विराटनगर । मोरङको विराटचोकस्थित नेपालिरिका होटल केही वर्षयता पूर्वी नेपालको चर्चित आतिथ्य गन्तव्यका रूपमा उदाइरहेको थियो । विवाह, रिसेप्सन, सेमिनार, व्यावसायिक सम्मेलनदेखि पारिवारिक कार्यक्रमसम्मका लागि लोकप्रिय बनेको होटलका कोठा र हल महिनौंअघि नै बुकिङ हुन्थ्यो । होटलका कोठाहरू प्रायः सधैँ भरिभराउ रहन्थे ।
तर, गत २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनले त्यो सफल यात्रामा एकाएक कालो छायाँ ल्यायो । आन्दोलनकारीको निशानामा परेको होटलमा आगजनी र तोडफोड भयो । करोडौं मूल्यका संरचना, सजावट र सामग्री नष्ट भए । झण्डै ३० करोड रुपैयाँ बराबरको क्षति पुगेपछि धेरैले होटल अब उठ्न नसक्ने अनुमान गरेका थिए ।
त्यो बेला होटलमा दर्जनौं विवाह तथा कार्यक्रमका अग्रिम बुकिङ भइसकेका थिए । एकातर्फ ग्राहकको दबाब, अर्कोतर्फ ध्वस्त संरचना, स्थिति अत्यन्त जटिल थियो । तर, सञ्चालक भोलेश्वर दुलाल भने विचलित भएनन् ।
उनले भारतका विभिन्न स्थानबाट दक्ष कामदार झिकाए । रातदिन नभनीकन काममा खटाए । पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढाए । जसको परिणाम दुनियाँले आश्चर्य मान्नेगरी नेपालिरिका होटल तीन महिनामैै पुनः सञ्चालनमा आयो ।
‘हामीले पाहुनाको विश्वास जोगाउनैपर्छ भन्ने सोच्यौँ । त्यसैले धेरै कार्यक्रम रद्द हुन दिएनौँ’ दुलालले उद्घोषसँग भने । संकटका बेला पनि कसरी विचलित नभई उठ्नुपर्छ भनेर अहिले दुलाल एक उदाहरण पनि भएका छन् । दुलालले मंसिर महिनाबाट सुरु हुने लगनलाई लक्षित गरी होटललाई मंसिर ३ गतेदेखि नै पुनः सञ्चालनमा ल्याएका थिए ।
संकटबाट उठेर नेपालिरिकालाई उनी अहिले भने नयाँ उचाइको उडान दिन लागिपरेका छन् । होटललाई पाँचतारे स्तरमा स्तरोन्नति गर्ने योजना तीव्र बनाएका छन् । उनको सपना होटल व्यवसायमै सीमित छैन ।
नेपालिरिकाबाटै हेलिकप्टर सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको छ । होटलको माथिल्लो संरचनामा हेलिकप्टर अवतरण गर्न हेलिप्याड उनले तयारी अवस्थामा राखेका छन् । निकट भविष्यमा नै उनले होटलबाट हेलिकप्टर सेवा दिने तयारी थालेका छन् ।
दुलालका अनुसार पूर्वी नेपालमा आकस्मिक उद्धार, पर्यटकीय सेवा तथा व्यावसायिक यात्राका लागि हेलिकप्टर सेवा अत्यन्त आवश्यक पनि छ । विराटचोकबाट हेलिकप्टरमार्फत सगरमाथा आधार शिविरसम्म छोटो समयमा पुग्न सकिने सम्भावनाले पनि उनलाई उत्साहित बनाएको छ । उनी भन्छन्, ‘यहाँबाट काठमाडौंभन्दा आधा समयकै दुरीमा बेसक्याम्प पुग्न सकिन्छ भने किन हेलिसेवा नदिने ?’
मोरङको सुन्दरहरैंचाको विराटचोकमा रहेको नेपालिरिका होटल विराटनगर, इटहरीका होटलहरूलाईसमेत उछिनेर पूर्वी नेपालमा विवाह तथा सामाजिक कार्यक्रमका लागि प्रमुख गन्तव्य बन्दै गएको छ । विशेषगरी भारतीय सीमा क्षेत्रसँग जोडिएका बिहार, पश्चिम बंगाल, सिक्किम र दार्जिलिङबाट आउने पाहुनाहरूले होटललाई आकर्षक स्थलका रूपमा रोजिरहेका छन् ।
पूर्व-पश्चिम राजमार्ग र विराटनगर-विराटचोक सडक पहुँचका कारण पनि होटल पुग्न सहज छ । विराटनगरबाट करिब २५ मिनेटको दूरीमा नेपालिरिका होटल पुग्न सकिन्छ । होटलमा दुई मुख्य भवनमा १२६ वटा कोठा सञ्चालनमा छन् । यसबाहेक चार-चार कोठा भएका सुविधासम्पन्न पाँच वटा भिल्ला पनि छन् । जसका कारण नेपाल तथा अन्य देशका अति विशिष्ट पाहुनाको रोजाइ नेपालिरिका होटल बनिरहेको छ ।
नेपालिरिका होटलमा विवाह गर्नेले प्रायःजसो पूरै होटल बुक गर्छन् । त्यस्तै बजेटअनुसार कसैले आंशिक रूपमा वा हलमात्र प्रयोग गर्न सक्ने सुविधा पनि उपलब्ध छ । ‘हामी प्याकेजमा पनि डिल गर्छौ,’ दुलाल भन्छन् ।
हाल होटलमा साना–ठूला गरी तीन वटा हल सञ्चालनमा छन् । ३५०० जनासम्म अट्ने विशाल हल निर्माणको अन्तिम चरणमा रहेको दुलालले बताए । ध्वनि प्रदूषण कम गर्ने गरी डिजाइन गरिएको उक्त हलले ठूला विवाह तथा सांगीतिक कार्यक्रमलाई लक्षित गर्नेछ । पूर्वाञ्चल विश्वविद्यालयको मुख्य प्रशासनिक भवन नजिक भएकाले ठूलो कन्भेन्सन हलको आवश्यकता महसुस गरेरै योजना अघि बढाइएको दुलाल बताउँछन् ।
भोलेश्वर दुलाल पूर्वी नेपालका परिचित उद्यमी हुन् । उनी भोला नामले बढी परिचित छन् । उनै भोलाको संघर्षपूर्ण यात्रा पनि कम रोचक छैन । मोरङको उर्लाबारी गंगटेमा जन्मिएका दुलालले आमाको गर्भमै हुँदा बाबु गुमाएका थिए । बुबाको निधनपछि दुःखमा हुर्किएका दुलालले आर्थिक अभावका कारण निकै संघर्ष गर्नुपर्याे ।
२०४७ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा सहज थिएन । उनले झापाको दमकमा रहेको सञ्जीव मेसनरीमा काम गर्न थाले । त्यहीँबाट उनको जीवनले नयाँ मोड लियो ।
विभिन्न व्यक्तिसँग ७० हजार रुपैयाँ सापटी लिए । त्यही पुँजीबाट सुरु भएको उनको व्यावसायिक यात्रा अहिले विशाल व्यापारिक साम्राज्यमा बदलिएको छ । उनीसँग अहिले झण्डै २० वटा व्यावसायिक प्रतिष्ठान छन्, जहाँ करिब दुई हजार व्यक्ति कार्यरत छन् ।
व्यवसायसँगै उनी सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । नेपाल जेसीसमा उनले १७ वर्ष बिताए । सन् २०१३ मा उनी नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष नै भए । अहिले उनी उद्योग संगठन मोरङको वरिष्ठ उपाध्यक्ष छन् । उनी सो संगठनका वेटिङ अध्यक्ष हुन् ।
यसबाहेक दुलाल स्थानीय विकास, सार्वजनिक शौचालय निर्माण तथा अभियान एवम् खेलकुद, शैक्षिक गतिविधि, मठ-मन्दिर निर्माण, क्लब गठन जस्ता सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि त्यतिकै सक्रिय छन् । दुलालकै पहल र अग्रसरतामा आउँदो असार १५ गते ‘सुन्दरहरैंचा रन’को तयारी हुँदैछ । जहाँ १० हजारभन्दा बढी व्यक्ति एकै प्रकारको टिसर्टमा विराटचोकदेखि हरैंचासम्मको दौडमा सहभागी हुँदै छन् ।
दुलालले व्यवसायको आकारमात्र होइन सुन्दरहरैंचालाई नगरबाट महानगरसम्म बनाउने पनि सपना देखेका छन् । सुन्दरहरैंचामा भइरहेको तीब्र जनसंख्या वृद्धिदरले पनि उनले त्यो सम्भावना देखेका हुन् ।
दुलालले सुन्दरहरैंचामा सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनको अवधारणा अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका कारण नगरमा दुई वटा सुविधासम्पन्न शौचालय निर्माण भएको छ भने अब दुई वटा पनि सञ्चालनको अन्तिम तयारीमा छ ।
दुलाल देशको अर्थतन्त्र, उत्पादन र युवाशक्तिको विदेश पलायनबारे केही चिन्तित पनि देखिन्छन् । ‘सबै युवा विदेश जाने हो भने देश कसले बनाउँछ ?’ उनी प्रश्न गर्छन्, ‘भोलिको पुस्ताका लागि भए पनि देशमै बसेर केही गर्नुपर्छ ।’
उनका अनुसार देशमा उद्योग, उत्पादन र व्यवसाय गर्ने वातावरण अझै सहज छैन । बैंकमा पैसा थुप्रिए पनि उद्यमीहरू ऋण लिन डराइरहेका छन् ।
तर, निराशा बीच पनि उनी आशावादी छन् । जेनजी आन्दोलनले नेपालिरिका होटललाई ठूलो चोट दियो, तर त्यसले उनको आत्मविश्वास भने तोड्न सकेन । बरु उनले संकटलाई अवसरमा बदल्दै नेपालिरिकालाई अझ आधुनिक, व्यवस्थित र दीर्घकालीन योजनासहित अघि बढाएका छन् । र, उनी संकटमा पनि धैर्य नगुमाई नयाँ उचाइको उडान भर्दैछन् ।
View : 1408
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved