Biratnagar, Morang, Nepal
३ असार २०८३, बुधवार
+977 21 450305, 515728, 578305
शिक्षा

उपकुलपति छनोट प्रक्रिया अन्तर्वार्ताको चरणमा प्रवेश

उद्‌घोष संवाददाता
३ असार २०८३, बुधवार

Advertisement

विराटनगर । देशका आठ विश्वविद्यालयका उपकुलपति चयनका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असार १३ देखि १५ गतेसम्म हुने भएको छ । 

उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले मंगलबार सार्वजनिक सूचनामार्फत उम्मेदवारहरूको मूल्याङ्कन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । 

तालिकाअनुसार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता असार १३ गते हुनेछ ।

त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि असार १४ गतेको समय निर्धारण गरिएको छ । 

पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका उम्मेदवारहरूको मूल्याङ्कन असार १५ गते हुने जनाइएको छ । 

समितिले उम्मेदवारहरूलाई तोकिएको समयभन्दा कम्तीमा एक घण्टा अगाडि आवश्यक सक्कल प्रमाणपत्र तथा कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । 

यसअघि गत वैशाख २५ गते नयाँ उपकुलपति नियुक्तिका लागि आवेदन आह्वान गरिएको थियो । प्राप्त आवेदनमध्ये अध्ययन तथा मुल्यांकनपछि छनोट सूचीमा परेका उम्मेदवारहरूबाट अब प्रस्तुतीकरण र अन्तर्वार्तामार्फत थप मुल्यांकन गरिने भएको हो । 

विशेषज्ञ समूहबाट प्राप्त मुल्यांकनका आधारमा सिफारिस समितिले उपकुलपतिका लागि नाम तय गरी कुलपतिसमक्ष सिफारिस गर्ने प्रक्रिया अघि बढाउनेछ । 

अध्यादेशमार्फत तत्कालीन उपकुलपतिहरू पदमुक्त भएपछि रिक्त पदमा नयाँ नियुक्तिको प्रक्रिया सुरु गरिएको हो ।

View : 69

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved