उनले भने, ‘हामीले त्यो संख्यालाई ६ हजार बनाउन सक्थ्यौँ ।’
उनका अनुसार यसो गर्दा पैसा मात्र आउँदैन, स्रोत र साधन बढेपछि नेपाली विद्यार्थीका लागि छात्रवृत्ति बढाउन सकिन्छ । स्वास्थ्य सेवाको गुणस्तर पनि सुधार्न सकिने उनको भनाइ छ । उनले सरकारलाई भने ‘हामीसँग संवाद गरिदिनुहोस्, हाम्रा कुरा सुनिदिनुहोस् ।’
View : 63
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved