नयाँ वर्ष २०८३ मा कसले के भने ?
विराटनगर । विक्रम संवत् २०८३ सालको प्रारम्भ भएको छ । विक्रम संवत्लाई राष्ट्रिय गौरव र पहिचानको प्रतीक मान्दै नयाँ वर्षको उल्लाहका रुपमा मनाइएको छ ।
नयाँ वर्षले नेपालीलाई आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना जागृत गराउँदै व्यक्तिगत र राष्ट्रिय जीवनमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्ने बाटोका रुपमा लिइन्छ ।
वितेका वर्षको निराशा र तिक्ततालाई पछाडि छाडेर नवप्रवर्तन, विकास र समृद्धिको साझा लक्ष्यतर्फ लम्किनुपर्ने सवै नेपालीको जिम्मेवारी छ ।
नयाँ वर्षको अवसरमा नेपालका प्रमुख राजनीतिक दलका नेता तथा उच्च पदस्थ व्यक्तित्वहरूले देशको समृद्धि, सुशासन र राष्ट्रिय एकता बलियो बनाउनु पर्नेमा जोड दिएका छन् । उनीहरूले शुभकामना सन्देशहरूमार्फत दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्र निर्माणमा जुट्न आह्वान गरेका छन् ।
नयाँ वर्ष केवल भित्तेपात्रोको पाना फेरिने दिन मात्र नभई विगतका कमीकमजोरीको समीक्षा गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्ने महत्वपूर्ण अवसरका रुपमा लिनुपर्नेमा जोड दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्षलाई साझा राष्ट्रिय लक्ष्य निर्धारण गरी संकल्प गर्ने दिनका रूपमा व्याख्या गरेका छन् । उनले लक्ष्य प्राप्ति सहज नभएको स्मरण गर्दै यसका लागि निरन्तर साधना, अनुशासन र विधि–विधानको पूर्ण पालना अनिवार्य रहेकोतर्फ ध्यानाकर्षण गराएका हुन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षा, स्वास्थ्य, आर्थिक उन्नयन र वातावरण संरक्षणमा राष्ट्रिय एकताको खाँचो रहेको औंल्याएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ वर्षको अवसरमा सम्पूर्ण नागरिकको सुस्वास्थ्य र कल्याणको कामना गरे ।
उनले वैदिक मन्त्र ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्’ उद्धृत गर्दै सबैको जीवनमा सदैव शुभ होस् र दुःखको हरण होस् भन्ने कामना गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षले नयाँ ऊर्जा, आशा र उत्साह सञ्चार गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले विगतका कतिपय असमझदारी, निराशा र अवरोधहरूलाई चिर्दै व्यक्तिगत, सामाजिक तथा राष्ट्रिय जीवनलाई समुन्नत बनाउने दिशामा अघि बढ्न प्रेरणाको कामना गरेकी छन् ।
साथै, भण्डारीले नयाँ पुस्ताको सक्रिय सहभागिता, नवीन सोच र प्रविधिको प्रभावकारी प्रयोगमार्फत पार्टीलाई समयानुकूल रूपान्तरण गर्नु पनि अहिलेको आवश्यकता रहेको बताइन् ।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताइन् ।
उनले बितेका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिल्नुपर्ने भन्दै शुभकामना दिइन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतका अनुभव र युवा ऊर्जाबीचको समन्वयबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव हुने धारणा व्यक्त गरेका छन् ।
उनले २०८२ लाई सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि जे भएपनि अब इतिहास भइसकेको बताएका छन् ।
ओलीले इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’ बीचको एक सार्थक ‘सिनर्जी’ सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितका लागि सबै राजनीतिक दलहरूले सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले नेपाली जनताको लामो त्याग, संघर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण गर्नुपर्ने बताएका छन् ।
सभापति थापाले भविष्यमा देखापर्ने राष्ट्रिय चुनौतीको सामना एकताबद्ध रूपमा गर्ने दृढ संकल्प र अठोटका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नयाँ वर्षले सबै नेपालीबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई मुलुकको बेथिति र विकृति हटाउने ‘खील निकाल्ने वर्ष’ को संज्ञा दिएका छन् ।
उनले परिवर्तनका लागि कठोर कदम आवश्यक पर्ने र त्यस क्रममा केही पीडा सहनुपर्ने यथार्थलाई इंकित गरेका छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशलाई समाजवादी रूपान्तरणतर्फ अघि बढाउन देशभक्त, प्रगतिशील र वामपन्थी शक्तिहरूको व्यापक मोर्चा निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्ष भ्रष्टाचार निवारण, सुशासन प्रवद्र्धन, सेवा प्रवाहमा तदारुकता र समृद्धिका लागि आधार वर्षका रूपमा रहने विश्वास व्यक्त गरेका छन् ।
उनले नेपालको राजनीतिक इतिहासमा प्रजातन्त्र र जनअधिकारका लागि पटक–पटक क्रान्ति र आन्दोलन भएको स्मरण गराउँदै भ्रष्टाचार निवारण र सुशासनको विषय प्रतिबद्धता भएपनि व्यवहारमा सार्थक नभएकोतर्फ ध्यानाकर्षण गराएका छन् ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले केन्द्रीकृत मानसिकता त्याग्दै सहअस्तित्व र सहकार्यको आधारमा प्रदेश र देशको समृद्धि हासिल गर्नुपर्नेमा जोड दिएका छन् ।
नेता र नेतृत्वले जे सुकै भनेपछि नयाँ वर्ष २०८३ ले राजनीतिक दल र नेतृत्वलाई आगामी दिनमा आपसी बेमेल अन्त्य गरी सुशासन र नागरिकको अपेक्षा सम्बोधन गर्नमै गम्भीर भई केन्द्रीत हुन दबाब पुगेको नागरिक तहको बुझाई छ ।
View : 126
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved