विराटनगर । दोस्रो कार्यकालको अधिकांश समय पुरानै नियमावलीका आधारमा काम चलाएको कोशी प्रदेशसभाले कार्यकालको उत्तराद्र्धमा बल्ल आफ्नै सञ्चालन नियमावली पारित गरेको छ ।
प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको करिब चार वर्षपछि शनिबार बसेको बैठकले नयाँ नियमावलीलाई सर्वसम्मतिले पारित गरेको हो ।
प्रदेशसभाको नवौँ अधिवेशन शनिबार रातिदेखि अन्त्य भएको छ । अधिवेशन अन्त्य हुनुअघि नियमावली पारित गरिएको हो ।
यसअघि प्रदेशसभाको कामकारबाही पहिलो कार्यकालका लागि बनेको नियमावलीका आधारमा सञ्चालन हुँदै आएको थियो ।
नियमावली मस्यौदा समितिका सभापति रेवतीरमण भण्डारीले शनिबारको बैठकमा पेस गरेको ‘प्रदेशसभा नियमावली मस्यौदा समिति, २०८३ को प्रतिवेदन’ सभाले सर्वसम्मतिले पारित गरेको हो ।
दोस्रो कार्यकाल सुरु भएपछि नै नयाँ नियमावली बनाउने प्रक्रिया अघि बढाइएको थियो । २०७९ माघ २३ गते सांसद लीलाबल्लभ अधिकारीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको थियो । तर, उक्त समितिले तयार पारेको मस्यौदामा सहमति जुट्न सकेन ।
त्यसपछि रेवतीरमण भण्डारीको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले विभिन्न विषयमा सहमति जुटाउँदै मस्यौदा परिमार्जन गरेको थियो ।
लामो समयदेखि प्रक्रियामा रहेको नियमावली अन्ततः चालु अधिवेशनको अन्त्यमा आएर पारित भएको हो ।
मस्यौदा समिति सभापति भण्डारीका अनुसार नयाँ नियमावलीमा यसअघिका व्यवस्थामा रहेका अस्पष्टता हटाउँदै प्रदेशसभा सञ्चालनलाई थप प्रभावकारी बनाउने प्रावधान राखिएका छन् ।
नियमावलीमा पूर्वसांसदहरूको अनुभवलाई प्रदेशसभासँग जोड्न ‘लुज फोरम’ गठन गर्ने व्यवस्था पनि समेटिएको छ ।
त्यस्तै, महिला सांसदका विशेष मुद्दामा छलफल गर्न र उनीहरूको क्षमता विकासमा सहयोग पु¥याउन छुट्टै फोरम बनाउने प्रावधान राखिएको छ ।
प्रदेशको नाम संशोधनको प्रस्ताव अघि बढाउन एक तिहाइ सांसदले निवेदन दिन सक्ने व्यवस्था पनि नयाँ नियमावलीमा छ ।
प्रदेशसभाको बैठकमा सामाजिक विकासमन्त्री गीता तिम्सिनाले चार वर्षको प्रयासपछि नियमावली पारित भएको बताइन् ।
View : 35
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved