Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

मेरिल्याण्डका नवआगन्तुक विद्यार्थीलाई अभिमुखिकरण

उद्‌घोष संवाददाता
२१ जेठ २०८३, बिहिवार

Advertisement

विराटनगर । विराटनगरको मेरिल्याण्ड कलेजले यस बर्ष कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूलाई बिहीबार अभिमुखिकरण गरेको छ ।

सिटी पार्टी प्यालेसमा आयोजित अभिमुखिकरणमा कलेजले हालसम्म भर्ना भइसकेका ८५३ जना विद्यार्थीहरूलाई पठनपाठनका क्रममा पालना गर्नुपर्ने नीति नियमदेखि शैक्षिक वातावरणका बारे जानकारी गराएको हो । 

कलेजका अध्यक्ष गुणराज ढुंगेलको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्देशक भेषराज पोखरेलले देशभरका उत्कृष्ट १० प्लस टु (उच्च मावि) भित्र पर्दै आएको र हरेक बर्ष उत्कृष्ट नजिता हासिल गर्दै आएको बताए । उनले विद्यार्थीहरूका लागि उत्प्रेरणात्मक भनाईसहित कलेजको शैक्षिक वातावरणबारे जानकारी गराएका थिए ।

कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले गुणस्तरीय शिक्षामा मेरिल्याण्डले कहिल्यै पनि सम्झौता नगर्ने बताए ।

‘अहिले सवैका लागि राम्रो काम गर्न राम्रो शिक्षा पाउनु जरुरी हुन्छ, यहाँबाट विगतदेखि नै धेरै राम्रो ठाउँमा पुग्ने विद्यार्थीहरू उत्पादन भइसकेका छन्’ ढकालले भने, ‘आफ्नो भविश्यलाई सवैले राम्रो बनाउनुपर्छ, अनुशासित मेहेनतले मात्रै राम्रो शिक्षाको बाटो निर्माण गर्छ ।’

उक्त अवसरमा चर्चित हास्य कलाकार मनोज गजुरेलले मुलुकको शैक्षिक, आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रका बिकृति विसंगतिमाथि व्यंग गर्दै मेरिल्याण्ड कलेजले विगतदेखि आर्जन गर्दै आएको शैक्षिक प्रगतिको प्रशंसा गरेका थिए ।

विराटनगर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख राम प्रसाद ढुंगेलले मानव जीवनलाई सजिलो बनाउन शिक्षाको अपरिहार्यता रहेको बताए । उनले मेरिल्याण्ड कलेजले विगतदेखि नै उत्कृष्ट शिक्षा प्रदान गरी आफ्नो क्षेत्रबाट नजितामा उत्कृष्टता प्रस्तुत गरिरहेको बताए ।

सोही अवसरमा कलेजले कक्षा ११ को इन्ट्रान्स परीक्षामा उत्कृष्ट हुने तल्हा खाँ, सुरज कुमार यादव, प्रेरणा प्रियम मेहेता, सुदिक्षा झा र धैर्य जैनलाई सम्मानित गरेको छ । 

त्यस्तै कलेजबाट पास आउट भएर विभिन्न तह र क्षेत्रमा नाम कमाएका पूर्वविद्यार्थीहरू अनमोलमणि भट्टराई, विवेक दाहाल र पंकज जैनलाई पनि सम्मानित गरिएको छ ।

मेरिल्याण्डले व्यवस्थापन, विज्ञान र कम्प्युटर साइन्समा हरेक उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । कार्यक्रममा यस बर्ष कक्षा ११ मा भएका विद्यार्थीहरूको तर्फबाट अनुष्का मल्लिकले मेरिल्याण्ड रोज्नुको कारणबारे आफ्नो धारणा राखेकी थिइन् । 

कार्यक्रममा कलेजका निर्देशक डा.पिके झा लगायतका कलेजका संचालक समिति सदस्यहरू, अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत संगीत र नृत्य प्रस्तुत गरी मनोरञ्जन पनि गरेका थिए ।

View : 116

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved