सुन्दरहरैँचा । साहित्यकार पुरन याक्खाका तीन साहित्यिक कृति एकैसाथ विमोचन गरिएको छ ।
मोरङको सुन्दरहरैँचा–५ स्थित भानु साझा पुस्तकालयको आयोजनामा कविता, गीत र गजल संग्रहको विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा याक्खाद्वारा लिखित कविता संग्रह ‘चर्किएको सिसाभित्र’, गीत संग्रह ‘तिमी बिनाको जिन्दगी’ र गजल संग्रह ‘पलाँसको फूल’ विमोचनसँगै कृतिमाथि साहित्यिक विमर्श गरिएको थियो ।
कविता संग्रह ‘चर्किएको सिसाभित्र’ माथि प्राज्ञ डा. अस्मिता विष्ट, गीत संग्रह ‘तिमी बिनाको जिन्दगी’ माथि जेबी थुलुङ र गजल संग्रह ‘पलाँसको फूल’ माथि विवश बलिभद्र कोइरालाले विमर्श गरेका थिए ।
१०३ कविता समेटिएको ‘चर्किएको सिसाभित्र’ मा सामाजिक द्वन्द्व, वातावरणीय क्षय, भुइँमान्छेका पीडा, प्रेम तथा बिछोडका विषय प्रस्तुत गरिएको छ ।
त्यसैगरी, १०१ गीत समावेश ‘तिमी बिनाको जिन्दगी’ मा ग्रामीण परिवेश, प्रेम, सामाजिक विकृति, द्वन्द्व र परदेशीका पीडालाई चित्रण गरिएको छ । ७३ गजल रहेको ‘पलाँसको फूल’ मा प्रेम, शृंगार तथा जीवनका विविध अनुभूतिलाई अभिव्यक्त गरिएको छ ।
कार्यक्रममा कवि तथा साहित्यकार मनु मञ्जिलले एकैसाथ तीनवटा साहित्यिक कृति सार्वजनिक हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । वरिष्ठ साहित्यकार बम देवानले साहित्य लेखक र पाठकबीचको सिर्जनात्मक सम्बन्ध भएको धारणा व्यक्त गरे ।
साहित्यकार याक्खाले आफ्ना जीवनका भोगाइ, पहाडी परिवेश, सुखदुःख तथा सामाजिक अनुभूतिहरूलाई साहित्यिक कृतिमा समेटेको बताए ।
View : 23
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved