Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

आज विजया दशमीको टिका लगाउने दिन : लगाउनेले पूर्व फर्किनु, लगाइदिनेले पश्चिम

उद्‌घोष संवाददाता
१६ असोज २०८२, बिहिवार

विराटनगर । नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन मान्यजनहरूको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । 

विजया दशमीको टीका लगाउने व्यक्तिले पूर्व फर्किएर टीका लगाउनु पर्ने र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भन्ने कामनासहित आशीर्वाद लिंदै टिका र जमरा ग्रहण गरिन्छ ।

घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी टीका लगाएपछि लगाइदिने प्रचलन रहेको छ ।

विभिन्न कारणले आजको दिन टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्दै आएको परम्परा छ । 

View : 278

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved