Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

आठौं विराट गोल्डकप

सडेन डेथमा एपीएफलाई हराउँदै घरेलु टोली सांग्रीला मोरङ एफएको रोमाञ्चक फाइनल यात्रा

उद्घोष सम्वाददाता
२१ चैत २०८०, बुधवार

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरीलाईलाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रीला फाइनल सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल भएपछि जितको छिनोफानो टाइब्रेकरमा पुगेको छ । टाइब्रेकरमा दुवै टोली टोलीले ३–३ गोल गरेका थिए । त्यसपछि सडेनडेथबाट पहिलो फाइनलिष्ट छान्नुपरेको थियो । 

टाइब्रेकरमा सांग्रीलाका लागि आशिष चापागाईँ, अभिषेक लिम्बू, उमेश कार्की र किरन राईले गोल गरे । तर सांग्रीलाका विदेशी खेलाडी एनकेट र सागर तिरुवाको प्रहार एपीएफका गोलकिपर एन्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरिदिएका थिए ।

एपीएफको तर्फबाट दिपेश धिमाल, कुलदिप कार्कीको प्रहार पनि सांग्रीलाका गोलकिपर विशाल सुनारले सानदार तरिकाले बचाउ गरिदिए । एपीएफको तर्फबाट अनिस महर्जन, सुमन श्रेष्ठ र विश्वास उदासले मात्र गोल गरेका थिए ।

सांग्रीलाले उपाधिको लागि बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा मच्छिन्द्र र पाहुना टोली सिक्किम ड्रागन भारतबीच हुने बिजेता टिमसँग खेल्नेछ ।

एपीएफले इटहरी गोल्डकप च्याम्पियन चर्च ब्वाइज युनाइटेड काठमाण्डौलाई २–० गोलले हराउँदै सेमिफाइनल रक्षा गरेको थियो । घरेलु टिम सांग्रीलाले भुटानको आरटिसिएफसी ३–२ गोलले हराउँदै सेमिफाइनलको स्थान पक्का गरेको थियो ।

पहिलो सेमिफाइनलमा एपीएफ र सांग्रीलाले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित र अतिरिक्त समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । गोलका उत्कृष्ट अवसरलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनल खेलबाट छैटौँ संस्करणको विजेता टिम एपीएफ घर फर्कन बाध्य भयो ।

सांग्रीलाका आशिष चौधरीले खेल सुरू भएको १६ औं मिनेटमा गरेको कडा प्रहार एपीएफका गोलकिपर अञ्जन श्रेष्ठले उत्कृष्ट बचाए । त्यसलगत्तै विदेशी खेलाडी स्याङले गरेको प्रहार पनि किपर श्रेष्ठले विफल पारिदिए ।

एपीएफका अनिष महर्जनले २५ औं मिनेटमा डिबक्स भित्रबाट गरेका कडा प्रहार बाहिरियो । ६४ मिनेटमा एपीएफका विदेशी खेलाडी जोनले हानेको बल बार माथिबाट बाहिरियो ।

घरेलु दर्शकको साथ पाएको सांग्रीलाले पनि थुप्रै गोल गर्ने अवसर चुकाउँदा जित हात पार्न सडनडेथ पर्खिनुपर्यो । दोस्रो हाफको ६५ औं मिनेटमा विदेशी खेलाडी स्याङको प्रहार एपीएफका किपर अञ्जन श्रेष्ठले उत्कृष्ट बचाए । थप गरिएको अतिरिक्त समयको १०२ औं मिनेटमा सांग्रीलाका आशिष चापागाईँले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमा लागेर बाहिरियो ।

जितमा सांग्रीलाका गोलकिपर विशाल सुनारले प्रभावकारी भूमिका निभाए । उनले निर्धारित र अतिरिक्त समयको आधा दर्जन बढी एपीएफको पोस्ट आक्रमणलाई निस्तेज पार्दै टिमलाई फाइनलको यात्रा गराए । उनी खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पनि पाए ।

जितपछि घरेलु टोली सांग्रीलाका प्रशिक्षक रानु राना मगरले विभागीय टोली बलियो भएपनि पुरा समय नियन्त्रण गर्न सफल भएको बताए । ‘निर्धारित समयमा गोल हुन नसक्नु हाम्रो पनि कमजोरी हो, आउने म्याचमा सुधार गर्नेछौँ,’ उनले भने, ‘बिहीबार हुने दोस्रो सेमिफाइनलमा सिक्किमले जित हात पारे हामीलाई सहज हुने थियो ।’

यता हारपछि एपीएफका प्रशिक्षक बुद्धिमान राईले निर्धारित समयमा खेलाडीहरूले पाएको गोल गर्ने अवसर चुकाउँदा पराजय भोग्नु परेको प्रतिक्रिया दिए ।

View : 354

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved