Biratnagar, Morang, Nepal
३० असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
शिक्षा

असल नागरिक उत्पादन गर्ने जिम्मेवारी शिक्षककै काँधमा

उद्‌घोष संवाददाता
२९ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । असल शिक्षा दिएर देशका लागि योग्य र जिम्मेवार नागरिक उत्पादन गर्न शिक्षकको भूमिका महत्वपूर्ण हुने भन्दै मोरङको जहदा गाउँपालिकाबाट अवकाशप्राप्त प्रधानाध्यापक सिधुलाल राजवंशीले वर्तमान शिक्षकहरूलाई शिक्षण पेसाप्रति जिम्मेवार बन्न सुझाव दिएका छन् ।

जहदा गाउँपालिकाले बुधबार आयोजना गरेको अवकाशप्राप्त प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारी सम्मान कार्यक्रममा राजवंशीले एउटै विद्यालयमा २४ वर्ष प्रधानाध्यापकका रूपमा सेवा गरेको स्मरण गर्दै शिक्षकले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी असल संस्कार र जिम्मेवारीबोधसमेत सिकाउनुपर्ने बताए ।

कार्यक्रममा हालै अवकाशप्राप्त प्रधानाध्यापक द्रौपदीकुमारी राजवंशीले स्थानीय सरकार बलियो भए विद्यालयको शैक्षिक अवस्था सुधार हुने बताइन् । 

विद्यालयको विकास र शिक्षाको गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।

पूर्वप्रधानाध्यापक जयप्रकाश साहले अवकाशलाई सेवाको अन्त्य नभई नया ऊर्जासहित समाज र शिक्षा क्षेत्रको सेवामा लाग्ने अवसरका रूपमा व्याख्या गरे । 

‘मलाई रिटायर्ड हेडसर भन्छन्, तर म आफूलाई रिटायर्ड नभएर रिचार्ज भएको ठान्छु,’ उनले भने, ‘सेवाबाट अवकाश पाए पनि शिक्षा क्षेत्रको सेवा गर्ने ऊर्जामा कमी आउदैन, बरु अझ बढ्छ ।’

गाउँपालिकाले बुधबार ३४ जना अवकाशप्राप्त प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई सम्मान गरेको हो । 

२०७४ सालमा गाउँ कार्यपालिकाको स्थापना भएपछि अवकाशप्राप्त शिक्षक तथा कर्मचारीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान कार्यक्रम आयोजना गरिएको गाउँपालिका अध्यक्ष जितेन्द्रप्रसाद साहले बताए ।

शिक्षकले प्रदान गरेको ज्ञान र सिकाएको सीपकै आधारमा देश सञ्चालन गर्ने जनशक्ति उत्पादन हुने उल्लेख गर्दै अध्यक्ष साहले शिक्षा क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूको सम्मान गर्नु स्थानीय सरकारको दायित्व भएको बताए । 

कार्यक्रममा गाउँपालिका अध्यक्ष साह, उपाध्यक्ष हन्ना सोरेन, प्रमुख प्रशासकीय अधिकृत यामबहादुर उपरकोटी र शिक्षासेवी टंक गौतमलगायतले अवकाशप्राप्त शिक्षक तथा कर्मचारीलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेका थिए ।

सम्मान कार्यक्रममा लामो समयपछि भेट भएका पूर्वशिक्षकहरूबीच पुराना अनुभव र स्मृतिको चर्चा चलेको थियो । सेवाकालका सहकर्मीहरू भेटिदा कतिपय भावुकसमेत बनेका थिए । 

विद्यालयका विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर आफ्ना पूर्वशिक्षक तथा कर्मचारीलाई स्वागत र बिदाइ गरेका थिए ।

गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख दीपक खनालका अनुसार कार्यक्रममा सहभागी हुन नसकेका तथा सम्पर्कमा नआएका अवकाशप्राप्त शिक्षक र कर्मचारीलाई पछि पुनः सम्मान गरिनेछ । 

सम्मान थाप्दै पूर्व प्रअ द्रौपदी राजवंशी र सम्मान गर्दै पालिका प्रमुख साहलगायत । तस्वीर : कमल/उद्घोष

View : 126

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved