विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले संगठनलाई थप प्रभावकारी, गतिशील र परिणाममुखी बनाउने उद्देश्यसहित १५ वटा विषयगत समिति गठन गरेको छ ।
महासंघको शुक्रबार बसेको कार्यसमिति बैठकले विभिन्न क्षेत्रका समितिको सभापति तोक्दै कार्यविभाजन गरेको हो ।
महासंघका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा बसेको बैठकले उद्योग, व्यापार, बैंकिङ, कर, पर्यटन, सूचना प्रविधि, महिला उद्यम, स्वास्थ्य, आयात–निर्यात, यातायातलगायतका क्षेत्रलाई समेट्ने गरी समिति गठन गरेको जनाइएको छ । महासंघले यसबाट निजी क्षेत्रका मुद्दामा विषयगत रूपमा काम गर्न सहज हुने बताएको छ ।
बैठकले उद्योग वाणिज्य परिषद्को सभापतिमा ऋषिराज तिम्सिना, वस्तुगत समन्वय समितिमा राजन श्रेष्ठ, रोजगारदाता परिषदमा रविन दाहाल, बैंक, वित्तीय, बिमा तथा पुँजीबजार समितिमा सुवाष आचार्य, कर तथा राजश्व समितिमा देवकीनन्दन अग्रवाल तथा पर्यटन तथा हवाई यातायात समितिमा भविषकुमार श्रेष्ठलाई सभापति चयन गरेको महासंघका अध्यक्ष राजेन्द्र राउतले बताए ।
त्यस्तै महिला उद्यम विकास समितिको सभापतिमा कृति श्रेष्ठ उपाध्याय, व्यापार मेला समितिमा कृष्णप्रसाद रिजाल, घरेलु तथा साना उद्योग समितिमा जयप्रकाश शर्मा, आयात–निर्यात समितिमा निर्मल भट्टराई, सामाजिक विकास समितिमा नबिन चौधरी, स्थल यातायात तथा पारवहन समितिमा मेघराज सिग्देल, सूचना तथा सञ्चार प्रविधि समितिमा विजय सन्तोषी राई, स्थानीय निकाय समन्वय समितिमा अंशु बन्जारा तथा स्वास्थ्य तथा सीप विकास समितिमा तरुण संचेतीलाई सभापतिको जिम्मेवारी दिइएको छ ।
कार्यसमिति बैठकले महासंघमा दुई जना आमन्त्रित सदस्य पनि थप गरेको छ । सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा र झापा उद्योग संघका उपाध्यक्ष विनय गोयललाई आमन्त्रित सदस्यका रूपमा मनोनयन गरिएको महासंघले जनाएको छ ।
यस्तै, महासंघले संस्थागत विकास, नीतिगत सुधार तथा विषयगत परामर्शलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रका अनुभवी व्यक्तित्व सम्मिलित सल्लाहकार समिति पनि गठन गरेको छ ।
समितिमा पूर्व केन्द्रीय सदस्य अविनाश बोहरा, महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, पूर्व केन्द्रीय सदस्य तारानाथ घिमिरे, महासंघ कोशी प्रदेशका पूर्व उपाध्यक्ष कुमारमणि पोखरेल, पूर्व राजदूत तापस अधिकारी, पूर्व भन्सार प्रशासक श्याम दाहाल, चार्टर्ड एकाउन्टेन्ट सुरज तिम्सिना तथा कानुनी सम्बन्ध सल्लाहकारमा अधिवक्ता विकास थापा चयन भएका छन् ।
महासंघका अनुसार सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव र दक्षतालाई संस्थागत नीति निर्माण, निजी क्षेत्रका साझा एजेन्डा तय गर्न तथा प्रदेशको आर्थिक विकाससँग सम्बन्धित विषयमा उपयोग गर्ने उद्देश्यले सल्लाहकार समिति गठन गरिएको हो ।
नवगठित विषयगत समितिहरूले उद्योग, व्यापार, लगानी, रोजगारी, पर्यटन, कर प्रणाली, वित्तीय क्षेत्र, महिला उद्यमशीलता, सूचना प्रविधि, स्थानीय तहसँगको समन्वय तथा सामाजिक उत्तरदायित्वलगायत क्षेत्रमा महासंघका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको अध्यक्ष राउतले जानकारी दिए ।
View : 61
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved