एआई निर्मित तस्वीर ।
विराटनगर । प्रदेशको राजधानी भएकाले विराटनगर महानगरपालिकाले मनोरञ्जनात्मक ब्यवसायका लागि राति १२ बजेसम्म सञ्चालनको अनुमति दिए पनि तिनै ब्यवसायबाट कर संकलन कठिनाई भएको छ ।
रात्रिकालिन ब्यवसाय सञ्चालन गर्न डान्स बार र गीत गजलहरूलाई महानगरले गत वर्षबाट राति १० बजेको समयलाई दुई घण्टा थप गरेको थियो ।
विराटनगरमा भएका ३५ वटा डान्स बार मध्ये १० वटाले मात्रै कर तिरेका छन् ।
राजनीतिक संरक्षणमा चलेका यस्ता डान्सबारबाट महानगरले कर संकलन गर्न सकेको छैन ।
गएको आर्थिक वर्ष २०८१, ०८२ मा १० वटाले कर बुझाएकोमा यो वर्ष चालु आर्थिक वर्ष सकिन लाग्दा एउटैले पनि कर तिरेका छैनन् ।
‘कर तिर्न दवाब दिने बित्तिकै राजनीतिक दवाब पनि आउँछ, भवननै नभएको ठाउँमा पनि वडाले डान्सबारको इजाजत दिएको देखिन्छ’ महानगरपालिकाका एक अधिकृतले भने ।
यस्ता डान्सबारहरूले वार्षिक रूपमा ब्यवसाय कर सात हजार रूपैयाँ र मनोरञ्जन कर २५ हजार रूपैयाँ तिर्नुपर्ने हुन्छ ।
स्रोतका अनुसार, यस्ता डान्सबारहरूले मासिक ३ देखि १० लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको अनुमान छ । यतिका आम्दानी गर्ने डान्सबारहरूले सरकारलाई बुझाउंनै पर्ने कर तिरेका छैनन् ।
कतिपय डान्सबारले मदिराले मातेका ग्राहकलाई अत्यधिक बिल बढाएर दिने, नतिरे शौचालयमा थुनेर भए पनि असुली गर्ने गरेको बताइएको छ ।
महानगर प्रहरीका निरीक्षक राजन पौडेल कर नतिर्ने डान्सबारहरूलाई जरिवानासहित राजस्व लिइने बताउँछन् ।
‘दर्ता भए नभएको हामी बुभ्mदैछौं, अनुगमन पनि कडाइका साथ गर्ने तयारी छ’ पौडेलले भने— ‘मापदण्ड पालना नगर्ने, ब्यवसाय दर्ता नगर्ने र कर नतिर्नेहरूको सूचना लिएर हामी कारवाहीमा जाँदैछौं ।’
महानगरको मापदण्ड बेगर र कतिपयले अनुमति नै नलिई यस्ता डान्सबार सञ्चालन गर्दै आएका छन् ।
विराटनगर नगर क्षेत्रमा रहेका ३५ वटा गीत गजल तथा डान्सबार मध्ये सबैले महानगरको निर्देशिका पालना गरेका छैनन् ।
महानगरले जारी गरेको मापदण्डमा वडा कार्यालयबाट सर्जमिन गरी छिमेकीको सहमति लिएर मात्रै दर्ता गर्न पाइने, राष्ट्रियस्तरका होटल तथा डान्सबार, गीतगजल अनुगमन समितिको सिफारिसपछि मात्र व्यवसाय दर्ता हुने जनाइएको छ ।
ध्वनि प्रदूषण नियन्त्रण गर्नुपर्ने, सडक आवतजावतमा अवरोध नहुने गरी पार्किङको व्यवस्था अनिवार्य गर्नुपर्ने भनिएको छ ।
सीसीटीभी क्यामेराको उचित व्यवस्थापन गर्नुपर्ने, सुरक्षागार्डको व्यवस्था अनिवार्य, कर्मचारी तथा कलाकारहरूको आवास छुट्टै व्यवस्थापन गर्नुपर्ने, सार्वजनिक संस्था, सरकारी कार्यालय, विद्यालय, विश्वविद्यालय तथा छात्रावासबाट कम्तीमा १०० मिटर टाढा हुनुपर्ने जनाइएको छ ।
तर, अधिकांश ब्यवसायीले यसलाई बेवास्ता गरेका छन् । धेरैजसो डान्सबारले महिला कलाकारको आवासको ब्यवस्था ब्यवसाय सञ्चालनमा रहेकै घरमा गरेको बताइएको छ ।
‘महिला कलाकार डान्सबार भएकै घरमा बास बस्ने हुँदा ग्राहक लुटिने समस्या पनि उत्तिकै छ’ एक पीडितले भने— ‘बाहिरबाट आएका पाहुना लिएर गएको बेला त्यसैगरी म पनि ३६ हजार रूपैयाँ लुटिएको छु ।’
View : 180
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved