Biratnagar, Morang, Nepal
२४ जेठ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
समाज

विराटनगरका ११ अग्रज व्यक्तित्व सम्मानित

उद्‌घोष संवाददाता
२४ जेठ २०८३, आइतवार

विराटनगर । विराटनगरका विभिन्न क्षेत्रमा दशकौँदेखि योगदान पुर्‍याउँदै आएका ११ जना ज्येष्ठ व्यक्तित्वहरूलाई एक भव्य समारोहका बीच सम्मान गरिएको छ।

ज्येष्ठ नागरिक बौद्धिक मञ्च, विराटनगरद्वारा आयोजित उक्त विशेष कार्यक्रममा समाज निर्माण, उद्यम, शिक्षा, साहित्य, सञ्चार तथा सामाजिक सेवाका क्षेत्रमा अतुलनीय योगदान दिने अग्रजहरूलाई कदरपत्र र दोसल्लासहित सम्मान गरिएको हो।

 

समाजका ‘जीवित इतिहास’ मानिने अग्रजहरूको अनुभवलाई सम्मान गर्दै उनीहरूको योगदानलाई संस्थागत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा समाजसेवी जगतप्रसाद अर्ज्याल,  सीता पोखरेल, उद्योगी ताराचन खेतान, सञ्चारकर्मी तथा प्राध्यापक शिवबहादुर कार्की, साहित्यकार मधु पोखरेल, त्रिलोक न्यौपाने, भगतलाल श्रेष्ठ, लव प्रधान ‘मित्र’, कमलकिशोर यादव, दामोदर घिमिरे तथा भुवनेश्वरी आचार्य सम्मानित भएका हुन्।

सम्मानित व्यक्तित्वहरूलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, मञ्चका अध्यक्ष सुरबहादुर श्रेष्ठलगायतले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकहरू समाजका मार्गदर्शक र समृद्धिको जग भएको बताए।

उनले भने, ‘अग्रजहरूको अनुभव, ज्ञान र जीवनभर आर्जित सीपलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सके मात्र समाजले थप गति लिन सक्छ।  उहाँहरूको योगदानको कदर गर्नु हामी सबैको कर्तव्य हो’।"

 

मञ्चका  वरिष्ठ  उपाध्यक्ष सुरबहादुर श्रेष्ठले यो सम्मान केवल औपचारिक कार्यक्रम मात्र नभई समाजका लागि अग्रजहरूले पुर्‍याएको योगदानप्रतिको कृतज्ञता भएको बताए।

उनले समाजमा सकारात्मक परिवर्तन ल्याउन सम्मानित व्यक्तित्वहरूको भूमिका सधैँ प्रेरणादायी रहने उल्लेख गरे।

 

कार्यक्रममा वडा नं. ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, ज्येष्ठ नागरिक समाज कोशी प्रदेशका अध्यक्ष मणिकुमार अर्ज्याल  तथा सम्मानित व्यक्तित्वका तर्फबाट जगतप्रसाद अर्ज्याल , मधु पोखरेल र लव प्रधान ‘मित्र’ ले मन्तव्य राखेका थिए।

उनीहरूले ज्येष्ठ नागरिकको अनुभव र सक्रियतालाई राज्यको नीति निर्माण तहसँग जोड्नुपर्ने आवश्यकतामा जोड दिए।

 

पछिल्लो समय नेपालमा ज्येष्ठ नागरिकहरूको अनुभवलाई उत्पादनशील क्षेत्र र युवा पुस्ताको मार्गदर्शनमा उपयोग गर्नुपर्ने बहस चलिरहेको सन्दर्भमा यस प्रकारका सम्मानले समाजमा योगदानको मूल्याङ्कन गर्ने संस्कारको विकास हुने मञ्चका सचिव हरि अधिकारीले बताए।

View : 67

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved