Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

पार्टी कार्यक्रममा अनुपस्थित शेखर गुट भेलामा व्यस्त

उद्‌घोष संवाददाता
१८ वैशाख २०८३, शुक्रवार

विराटनगर । औपचारिक अभिव्यक्ति दिँदा ‘एकताबद्ध पार्टी’ को कुरा गर्ने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटगत गतिविधिलाई भने आफै तीव्रता दिइरहेका छन् । 

सर्वोच्च अदालतले गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई कानुनी वैधता दिएपछि थापाको नेतृत्व स्वीकार्ने संकेत दिएका कोइराला अझै पनि पार्टी गतिविधिमा भन्दा गुट भेलामै व्यस्त भइरहेका छन् । 

बिहीबार मात्रै काठमाडौंको बालुवाटारस्थित ओपेरा होटलमा शेखर पक्षले बागमती प्रदेशस्तरीय छलफल आयोजना ग¥यो । 

‘छलफल’ भने पनि यसलाई कांग्रेस संस्थापनले गुट भेलाकै रुपमा बुझेको एक पदाधिकारीले बताए । 

‘पार्टीका नेताहरु आफ्नो समूहको भेला गर्न, छलफल गर्न स्वतन्त्र हुनुहुन्छ तर समानान्तर गतिविधि स्वीकार्य छैन’ ती नेताले भने ।

त्यसो त वैशाख ९ मा विराटनगरमा आयोजना भएको कांग्रेसको कोशी प्रदेशस्तरीय भेलामा पनि शेखर सहभागी भएनन् । आफ्नै गृहनगर विराटनगरमा कार्यक्रम हुँदा शेखर विराटनगरमै थिए । 

सभापति थापाले फोन गरेर सहभागिताका लागि आग्रह गरे पनि उनले आफ्नो समूहको ‘स्पेस’ प्रष्ट नभएसम्म नआउने भनेका थिए । 

पार्टीको आधिकारिक भेलामा सहभागी हुन इन्कार गरेका शेखरले आफ्नो गुट भेलालाई भने निरन्तरता दिइरहेका छन् । वागमती भेला यसैको निरन्तरता थियो ।

शेखरले आयोजना गरेको  कार्यक्रममा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्व केन्द्रीय पदाधिकारी, पूर्व केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्वसभापति, सांसद, पूर्वसांसद, प्रदेश सांसद र प्रदेश समितिका पदाधिकारीसहित एक सय जना हाराहारी सहभागी भएको शेखर पक्षको दाबी छ । 

छलफलमा उठेको मूल सन्देश महाधिवेशन केन्द्रित थियो । सहभागीहरूले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा फेरि अद्यावधिकको बहानामा प्रक्रिया लम्ब्याउन नहुने अडान राखे । 

उनीहरूको निष्कर्ष थियो—अब सदस्यता विवाद होइन, महाधिवेशनको स्पष्ट रोडम्याप चाहिन्छ । 

सहभागीहरूले विशेष महाधिवेशनपछि पार्टी एकता कमजोर बनेको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी सभापति थापाले लिनुपर्ने धारणा राखेका थिए ।

यसैगरी पूर्णबहादुर खड्का पक्षले पनि बिहीबार नै अलग भेला गरेर १५ बुँदे निष्कर्ष सार्वजनिक गर्यो । 

खड्का पक्षले ‘बृहत् एकताको महाधिवेशन’ को नारा अघि सार्दै विशेष महाधिवेशनबाट बनेको कार्यसमितिले निष्पक्ष महाधिवेशन गराउन नसक्ने निष्कर्ष निकालेको छ । 

खड्का पक्षको तर्क छ—एकपक्षीय विशेष महाधिवेशनबाट बनेको संरचनाले सिंगो कांग्रेसलाई समेट्न सक्दैन । 

खड्का पक्षले साझा संरचनामार्फत महाधिवेशनमा जानुपर्ने प्रस्ताव अघि सारेको छ ।

View : 198

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved