Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

भानु जन्मजयन्तीमा कविता र चित्रकला प्रतियोगिता

उद्‌घोष संवाददाता
२९ असार २०८२, आइतवार

विराटनगर । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसर पारेर विराटनगर प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको विद्यालयस्तरीय कविता प्रतियोगितामा आदर्श माविका सिद्धार्थ ढकाल प्रथम भएका छन् । 

शनिबार महानगरको सभाहलमा आयोजित प्रतियोगितामा ‘कोशी प्रदेशको यात्रा’ शीर्षकको कविता वाचन गरेर उनले प्रथम स्थान हासिल गरेका हुन् । 

त्यस्तै प्रतियोगितामा ‘मेरो कथा मेरो व्यथा’ शीर्षकको कविता वाचन गरेर अरनिको स्कुलकी उजेली उप्रेती र ‘म छोरी हुँ’ शीर्षकको कविता वाचन गरेर गायत्री संस्कृति माविकी सुलेखाकुमारी राय द्वितीय भएका छन् । 

अग्रज साहित्यकार गंगा सुवेदी र कवि एवं पत्रकार मीनकुमार नवोदितको निर्णायक समितिले उप्रेती र रायको बराबरी नम्बर आएका कारण दुवैजनालाई द्वितीय घोषणा गरेको थियो । 

त्यस्तै ‘भानुलाई श्रद्धाञ्जली’ शीर्षकको कविता वाचन गरेर एजेलिया माविकी प्रज्ञा कट्टेल तृतीय हुँदा ‘हाम्रो विराटनगर’ शीर्षकको कविता वाचन गरेर गायत्री संस्कृत माविका छात्र गौरव तिम्सिनाले प्रोत्साहन पुरस्कार प्राप्त गरे । 

त्यस्तै शनिबारै आयोजित चित्रकला प्रतियोगितामा डीपीएस स्कुलकी प्रेरणा पण्डित प्रथम हुँदा डीपीएसकै सभ्या अग्रवाल र सहाया यादव द्वितीय भए । 

सेन्ट मेरिज स्कुलकी सर्वाणी यादवले तृतीय पुरस्कार पाउदा गायत्री संस्कृत माविका पियुष चौधरीले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।

 प्रतियोगिताका विजेताहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, सदस्यसचिव दिङ्लाली कान्छो, ललितकला विभागकी प्रमुख अनुराधा थापा, प्रतिष्ठानका प्राज्ञ भूषण ढुङ्गेल, डा. विमला श्रेष्ठ, हरि कट्टेल, अग्रज साहित्यकार गंगा सुवेदी, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । 

कार्यक्रममा कवि चूडामणि नेपाल ‘अकिञ्चन’, हरि कट्टेल, प्रतिमा निरौला, मधु राई, नारायण तिम्सिनालगायतले अप्रतियोगी सिर्जना प्रस्तुत गरेका थिए ।

View : 795

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved