विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले विराटनगर १२ मा निर्माण गरिएको ‘एकीकृत सम्पन्न बस्ती’ मा नीतिगत ठगी भएको गम्भीर आरोप लगाएकी छन् ।
प्रतिनिधिसभामा बोल्ने क्रममा सांसद अधिकारीले यस्तो आरोप लगाएकी हुन् ।
उनले बस्तीमा बसोबास गरिरहेका परिवारले अपेक्षित सुविधा नपाएको, ऋणको भार बोक्नुपरेको तथा वर्षायाममा डुबानको जोखिमसमेत झेल्नुपरेको आरोप लगाएकी हुन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले विराटनगर–१२ मा रहेको उक्त बस्ती सुकुम्बासी तथा विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको भए पनि व्यवहारमा विभिन्न समस्या देखिएको दाबी गरेकी छन् ।
महानगरपालिका, ह्याबिट्याट नेपाल र जीवन विकास लघुवित्तको सहकार्यमा निर्माण गरिएको बस्तीमा बसोबास गर्ने परिवारहरू आर्थिक रूपमा कमजोर रहेकाले मासिक किस्ता तिर्न कठिनाइ भोगिरहेको उनको भनाइ छ ।
विपन्न परिवारलाई आवास उपलब्ध गराउने नाममा ऋणको दायित्व थपिएको उनको आरोप थियो ।
सांसद अधिकारीले बस्तीमा सडक, ढल, खानेपानी तथा विद्युतजस्ता आधारभूत पूर्वाधार पर्याप्त रूपमा नपुगेको दाबी गर्दै केशलिया नदी किनारको जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएका घरहरू सामान्य वर्षामै जलमग्न हुने अवस्था रहेको बताइन् ।
उनले करिब एक सय घरधुरी बसोबास गर्ने सो बस्तीमा पर्याप्त सुरक्षा व्यवस्था तथा तटबन्ध निर्माण नगरिएको विषयसमेत उठाएकी छन् ।
अधिकारीले राजनीतिक लाभका लागि आवश्यक पूर्वाधार तयार नगरी तीन वर्षअघि नै परिवारहरूलाई त्यहाँ स्थानान्तरण गरिएको आरोप लगाइन् ।
उनले योजनाको समग्र अवस्थाबारे तत्काल छानबिन गर्न र प्रभावित परिवारका समस्या समाधानका लागि पहल गर्न सरकारसँग माग गरिन् ।
‘विपन्न परिवारमाथि थपिएको ऋणको बोझ हटाइनुपर्छ र संविधानले प्रत्याभूत गरेको मर्यादित आवासको अधिकार व्यवहारमै सुनिश्चित गरिनुपर्छ,’ उनले भनिन् ।
यो बस्ती निर्माणका लागि नेपाली कांग्रेसका नेतासमेत रहेका कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीसहितका नेताहरुको अग्रसरता थियो । कार्कीले हरेक वर्ष बर्खामा उक्त ठाउँका डुबान पीडितको उद्धारका लागि सक्रियता देखाउने गरेका छन् ।
सोही क्षेत्रबाट दुई पटक प्रदेशसभामा निर्वाचित कार्कीसहितका नेताहरुतिर लक्षित गर्दै रास्वपा सांसद अधिकारीले नीतिगत ठगीको आरोप लगाएकी हुन् ।
सांसद अधिकारी एमालेका दिवङ्गत नेता भरतमोहन अधिकारीकी छोरी हुन् ।
View : 84
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved