Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एसईईमा विराट बहिरा माविको शतप्रतिशत सफलता

विद्यालयकी प्रधानाध्यापक मीनु अधिकारीका अनुसार एसईई परीक्षामा सहभागी १५ जना बहिरा विद्यार्थीहरूमा ११ जनाले ए ग्रेड र ४ जनाले बी प्लस ग्रेड हासिल गरी शतप्रतिशत सफलता प्राप्त गरेका हुन् ।
उद्‌घोष संवाददाता
१८ असार २०८२, बुधवार

विराटनगर । विराटनगर–५ मा अवस्थित विराट बहिरा माध्यमिक विद्यालयले हालै प्रकाशित एसईई परीक्षाको नतिजामा सत प्रतिशत विद्यार्थी उत्तीर्ण भई उत्कृष्ट स्थान हाँसिल गरेको छ ।

विद्यालयकी प्रधानाध्यापक  मीनु अधिकारीका अनुसार एसईई परीक्षामा सहभागी १५ जना बहिरा विद्यार्थीहरूमा ११ जनाले ए ग्रेड र ४ जनाले बी प्लस ग्रेड हासिल गरी शतप्रतिशत सफलता प्राप्त गरेका हुन् । यो नतिजा विद्यालयको २० वर्ष लामो अथक प्रयास र बहिरा बालबालिकाको मौलिक हकको सम्मानको सुखद परिणाम भएको उनले बताइन् । 

विद्यालयले २५ विभिन्न जिल्लाका अधिकांश ग्रामीण भेगका २ सय ५१ जना मूलतः आधारभूत वर्गका बहिरा बालबालिकाहरूलाई माध्यमिक तह  कक्षा १२ सम्मको आवासीय सुविधासहितको पठनपाठन सञ्चालन गरिरहेको छ । यहाँ कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषयको विशेष पठनपाठनको व्यवस्था समेत गरिएको छ ।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, दातृ संस्था, व्यावसायिक घराना, विभिन्न संघसंस्था र व्यक्तिहरूको विशेष सहयोगबाट विद्यालय सञ्चालनका लागि आवश्यक न्यूनतम भौतिक तथा शैक्षिक पूर्वाधार जुटाउन सम्भव भएको प्रधानाध्यापक अधिकारीले बताइन् ।

विगत १६ ब्याचमा २५९ जना बहिरा विद्यार्थीहरूलाई एसएलसी रएसईई परीक्षा उत्तीर्ण गराउन सफल भएको सो विद्यालय बहिरा विद्यार्थीहरूका लागि उच्च शिक्षाको ढोका खोल्न प्रतिबद्ध रहेको छ ।

बहिरा अपाङ्गता भएका बालबालिकाहरूको गुणात्मक शिक्षाका लागि निरन्तर २० वर्षदेखि सेवा पुर्‍याउँदै आएको कोशी प्रदेशमै यस प्रकारको विशेष विद्यालयको अभाव पूर्ति गर्ने उद्देश्यका साथ सञ्चालित यस आवासीय विद्यालयले हालै २०८१ सालको एसईईमा प्राप्त गरेको उपलब्धिले बहिरा बालबालिकाहरूको शिक्षामा सकारात्मक सन्देश प्रवाह गरेको छ, जसले उनीहरूको भविष्य निर्माणमा थप ऊर्जा प्रदान गर्नेछ ।

View : 5249

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved