Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

ट्याटुको टन्टामा युवा पुस्ता, बढाउँदै छ मानसिक समस्या

अर्काको देखासिकी गर्दै होस् वा आफ्नै रुचीमा ट्याटु खोपाउने युवापुस्ताको संख्या बढ्दो छ । ट्याटु मनपर्दा त आकर्षक लागुन्जेल त ठिकै हो तर कहिलेकाहीं आफूले भनेको जस्तो भएन, कुनै पेशामा लगाउन नमिल्ने अवस्था आएमा भने त्यही ट्याटु ठुलो समस्या बन्ने गरेको छ ।
जुनु भट्टराई
८ चैत २०८०, बिहिवार

विराटनगर । विराटनगर रानीकी पुष्पा क्षेत्री ११ कक्षामा पढ्दा आफ्नो एक ब्याच अग्रज साथीसँग गहिरो प्रेममा परेकी थिइन् । प्रेममा यतिसम्म पागल थिइन् कि उनले आफ्नो प्रेमीको नामको ट्याटुसमेत पाखुरामा खोप्न भ्याइन् । साथीहरूले उनलाई प्रेमीको नामको ट्याटु त्यसरी खोपी नहाल्न सल्लाह नदिएका पनि हैनन् उनी यतिसम्म एकोहोरिएकी थिइन् कि प्रेमीको लागि जे पनि गर्न तयार थिइन् । अन्धो प्रेममा परेर सायद कसैको नाममा त्यसरी ट्याटु नै खोप्नु मेरो मुर्खता थियो, पुष्पा भन्छिन्, ‘उसँग मैले गरेको गहिरो प्रेम लामो समयसम्म टिकेन तर प्रेमको नाममा खोपेको ट्याटु अहिले पीडा बनेर बसेको छ ।’

विराटनगरकी २६ बर्षीया प्रगति दाहालले २ वर्ष अघि साथीहरुको लहैलहैमा विराटनगरकै एक ट्याटु केन्द्रमा गएर नाडीमा ट्याटु  खोपिन् । आफ्नो प्रेमीको नामको पहिलो अक्षरमा खोपेको त्यही ट्याटु आज उनका लागि ठूलो तनावको बिषय बनेको छ । आफ्नो प्रेमीको पहिलो अक्षर र आफ्नो नामको अन्तिम अक्षरलाई राखेर मुटुको आकारभित्र राखेर ट्याटु खोपाएकी प्रगतिलाई आज कसरी मेटाउने भन्ने चिन्ताले सताउने गरेको उनी बताउँछिन् ।

उनलाई ट्याटु खोप्न उक्साउने साथीहरु अहिले उनको सम्पर्कमा छैनन् तर साथीहरुको उक्साहटमा खोपेको ट्याटुको अर्थ धेरैले सोधेर हैरानै बनाउने गरेको उनी बताउँछिन् ।  भाटभटेनी सुपरमार्केटमा भेटिएकी प्रगतिले आफ्नो नाडीको ट्याटु देखाउँदै भनिन्—‘जोसमा आएर ट्याटु खोपिहालियो, आज यही ट्याटुले मलाई निल्नु न ओकल्नु बनाएको छ ।’

त्यस्तै धरानका ३१ बर्षीय बिबेक लिम्बू १० बर्षअघिसम्म समय बलिउड अभिनेत्री प्रिती जिन्टाका ठूलो प्रशंसक थिए । आफूलाई प्रिती जिन्टाको ‘डाइहार्ट फ्यान’ भएको प्रमाणित गर्न पाखुरामा उनको अनुहारकै ट्याटु खोपिदिए । तर त्यही ट्याटुले उनको प्रहरी बनेर सेवा गर्ने सपना नै खोसिदियो । त्यो समय मेरो लागि निकै पीडादायी बन्यो, विराटनगरको एक निजी कम्पनिमा बजार प्रवन्धकको रुपमा कार्यरत लिम्बू भन्छन्, हतारमा निर्णय गरेर फुर्सदमा पछुताउनु भनेको त्यही रहेछ । 

प्रगति र पुष्पा, बिबेक मात्र होइन ट्याटु हिजोआज किशोर किशोरी तथा युवापुस्तामाझ निकै लोकप्रिय छ । कसैको प्रेममा पर्दा त्यसको प्रमाणीकरणका लागि होस् या कसैलाई त्यसप्रतिको मोह कति छ भनेर पुष्टि गराउन हिजोआज धेरै किशोर किशोरीहरू अन्धाधुन्ध ट्याटु खोपाउने गरेको पाइन्छ ।

अर्काको देखासिकी गर्दै होस् वा आफ्नै रुचीमा ट्याटु खोपाउने युवापुस्ताको संख्या बढ्दो छ । ट्याटु मनपर्दा त आकर्षक लागुन्जेल त ठिकै हो तर कहिलेकाहीं आफूले भनेको जस्तो भएन, कुनै पेशामा लगाउन नमिल्ने अवस्था आएमा भने त्यही ट्याटु ठुलो समस्या बन्ने गरेको छ ।

नेपालमा यो संस्कृतिको कहिलेदेखि सुरु भयो भन्ने यथार्थ तथ्य नभए पनि ट्याटु खोप्ने संस्कृतिलाई परम्परागत समयमा यसलाई मानिसको जीवनसँग जोडिएको पाइन्छ । नेवारी, गुरुङ, थारु तथा मगर समुदायले नेपालमा लामो समयअघिदेखि नै ट्याटुको प्रयोग गर्दै आएको पाइन्छ । तर अहिलेका युवाहरूले ट्याटुलाई फेसनको रुपमा लिएको ट्याटु व्यवसायीहरू बताउँछन् ।

विराटनगरको नील सदनस्थित सुजन ट्याटु स्टुडियोका सञ्चालक सुजन रिजाल आफूकहा आउने ६० प्रतिशत ग्राहक जोडी आउने गरेको बताउँछन् । त्यसमध्ये पनि ४० प्रतिशत जस्तो एक अर्काको नामको ट्याटु खोपेर जाने गरेको बताउँछन् । त्यसको केही दिनमा उनीहरुको सम्बन्धमा चिसोपना आएर नाम मेटाइदिनु पर्‍यो भन्दै आउने गरेको उनी  सुनाउँछन् । 

हाम्रोमा ट्याटु मेटाउने लेजर प्रविधि छैन, सुजन भन्छन्  त्यस्ता ग्राहकलाई ट्याटु मेटाइदिन नसके पनि उनीहरुको चाहनामा  त्यहि ट्याटुलाई छोपिने गरि अर्को ट्याटु भने बनाएर पठाइ दिन्छौ । त्यसरी ट्याटु छोप्दाको शुल्क भने दोब्बर लाग्ने उनी बताउँछन् ।

ट्याटु हेर्दा जति राम्रो देखिन्छ त्यसलाई खोप्दा  मेहनत धेरै लाग्ने भएकाले डिजाइन हेरेर त्यसको शुल्क निर्धारण हुने सुजन ट्याटु स्टुडियोका सञ्चालक रिजाल बताउँछन् । आफ्नो स्टुडियोमा ट्याटु खोप्दा लाग्ने शुल्क २५ सय रुपैयाँबाट सुरुवात हुने बताउँछन् । त्यसबाहेक डिजाइन हेरेर २५ हजारदेखि ५० हजार सम्मको डिजाइनका ट्याटु खोपिने गरेको उनले बताए । 

सुरुवातमा धर्म संस्कृतिलाई प्राथमिकता राखेर ट्याटु खोप्ने ग्राहकहरु बढी आउने गरेकोमा अहिले युवाहरू आफ्ना प्रेमी प्रेमिकाको पहिलो अक्षरमा आफ्नो नामको पहिलो अक्षर जोडेर ट्याटु खोप्नेहरूको संख्या दिनानुदिन बढ्दो रहेको उनको अनुभव रहेको छ ।

ट्याटु एक स्थायी कला हो । शरीरमा खोपिएका ट्याटु जसको नाममा खोपिएको हो, ऊसँगको प्रेम पनि स्थायी हुन्छ भनेर धेरैले आफ्नो प्रेमी, प्रेमिका या श्रीमान् श्रीमतीको नाममा ट्याटु खोप्ने चलन बढ्दै गएको छ । पछिल्लो समय अरुको देखासिकी गरी या भावनामा बहकिएर हतारमा ट्याटु खोप्दा फुर्सदमा धेरै किशोरकिशोरी या युवा पुस्ता पछुताउने गरेका छन् । 

स्वास्थ्यमा समस्या 

ट्याटु हान्ने मानिसको संख्या दिन प्रतिदिन बढिरहेको छ । युवापुस्ताले यसलाई फेसनको रुपमा हेरे पनि यो फेशनको विषयमात्र नभएर मानव स्वास्थ्यसँग पनि जोडिएको विषय भएकाले यसको विषयमा पनि ध्यान दिनु आवश्यक भएको विशेषज्ञहरू बताउँछन् । 

कोशी अस्पतालकी छालारोग बिशेषज्ञ डा बिबिसा बानियाँ ट्याटु छालामा खोपेर बनाइने भएकाले यसको प्रभाव प्रत्यक्ष रुपमा छालामा देखिने भएकाले खोप्नुअघि सरसफाइमा ध्यान पुर्‍याउनु आवश्यक भएको बताउँछिन् । ट्याटु खोप्दा सरसफाइमा ध्यान पुर्‍याउन सकिएन भने बिभिन्न प्रकारका सरुवा रोगहरु सर्न सक्ने सम्भावना हुने डा बानिया बताउँछिन् । उनका अनुसार निर्मलीकरण नगरि एउटाको ट्याटु खोपेको सुइले अर्काको छालामा प्रयोग गरेमा हेपाटाइटिस बी, हेपाटाइटीस सी, एचआईभीलगायत बिभिन्न प्रकारका रोगहरु सर्न सक्छन् । त्यसबाहेक नसर्ने रोगहरुमा ट्याटु बनाउँदा प्रयोग हुने रङ र रसायनले बिभिन्न प्रकारका एलर्जीको समस्या देखिन सक्छ ।

कसैकसैमा ट्याटु खोपेको केही मिनेटमै तत्काल छालामा प्रतिक्रिया देखिन्छ । ट्याटु खोप्नसाथ छाला रातो भएर आउने, फुलिने, सुन्निने तथा डाबरहरु देखापर्ने हुन्छ । अर्को ट्याटु खोपेको केही समयपछि ट्याटु खोपेको ठाउँ भन्दा बरपर अन्य ठाउमा एलर्जी हुने, गाँठागुठी बन्ने जस्ता समस्याहरु देखा पर्छ । 

त्यसवाहेक ट्याटु हानेको ठाउँमा कहिलेकाहीं ब्याक्टेरिया संक्रमण भएर फोका उठेर पछि त्यही ठाउँमा मुसा आउने, मासु पलाउने जस्ता समस्या पनि आउन सक्ने चिकित्सकहरु बताउँछन् । 

‘ट्याटुका कारण रगतजन्य रोगको जोखिम उच्च रहन्छ ।’ डा. बानिया भन्छिन् ‘प्रोफेशनल ट्याटु  खोप्ने ठाउमा हाइजिनलाई ध्यानमा राखेर खोपे त ठिकै हो तर जता पायो त्यतै जस्तै फुटपाथ, मेला जस्ता ठाउमा ट्याटु खोप्दा अरुले प्रयोग गरिसकेको सोही सुई निर्मलीकरण नगरि ट्याटु बनाउदा विभिन्न छालाका रोग र रगतमा भएका रोगहरु सर्न सक्छ ।’

बढ्दो मानसिक समस्या

ट्याटुकै कारण ठ्याक्कै मानसिक समस्या भनेर कतै उल्लेख नगरिएको भए पनि कस्तो अवस्थामा र कस्तो निर्णय लिने क्षमता भएको मानिसहरुले ट्याटु खोपेको हो त्यसमा उसको मानसिक स्वास्थ्य अवस्थामा निर्भर रहने मानसिक रोग बिशेषज्ञहरु बताउँछन्  ।

मानसिक रोग बिशेषज्ञ डा प्रभात चाालिसेका अनुसार जतिबेला ट्याटु खोप्ने उच्च महत्वकांक्षा हुन्छ त्यतिबेला उसको शरीरमा इन्लोलर्फिन भन्ने रसायन प्रशस्त मात्रामा हुन्छ । जब ट्याटु हानिसक्छ बिस्तारै बिस्तारै उसको शरीरमा तीब्र मात्रामा उत्पादन भएको रसायन बिस्तारै घट्दै जान्छ । उक्त रसायन घट्दै गएपछि मानिसमा पहिलेको जस्तो जोस रहदैन । 

‘नेपाली समाजमा अझैपनि ट्याटु खोप्ने मानिसहरुलाई त्यति सकारात्मक दृष्टिकोणले नहेरिने भएकाले पनि कसैले ट्याटु खोपिसकेपछि समाजवाट पाएको नकरात्मक टिप्पणीले उसलाई आफ्नो निर्णयप्रति हिनताबोधले बिस्तारै निरस बनाउन सक्छ’, डा चालिसे भन्छन्,–‘ त्यही निरसपन नै मानसिक समस्याको सुरुवात बन्न सक्छ ।’ 

डा चालिसेका अनुसार यस्ता मानिसहरुमा देखिने मुख्य समस्या भनेको ‘एन्जाइटी’ तथा ‘डिप्रेशन’ हो । जसलाई हामी ‘एडजस्टमेन्ट डिसअर्डर’ भनिन्छ । ट्याटु खोपेको बिषयलाई लिएर तनाव लिदै गर्दा  देखिने समस्या नै एडजस्टमेन्ट डिसअर्डर हो । यदि कसैलाई यस्तो समस्या देखिएमा हेलचेक्य्रार्इं गर्न नहुने उनी बताउँछन् । 

View : 476

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved