विराटनगर । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ र ७ मा निर्माण हुने १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन पूरा भएको छ ।
तमोर नदीमा निर्माण हुने उक्त जलविद्युत आयोजना निर्माणका लागि प्रवद्र्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र बैंकहरूबीच वित्तीय व्यवस्थापनको सम्झौतामा हस्ताक्षर भएको हो ।
विद्युत कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य र बैंकहरूको नेतृत्व गरेको ग्लोबल आइएमई बैंक लिमिटेडबिच लगानीसम्बन्धि हस्ताक्षर सम्पन्न भएको छ ।
२५ अर्ब ४० करोड रूपैयाँको लागतमा निर्माण हुने सुपर तमोरका लागि ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी (सेयर) मार्फत लगानी जुटाउन लागिएको जनाइएको छ । ऋण लगानी मध्ये ग्लोबल आइएमई बैंकसहित ६ वटा बैंकले १९ अर्ब रूपैयाँ लगानी गर्नेछन् ।
यो आयोजना निर्माणका लागि ग्लोबल आइएमईले मात्रै ५ अर्ब, सिद्धार्थ बैंकले ४ अर्ब, लक्ष्मी सनराईज बैंकले ४ अर्ब, प्रभु बैंकले ३ अर्ब ५० करोड, कृषि विकास बैंकले १ अर्ब ५० करोड र नेपाल एसबीआई बैंकले १ अर्ब रूपैयाँ लगानी गर्नेछन् ।
आयोजनाका लागि ६ अर्ब ४० करोड रूपैयाँ स्वपूँजी लगानी रहनेछ । उक्त रकम संस्थापक लगानीकर्ता तथा अन्य लगानीकर्ताबाट जुटाइने कम्पनीले उल्लेख गरेको छ ।
यो आयोजना २५.५ घनमिटर प्रतिसेकेण्ड पानी उपयोग गर्ने गरी डिजाइन गरिएको छ । हेड ७६२ मिटर रहेको छ ।
वार्षिक ९८३ दशमलव १३ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने यो आयोजनाले क्षमताको ३०.८५ प्रतिशत सुख्खायाममा र ६९.१५ प्रतिशत वर्षायाममा उत्पादन गर्ने जनाइएको छ ।
आयोजनाले व्यवसायिक उत्पादन थालेको पहिलो वर्षमै करिब ५ अर्ब ८१ करोड रूपैयाँ आम्दानी गर्ने लक्ष्य छ । यो आयोजना रन अफ रिभर (आरओआर) मा आधारित रहेको छ ।
भौतिक संरचना अन्तरगत तमोर नदीमा ११ मिटर अग्लो र ५० मिटर लामो बाँध निर्माण गरी ६ किलोमिटर लामो ४ दशमलव ४४ मिटर व्यास भएको सुरूङमार्फत गोवाटारमा निर्माण गरिने विद्युत गृहमा पानी पठाइने छ ।
उत्पादित विद्युतलाई ८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निर्माणाधीन मार्गेन सबस्टेसनमा जोडेर राष्ट्रिय प्रणालीमा पठाइने जनाइएको छ ।
आयोजनाको हेडवक्र्स, पावरहाउस तथा सर्ज टैंक क्षेत्रमा अहिले पहुँच सडक पु¥याइसकिएको छ ।
आयोजना स्थलमा कार्यालय, कामदार तथा कर्मचारीको बसोबासका लागि शिविर, गोदाम, वर्कसप, सैनिक शिविर तथा बंकर निर्माणको कार्य भइरहेको आयोजनाले जनाएको छ ।
View : 91
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved