कोशी प्रदेश सभाको बजेट अधिवेशन सुरु
विराटनगर । कोशी प्रदेश सभाको नवौं तथा बजेट अधिवेशनमा कोशी प्रदेशका सत्ताधारी दल नेकपा एमाले र नेपाली कांग्रेसले संघीय सरकारप्रति अनेकौं आशंका व्यक्त गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीले भने प्रदेश सरकारको आनीबानी सुधार्न चेतावनी दिएको छ । प्रदेश सभाको नवौं तथा बजेट अधिवेशन बुधबारदेखि सुरु भएको हो ।
बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले वर्तमान राजनीतिक अवस्था, सरकारको कार्यशैली, आगामी नीति तथा कार्यक्रम र जनअपेक्षाका विषयमा धारणा राखेका हुन् । यसरी बोल्ने क्रममा सत्तापक्षका नेताहरूले बालेन सरकारको कार्यशैलीदेखि गन्तव्यका बिषयमा टिप्पणी गरे ।
नेकपा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोले जनताको आशा र अपेक्षा अनुसार संघीय सरकारले काम गर्न नसक्दा त्यसको फाइदा अन्य शक्तिहरूले उठाइरहेको बताए । उनले सत्ता र राजनीति स्थायी नहुने उल्लेख गर्दै ‘एक पटकको जित सँधैको जीत होइन, समय–समयमा अनुमोदित हुनैपर्छ’ भने ।
उनले मुलुकलाई अप्ठेरो परिस्थितितर्फ धकेल्ने गरी षड्यन्त्र भइरहेको आभास भएको उल्लेख गर्दै पछिल्लो राजनीतिक घटनाक्रमले झन ठूलो आशंका पैदा गरेको बताए ।
मूल्यवृद्धि, पेट्रोलियम अभाव, एलपी ग्यास संकटजस्ता समस्याले जनजीवन प्रभावित बनेको उल्लेख गर्दै सरकार जनताको समस्याप्रति बेखबर रहेको आरोप लगाए ।
‘मुलुकलाई अप्ठेरो परिस्थितिमा धकेल्न अँध्यारो कोठामा बसेर षडयन्त्र त भइरहेको छैन भन्ने आभाष भएको छ’ उनले भने ।
मेन्याङ्बोले जनताले सुशासन र पारदर्शिता खोजिरहेको बताए । उनले सरकार जनताको मनोविज्ञान बुझेर अघि बढ्नुपर्ने बताए । प्रदेश सरकारले पनि इतिहासबाट पाठ सिक्दै केही कमी कमजोरी भए हटाउनुपर्ने बताए ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै संघीय सरकारको कामकारबाही सन्तोषजनक नदेखिएको बताए । अदालतलाई समेत विवादमा ल्याउने काममा सरकार लागेको आरोप लगाए । यसले मुलुकलाई सकारात्मक दिशातर्फ नलैजाने उनको भनाइ थियो ।
थापाले प्रदेश सरकार अब थप जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए । आगामी नीति तथा कार्यक्रम सबैको भावना समेटेर प्रभावकारी ढंगले आउनुपर्ने बताए ।
उनले प्रदेश सरकारले यस वर्ष गरेका सकारात्मक कामलाई नीति तथा कार्यक्रममा समेट्नुपर्ने उल्लेख गर्दै पर्यटन वर्ष र लगानी सम्मेलनले प्रदेशलाई अगाडि बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले अझै गर्न बाँकी रहेका कामलाई आगामी कार्यक्रममार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिए । साथै प्रदेश सभाका सदस्यहरूको योजनालाई प्राथमिकतामा राख्न र बजेटप्रति माननीयहरूको स्वामित्व कायम हुने वातावरण बनाउन सरकारलाई आग्रह गरे ।
यता, कोशी प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश सरकारले नागरिकमा भरोसा जगाउने गरी काम गर्न नसकेको आरोप लगाए ।
उनले समस्याको दोष प्रणालीलाई दिएर उम्किन नमिल्ने भन्दै जिम्मेवारीमा रहेकाहरूले नै उत्तरदायित्व लिनुपर्ने बताए ।
आङ्बोले जेनजी विद्रोहपछि अपेक्षित रुपमा प्रदेश सरकारले काम सुधार हुन नसकेको उल्लेख गर्दै अहिले पनि सरकार स्पष्ट लयमा अघि बढेको महसुस नभएको टिप्पणी गरे ।
‘दुई दललाई मात्र फाइदा हुने गरी कानुन बनाइन्छ भने जेनजी आन्दोलन नभएर के हुन्छ ?’ उनको प्रश्न थियो ।
उनले प्रदेश संरचना बोझिलो नभएको जिकिर गर्दै प्रदेशप्रति चौतर्फी प्रहार भइरहेको अवस्थामा मुख्यमन्त्रीले संघीयताको पक्षमा अभिभावकीय भूमिका खेल्नुपर्ने बताए ।
तर मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयताप्रति नै प्रश्न उठ्ने गरी अभिव्यक्ति दिएको उनले दुःख व्यक्त गरे ।
प्रदेश सरकार जनताप्रति जिम्मेवार र जवाफदेही हुन नसक्दा वर्तमान व्यवस्थामाथि नै प्रश्न उठिरहेको उनको भनाइ थियो ।
राप्रपाका सांसद प्रेमराज थाम्सुहाङले आफूहरू कोही पनि जनताभन्दा ठूला नभएको बताए । उनले जनताको प्रतिनिधिका रूपमा काम गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सरकारले गरिब वर्गको उत्थान हुने गरी आगामी नीति, कार्यक्रम र बजेट ल्याउनु पर्ने सुझाव दिए ।
View : 165
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved