Biratnagar, Morang, Nepal
२७ वैशाख २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

इलाम–२ उपनिर्वाचनको तयारी पुरा

७४५ कर्मचारी र २५ सय सुरक्षाकर्मी परिचालन, मतपेटिका सदरमुकाम लैजान ६१ वटा सवारीसाधन तयार

उद्घोष सम्वाददाता
१४ वैशाख २०८१, शुक्रवार

विराटनगर । भोलि बैशाख १५ गते शनिबार हुने इलामको क्षेत्र नम्बर २ को उपनिर्वाचनको सबै तयारी पुरा भएको छ । 

४२ वडामा कायम भएका ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा कर्मचारी सुरक्षाकर्मीसहितका सबै कर्मचारी पुगिसकेको जनाइएको छ ।

उपनिर्वाचन निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले ७४५ कर्मचारी खटाइसकेको जनाएको छ ।

एम्बुलेन्स र दूधजन्य अत्यावश्यक सेवा तथा अनुमतिपत्र प्राप्त प्रेस र निर्वाचन अनुगमनकर्ताहरू बाहेक शनिबार इलाम–२ को निर्वाचन क्षेत्रमा सवारी साधन चल्ने छैनन् ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार सम्पूर्ण मतदान केन्द्रमा कर्मचारी पुगिसकेको जनाइएको छ । मतदान शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

इलाम–२ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङको २०८० भदौ २६ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

यो निर्वाचन क्षेत्रमा १ लाख १५ हजार ८७९ मतदाता कायम रहेका छन् । जसमध्ये ४२२ जना मतदान थपिएका हुन् । 

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि उपनिर्वाचनमा कर्मचारीसहित स्वयंसेवक तथा सुरक्षाकर्मीको खटाउने काम सकिएको जानकारी दिए ।

मतदान स्थलमा पुगेका कर्मचारीहरूले मतदान केन्द्र समेत निर्माण गरिसकेको बताए । 

४२ वटा वडाहरू रहेको इलाम–२ मा सबै ठाउँबाट शनिबार नै मतपेटिका सदरमुकाम पुर्‍याउने योजना रहेको जनाइएको छ । त्यसका लागि ६१ वटा सवारी साधन प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी यादवले बताए । 

निर्वाचन सुरक्षाका लागि २ हजार ५ सय बढि सुरक्षाकर्मी परिचालन हुनेछन् । अति संवेदनशिल क्षेत्रमा ४८० जना नेपाली सेना समेत परिचालन हुने जनाइएको छ । 

सुरक्षा निकायले ७९ मतदान केन्द्र मध्ये १९ वटालाई अतिसंवेदनशीलमा राखेको छ । अतिसंवेदनशील मतदान केन्द्रमा १२ जना प्रहरी खटिइने जनाइएको छ ।

बाँकी मध्ये २१ वटा संवेदनशील र ३९ सामान्य रहेको जनाइएको छ । आवश्यक पर्दा हवाई गस्तीको समेत प्रबन्ध मिलाएको प्रजिअ यादवले बताएका छन् ।

View : 40

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved