Biratnagar, Morang, Nepal
९ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

सरकारको स्थायित्वमा कांग्रेस सकारात्मक

उद्‌घोष संवाददाता
९ भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर । कोशी प्रदेश सरकारको स्थायित्वका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तासाझेदार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले समान धारणा व्यक्त गरेका छन् । 

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा र नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई अस्थिर बनाउन नहुने बताएका हुन् ।

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले कांग्रेस प्रतिपक्षमा रहेकाले प्राविधिक रूपमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने भए पनि वर्तमान सरकारको स्थायित्वका पक्षमा आफ्नो दल सकारात्मक रहेको बताए । उनले कांग्रेस सरकार ढालेर अर्को सरकार बनाउने पक्षमा नरहेको स्पष्ट पारे ।

‘नेपाली कांग्रेस यो सरकार ढल्नुपर्छ र अर्को बन्नुपर्छ भन्ने मान्यतामा छैन,’ थापाले भने, ‘सरकार गिर्ने अवस्था आयो वा संकटमा पर्यो भने हामी यसलाई टिकाएर पूर्ण कार्यकाल काम गर्न सहयोग गर्ने प्रतिबद्धता जनाउँछौं ।’

थापाले संघीय सरकारले प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउँदै त्यसप्रति प्रदेश सरकार गम्भीर हुनुपर्ने बताए । विराटनगरका अस्पतालहरू बन्द गराइएको विषयमा समेत उनले असन्तुष्टि व्यक्त गरे ।

उनले संघीय सरकारले निजी क्षेत्रलाई त्रसित बनाएको र जनतालाई आतंकित पारेर शासन सञ्चालन गर्न खोजेको आरोप लगाए । मुलुकलाई अस्तव्यस्त बनाउने गतिविधि भइरहेको दाबी गर्दै यस्तो अवस्थामा राजनीतिक दलहरू मौन बस्न नहुने उनको भनाइ थियो ।

प्रदेश सरकारले ल्याएको असन्तुलित बजेटलाई परिमार्जन गरी सन्तुलित बनाउनुपर्ने कांग्रेसको अडान कायमै रहेको थापाले बताए । 

जनताको मतबाट सत्तामा पुगेको सरकारले जनताको सेवामा केन्द्रित भएर काम गर्नुपर्नेमा उनले जोड दिए । सुशासन र समृद्धिका पक्षमा सरकारले गर्ने सकारात्मक काममा कांग्रेसको साथ रहने बताउँदै थापाले सरकारलाई पूर्ण कार्यकालका लागि शुभकामना दिए ।

View : 51

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved