Biratnagar, Morang, Nepal
३२ असार २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

सशस्त्रका २ डीएसपीसहित ८ जना छानबिनमा

उद्‌घोष संवाददाता
३१ असार २०८३, बुधवार

Advertisement

विराटनगर । सशस्त्र प्रहरी बल नेपालले तस्करसँग सम्बन्ध राखेर आर्थिक लाभ लिएको आशंकामा कोशी प्रदेशका बिभिन्न ठाउँमा कार्यरत दुई जना डीएसपीसहित आठ जनालाई प्रधान कार्यालय तानेर छानबिन सुरु गरेको छ ।

छानबिनमा तानिनेमा यसअघि झापाको काँकडभिट्टामा कार्यरत भई हाल इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर (सुनसरी) का डीएसपी शमशेर कार्की र बोर्डर आउट पोस्ट (बीओपी) लौकही, सुनसरीका इन्स्पेक्टर नरेन्द्र चन्द छन् । 

स्रोतका अनुसार विगतमा कांकडभिट्टामा कार्यरत रहँदाको विषयमा अनुसन्धान गर्न डीएसपीद्वय उप्रेती र कार्की तानिएका हुन् ।

यसअघि पूर्व क्षेत्रीय अस्पताल सुनसरीका सई गणेश खड्का, नं. ३८ रिजर्भ गणमा कार्यरत सशस्त्र प्रहरी हवल्दार हरिबहादुर मगर, केशव गुरुङ, नं. २ गण झापाका हवल्दार विश्वास राजवंशी, र नं. ४ गण सुनसरीका जवान पारस यादवलाई पनि प्रधान कार्यालय बोलाएर छानबिन सुरु गरिएको थियो । उनीहरूकै बयानका आधारमा डीएसपी र इन्सपेक्टर तानिएका हुन् ।

छानबिनका क्रममा सई खड्का र अन्य सुरक्षाकर्मीले दिएको बयानमा केही डीएसपी र इन्स्पेक्टरहरूको नाम आएपछि उनीहरूलाई पनि अनुसन्धानका लागि प्रधान कार्यालय तानिएको स्रोतले जनाएको छ । 

बयानका क्रममा तस्करीबाट उठाइएको रकम मासिक रूपमा इन्स्पेक्टर र डीएसपीसम्म पु¥याउने गरिएको उनीहरुको दाबी छ । यसअघि प्रधान कार्यालयको छानविनमा परेका सबै सादा पोशाक(घुमुवा) प्रहरीका रुपमा काम गरेका ब्यक्ति हुन् । 

उनीहरूले झापा, मोरङ र सुनसरीका सीमावर्ती क्षेत्रका कारोबारीसँग मिलेमतो गरेर रकम संकलन गरी गुल्म र पोष्टका प्रमुखसम्मलाई रकम दिने गरेको बताइएको छ । असार महिनामा कोशी प्रदेशका बिभिन्न ठाउँमा कार्यरत ९ जना कार्यालय प्रमुख डीएसपी र इन्सपेक्टरहरूलाई कार्यशैलीमा शंका लागेर जिम्मेवारीबाट फिर्ता बोलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी नेत्रबहादुर कार्कीका अनुसार कार्यसम्पादन कमजोर देखिएका ९ जनालाई फिर्ता बोलाउनुका साथै अनुशासनविपरीत कार्य गरेको आरोपमा ६७ जना सशस्त्र प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरिएको छ । सशस्त्र प्रहरीको काम प्रभावकारी बनाउन ठुलो संख्यामा सशस्त्रका कर्मचारीलाई अन्तर जिल्ला सरुवा गरिएको उनले बताए ।

सीमामा राजस्व चुहावट, अवैध गतिविधि तथा चोरी–तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन र आर्थिक सुशासन कायम गर्ने उद्देश्यले लामो समय एउटै जिल्लामा कार्यरत एक हजार ८०३ जना सशस्त्र प्रहरी कर्मचारीको अन्तरजिल्ला सरुवा गरिएको पनि सशस्त्र प्रहरी बलले जनाएको छ । 

सरुवा गरिएका कर्मचारीलाई तराईबाट पहाड र पहाडबाट तराई मिलान गरिएको छ भने बाँकी कर्मचारीको सरुवा पनि यसै साताभित्र सम्पन्न गरिने तयारी रहेको कार्कीले जानकारी दिए ।

View : 159

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved