गाँजाको निर्वाध ओसारपसार
एआईद्वारा सिर्जित तस्वीर ।
विराटनगर । तरकारी बोकेको ट्रक पूर्व-पश्चिम राजमार्ग हुँदै सुनसरीको इनरूवा आइपुग्छ । बाहिरबाट हेर्दा ट्रकमा काउली र अन्य तरकारी छन् । तर, असोज १९ गते इनरूवा नगरपालिका–३, सखुवागाछी चोकमा जाँच गर्दा त्यही ट्रकबाट २ हजार ५६६ किलो ५६० ग्राम गाँजा फेला पर्यो । तरकारीसँगै लुकाएर ल्याइएको गाँजा ८३ वटा प्लास्टिकका बोरामा भरेर राखिएको थियो । प्रहरीले ट्रकका चालक राजु राई र सहचालक सन्दीप राईलाई पनि नियन्त्रणमा लिएको थियो ।
कोशी तराईमा यसरी गाँजा बरामद भएको न यो पहिलो घटना हो, न अन्तिम हुने कुनै छेकछन्दै छ । तरकारी बोक्ने ट्रक त सामान्य नै भइसक्यो, यसअघि कोशीकै विभिन्न जिल्लाबाट बिरामी बोक्ने एम्बुलेन्स, विद्यार्थी बोक्ने स्कुल बसदेखि दूध र इन्धन बोक्ने ट्यांकरबाट समेत पटक-पटक ठूलो परिमाणमा गाँजा बरामद भइसकेको छ । कोशी पहाडी जिल्लाबाट तराईका विभिन्न जिल्लाका सीमा क्षेत्रका लागि निस्कने गाँजा बोकेका साधनहरू लामो् बाटो पार गर्दै सीमाक्षेत्र नजिक आइपुग्ने हुन् ।
झापा, मोरङ, सुनसरीसहितका जिल्लाका भारतीय सीमासम्म आइपुग्दा ती ठाउँमा हुने नेपाल प्रहरी र सशस्त्र प्रहरीको जाँचले किन त्यसलाई मास्तिरै रोक्न सक्दैन ? अर्थात यति लामो बाटो पार गरेर बोर्डरमै आइपुगेपछि मात्रै गाँजा फेला पर्ने कारण के हुनसक्छ ? यो प्रश्नको जवाफ खोज्न यही असोज १९ देखि असोज २४ गतेसम्म कोशी प्रदेशका विभिन्न ठाउँमा सार्वजनिक भएका गाँजा बरामदीका घटनाक्रम हेर्न सकिन्छ ।
सुनसरीको राजमार्ग, मोरङको धानबारी, उदयपुरको सडक क्षेत्रका घटनाले गाँजा ओसारपसार एउटै ढाँचामा मात्र भइरहेको छैन भन्ने देखाउँछन् । कतै ठूलो ट्रकमा तरकारीसँगै गाँजा भेटिएको छ भने कतै खेतमा लुकाइएको अवस्थामा बरामद भएको छ । यसैगरी कतै दुर्घटनामा परेको गाडीबाटसमेत गाँजा फेला परेको छ ।
असोज २४ गते शनिबार मोरङको जहदा गाउँपालिका–४ स्थित रामचोकमा सशस्त्र प्रहरी बलको टोलीले शंका लागेर जाँच गर्न खोजेको महेन्द्रा पिकअप भ्यानबाट पनि गाँजा बरामद भयो । को १ च ७४२२ नम्बरको उक्त गाडीका चालक गाडी छाडेर फरार भए । त्यसपछि गरिएको जाँचमा तरकारीका बीचमा लुकाइएका १९ पोका गाँजा भेटिए । सशस्त्र प्रहरीका अनुसार त्यसको अनुमानित तौल ५७० किलो थियो ।
त्यस्तै सुनसरीमा ट्रक, मोरङमा पिकअप भ्यानबाट गाँजा फेला परेका थिए । दुवै घटनामा तरकारी गाँजा लुकाउने माध्यम बनेको देखिन्छ । तर, यी दुई घटनाले मात्रै सबै गाँजा यसरी नै ओसारपसार हुन्छ भन्ने प्रमाणित गर्दैनन् । बरू, एकै सातामा फरक स्थान र परिस्थितिमा भेटिएका गाँजाका परिमाणले यसको ओसारपसारको मार्ग, ढुवानीमा संलग्न सञ्जाल र निगरानीको प्रभावकारिताबारे थप अनुसन्धान आवश्यक देखाउँछन् ।
कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार यहाँ बरामद हुने गाँजा नेपालकै पहाडी जिल्लाबाट तराई हुँदै भारततर्फ लैजान खोजिएको हुन्छ । ‘यो नेपालकै पहाडबाट आउने हो । भारतबाट यतातर्फ आउँदैन, यतैबाट भारततर्फ जाने हो,’ थापाले भने ।
उनका अनुसार पूर्वी पहाडका दुर्गम क्षेत्रबाट गाँजा तराईका जिल्लासम्म आइपुग्ने गरेको छ । सुनसरीको उत्तरी भेग, धनकुटा, भोजपुर र सोलुखुम्बुजस्ता जिल्लालाई उनले गाँजा आउने क्षेत्रका रूपमा औँल्याए । पहाडबाट तराई र त्यसपछि सीमाक्षेत्रसम्म आइपुग्ने गाँजाको बाटो छोटो छैन । भूगोलअनुसार विभिन्न सडक, चेक पोष्ट र बस्ती पार गर्नुपर्ने हुन्छ । तरकारी, खाद्यान्न वा अन्य सामानमा लुकाएर ल्याउने गरिएको प्रहरी अधिकारीको भनाइ छ ।
बीचमा त्यति लामो बाटो पार गरेर आउँदा पहाडी जिल्लाहरूमै प्रहरीले गाँजा किन नभेटेको होला ? उद्घोषको प्रश्नमा एसएसपी थापाले पहाडी जिल्लाहरूमा पनि बारम्बार गाँजा बरामद भएको बताउँछन् । ‘यो कारोबार गर्ने मान्छेहरूले निकै चलाखीपूर्वक ल्याउँछन् । तरकारी, खाद्यान्न वा अन्य सामानहरूमा मिसाएर, लुकाएर ल्याउने गर्छन् । चेकिङ नभएको वा ग्याप भएको मौका पारेर छिराउने गर्छन्,’ थापाले भने, ‘तैपनि हामीले लगातार पक्राउ गरिनै रहेका छौँ ।’
प्रहरीका अनुसार ढुवानीका साधनमा अन्य सामानसँग गाँजा मिसाएर ल्याउने गरिन्छ । तर, कुन जिल्लाबाट निस्किएको गाँजा कुन बाटो हुँदै कुन स्थानमा पु¥याइन्छ, बीचमा कुन–कुन नाकामा जाँच हुन्छ र कुन बिन्दुमा निगरानी कमजोर हुन्छ भन्ने विषयमा भने प्रहरीको ठ्याक्कै उत्तर छैन । बाटो बदलेर कारोबारीले ओासपसार गर्ने प्रहरीको भनाइ छ ।
यसबाहेक सशस्त्र प्रहरीले सीमामा धेरै पटक गाँजा बरामद गर्छ ।
सशस्त्रका अधिकारीहरू प्रहरीले देखेको नदेख्यै गरेका गाडीबाट आफूहरूले धेरैपटक गाँजा बरामद गरेको बताउँछन् । ‘त्यति लामो बाटो पार गरेर आउँदा कति ठाउँमा नेपाल प्रहरीको चेकिङ होला ?,’ सुनसरीस्थित सशस्त्र प्रहरीका एक अधिकारीले भने ‘त्यही गाडी यहाँ आइपुग्दा हामीले देख्ने, उनीहरूले नदेख्ने कारण के होला ? त्यो कुरा पत्रकार र राज्यले खोज्नुपर्यो ।’
कोशीमा असोज १९ देखि २४ गतेसम्म सार्वजनिक भएका विवरणअनुसार सुनसरी, मोरङ, उदयपुर र भेडेटारको घटनामा गरी कम्तीमा ३ हजार १२२ किलो ५६० ग्राम गाँजा बरामद भएको छ । त्यसमा मोरङको जहदा–४ मा असोज २४ गते बरामद भएको थप ५७० किलोसमेत जोड्दा उपलब्ध विवरणमा गाँजाको कुल परिमाण ३ हजार ६९२ किलो ५६० ग्राम पुग्छ ।
सुनसरीको घटनामा इनरूवा ट्राफिक प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको नेपाल प्रहरीको संयुक्त टोलीले ट्रक जाँच गरेको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रकमा ८३ वटा प्लास्टिकका बोरामा गाँजा भेटिएको थियो । त्यसको भोलिपल्ट असोज २० गते मोरङको जहदा गाउँपालिका–१, नयाँबस्तीस्थित धानबारीमा २१० किलो गाँजा बरामद भएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी र बीओपी जहदाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा कालो प्लास्टिकमा पोका पारेर लुकाइएको गाँजा भेटेको थियो । त्यसलाई अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको विवरण छ ।
असोज २१ गते धुँगेबाट भेडेटारतर्फ जाँदै गरेको स्कोर्पियो दुर्घटनामा परेपछि त्यसबाट ३४१ किलो गाँजा बरामद भयो । स्थानीय नेपाल प्रहरीले गरेको कारबाहीमा एक जना नियन्त्रणमा परेको विवरण छ । यद्यपि गाँजा बरामद हुनु र त्यसको कारोबारको सञ्जाल पत्ता लाग्नु फरक कुरा भएको लागुऔषध नियन्त्रणका क्षेत्रमा काम गर्नेहरूको भनाइ रहँदै आएको छ । ‘गाडीबाट गाँजा भेटिएपछि चालक वा सहचालक पक्राउ पर्न सक्छन् । खेतमा लुकाइएको गाँजा फेला पर्न सक्छ ।
दुर्घटनामा परेको गाडीबाट पनि ठूलो परिमाणमा गाँजा भेटिन सक्छ,’ लागुऔषधविरोधी अभियन्ता गोविन्द न्यौपानेले भने ‘यस्ता घटनामा गाँजा कसले उत्पादन गर्यो, कसले संकलन गर्यो, ढुवानीको व्यवस्था कसले मिलायो र अन्तिम खरिदकर्ता को हो भन्ने प्रश्नको जवाफ अनुसन्धानले दिनुपर्छ । अनि मात्रै यसको गहिराईमा पुग्न सकिन्छ । अन्यथा उत्पादन जारी रहन्छ, कारोबार चलिरहन्छ, अनि यसैगरी नियन्त्रणमा लिइरहने क्रम पनि चलिरहनेछ ।’
View : 55
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved