Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

एकै नामथर भएका दुई घनश्याम राठीको चार दिनको फरकमा निधन

उद्‌घोष संवाददाता
१३ जेठ २०८३, बुधवार

विराटनगर । विराटनगरमा एउटै नामथर भएका व्यक्तिको चार दिनको फरकमा निधन भएको छ ।

विराटनगर–९ बाटा रोड निवासी घनश्याम राठीको बुधबार बिहान निधन भएको छ । ७४ वर्षीय राठीको भारतको दिल्लीमा निधन भएको हो ।

विराटनगरको न्यूरो हस्पिटलको बसाइपछि थप उपचारका लागि दिल्ली लगिएकोमा हस्पिटल लान नपाउँदै राठीको निधन भएको परिवारले जनाएको छ ।

परिवारका अनुसार, बुधबार बिहान दिल्लीको फोर्टिस हस्पिटलमा भर्ना गर्ने तयारी गर्दैगर्दा राठीको बिहान ८ बजे निधन भएको हो ।

राठीमा लामो समयदेखि मुटुको सिकायत थियो । मुटुको अप्रेसनपश्चात पनि उनी विराटनगरका विभिन्न सामाजिक गतिविधिमा सक्रिय थिए । उनी पछिल्लो समय नेपाल क्षयरोग निवारण संस्था मोरङका अध्यक्ष थिए ।

उनी विराटनगर जेसीजका पूर्वअध्यक्ष पनि हुन् । त्यस्तै रामजानकी सेवा सदन तथा माहेश्वरी समाज विराटनगरका पनि पूर्वअध्यक्ष हुन् । उनी लायन्स तथा रोटरी क्लबमा संलग्न थिए ।

कुनै समयमा विराटनगर छप्पन भोग तथा माखन भोग नामको मिष्ठान्न भण्डार सञ्चालन गरेका राठी मुटुमा समस्या आएपछि भने व्यवसायबाट अलग भएका थिए ।

राठीको परिवारमा तीन छोरी, एक छोरा र श्रीमती छन् । उनको पार्थीव शरीरलाई अहिले दिल्लीबाट स्थलमार्ग हुँदै विराटनगरतर्फ ल्याउने काम भइरहेको परिवारले जनाएको छ ।

भोलि बिहीबार बिहानसम्म विराटनगर आइपुग्ने र भोलि नै दिउँसो ३ बजे हाटखोलास्थित सिंघिया घाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

राठीको निधनमा विभिन्न क्षेत्रका व्यक्तिले गहिरो दुःख व्यक्त गरेका छन् । यसअघि विराटनगर–२ निवासी ८२ वर्षीय घनश्याम राठीको आइतबार निधन भएको थियो ।

उनी पनि सामाजिक तथा धार्मिक गतिविधिमा सक्रिय थिए । विराटनगरले उही नामथर गरेका दुई सामाजिक व्यक्तित्वहरू चार दिनको फरकमा गुमाएको छ ।

View : 1042

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved