Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

कोशीमा २६ सय एचआईभी संक्रमित एआरटी सेवा लिंदै

उद्‌घोष संवाददाता
२७ वैशाख २०८३, आइतवार

विराटनगर । कोशी प्रदेशमा २ हजार ६ सय २३ जना एचआईभी संक्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेको पाइएको छ । 

एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) सँगको समन्वयमा प्रदेशका ११ स्थानमा सञ्चालित केन्द्रमार्फत उनीहरूले स्वास्थ्य सेवा लिइरहेका हुन् । 

विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा एएचएफ नेपालका मेडिकल एडभाइजर डा. उन्नत श्रेष्ठले देशभर ३० हजारभन्दा बढी संक्रमित रहेको जानकारी दिंदै कोशी प्रदेशमा पनि संक्रमितको संख्या र उपचारमा पहुंच बढ्दो क्रममा रहेको बताए । 

उनका अनुसार विशेषगरी यौनकर्मी, समलिंगी, कैदीबन्दी र वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा संक्रमणको दर बढी देखिएको छ । 

डा. श्रेष्ठले सन् २०३० सम्ममा एचआईभी एड्सलाई जनस्वास्थ्यको समस्याका रूपमा अन्त्य गर्ने रणनीति लिईएको बताउ“दै यसका लागि सबै पक्षको सक्रिय साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे । 

स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले संक्रमणको फैलावट रोक्न समुदायस्तरमा सचेतना फैलाउनु नै मुख्य चुनौती रहेको औंल्याए । 

कोशी प्रदेशमा रहेका कुल संक्रमितमध्ये २५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरूको संख्या अत्यधिक रहेको उनले जानकारी दिए । 

उत्पादक उमेर समूह नै बढी प्रभावित हुनुले समाजमा थप चुनौती थपेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

 एआरटी केन्द्रहरूले संक्रमितको सहजताका लागि विभिन्न सेवाहरू निः शुल्क उपलब्ध गराउदै आएका छन् । 

केन्द्रहरूबाट एचआईभी परामर्श तथा परीक्षण, कन्डम वितरण, एआरटी औषधि, यौन रोगको परामर्श, भाइरल लोड परीक्षण, ईआईडी परीक्षण र पीएमटीसीटी आमाबाट बच्चामा सर्ने संक्रमण रोक्ने सेवा उपलब्ध हुने घिमिरेले बताए ।

View : 125

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved