Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रधानमन्त्री शाह संसद् अधिवेशनको पहिलो बैठकमै अनुपस्थित

उद्‌घोष संवाददाता
२८ वैशाख २०८३, सोमवार

विराटनगर । आजदेखि संघीय संसद्को दुवै सदनको अधिवेशन सुरु भएको छ । तर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने तयारीका बीच सुरु भएको बैठक अन्तरगत प्रतिनिधि सभामा दुई तिहाई नजिकको बहुमत प्राप्त वर्तमान सरकारका प्रधानमन्त्री बालेन्द्र शाह भने उपस्थित भएनन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा गठित यो सरकारले पहिलो पटक पूर्ण बहुमत नजिकको शक्ति तयार पार्दा पनि प्रधानमन्त्रीको अनुपस्थितिले संसद् भित्र चर्चा र आलोचनाको विषय बनेको छ ।

प्रधानमन्त्री शाहको अनुपस्थितिबारे औपचारिक कारण कतै खुलाएको छैन । स्रोतका अनुसार उनी बजेट तयारी र आन्तरिक छलफलमा व्यस्त रहेको भन्ने जवाफ दिइएको छ ।

तर विपक्षी दलहरूले भने यसलाई संसद् प्रति प्रधानमन्त्रीको अरुचि र डरको संकेतका रूपमा व्याख्या गरेका छन् । 

नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकार संसद्सँग डराएको टिप्पणी गरे । 

बालेन्द्र शाहले प्रधानमन्त्रीका रूपमा चैत १३ गते शपथ ग्रहण गरेका थिए । सार्वजनिक कार्यक्रममा अनुपस्थितिको रुचीलाई सामान्य मानिएपनि उनी संसद् बैठकमै उपस्थित नहुनुले विपक्षीका लागि आलोचनाको केन्द्र बनेका हुन् ।

प्रधानमन्त्री शाहको यो अनुपस्थिति सामान्य भने होइन । बजेट अधिवेशन जस्तो महत्वपूर्ण समयमा प्रधानमन्त्रीको उपस्थिति अपेक्षित हुन्छ । केहीले यसलाई रणनीतिक कदम मान्दै प्रधानमन्त्रीले आफ्नो छवि ‘कार्यकारी’ भन्दा बढी बनाउन खोजेको टिप्पणी गरेका छन् ।

विपक्षी दलहरूले सरकार ‘अध्यादेश मोह’ र ‘एकतन्त्रीय प्रवृत्ति’ तर्फ अग्रसर भएको बताएका छन् । 

विश्लेषकहरूका अनुसार अधिवेशनको पहिलो दिनमै प्रधानमन्त्रीको अनुपस्थितिले आगामी दिनहरूमा सरकार र विपक्षबीच संसदमा तीव्र बहस हुने संकेत देखाएको छ । अब प्रधानमन्त्री शाहलाई आगामी बैठकहरूमा उपस्थित भएर आफ्नो कार्यकारिणी नेतृत्व क्षमता प्रमाणित गर्नैपर्ने दबाब बढेको हो ।

View : 110

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved