Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

सिंघिया र लोहन्द्रा खोलामा जथाभावी उत्खनन्

स्थानीयले मागे उच्चस्तरीय छानबिन, प्रशासनले माग्यो गाउँपालिकासँग जवाफ

उद्‌घोष संवाददाता
१६ वैशाख २०८३, बुधवार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका क्षेत्रभित्र पर्ने सिंघिया र लोहन्द्रा खोलामा मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन भएको र बस्ती जोखिममा परेको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अनुगमन तीव्र पारेको छ । 

प्रशासनले ग्रामथान गाउँपालिकासँग नदीजन्य पदार्थ उत्खनन् र घाटगद्दीको यथार्थ विवरण उपलब्ध गराउन निर्देशन समेत दिएको छ ।

ग्रामथान–५ स्थित महालक्ष्मी समाज सेवा संस्थाले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमा ध्यानाकर्षण पत्र बुझाएपछि प्रशासनले गाउँपालिकालाई पत्र नै काटेर उत्खनन्को विवरण पठाउन निर्देशन दिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले गाउँपालिकालाई मुख्यतया तीनवटा गम्भीर विषयमा स्पष्ट पार्न भनेका छन् ।

उनले सिंघिया र लोहन्द्रा खोलाको नदीजन्य पदार्थको ठेक्का बन्दोबस्त भएको स्थान र ती स्थानहरूमा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (आईई) प्रतिवेदन बमोजिम उत्खनन् भएनभएको विषयमा प्रमाणित प्राविधिक प्रतिवेदन माग गरेका हुन् ।

त्यसैगरी, दुवै खोलाको आसपासमा नदीजन्य पदार्थको घाटगद्दी (स्टक) गरी राखिएको पाइएको भन्दै उक्त कार्य कुन कानुनी आधारमा गरिएको हो भन्ने विषयमा गाउँपालिकासँग जवाफ मागेको जानकारी दिए ।

खोला छेउका निजी जग्गाहरूमा समेत जथाभावी मेसिन प्रयोग गरी नदीजन्य सामग्रीको उत्खनन् भइरहेको र खोलाको धार नै परिवर्तन भई बस्ती जोखिममा परेको स्थानीयले गुनासो गर्दै आएका छन् ।

उनीहरूले ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले नै खोला क्षेत्रमा उत्खनन् कार्य अघि बढाउन विभिन्न समूह नै परिचालन गरेको स्थानीयले आरोप लगाएका हुन् ।

स्थानीयको विरोधपछि मोरङ प्रशासनले निजी जग्गाबाट नदीजन्य पदार्थ उत्खनन् गर्न गाउँपालिकाबाट अनुमति दिइएको छ वा छैन भनी स्पष्ट पार्न समेत निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।

नदी दोहनको विषयलाई प्रशासनले गम्भीर रूपमा लिएको उनले जानकारी दिए । 

प्रशासनले यसअघि विभिन्न क्रसरको स्थलगत अनुगमन गर्दै दुईवटालाई कारवाहीको प्रक्रिया अघि बएको पनि बताए । 

ग्रामथानको लोहन्द्रा खोलामा भइरहेको उत्खनन् अवैध रुपमा भइरहेको भन्दै स्थानीय युवाहरूले ध्यानाकर्षण गराएपछि उत्खनन्को अनुमति दिने कार्यमा संलग्न रहेका गाउ“पालिकाका अध्यक्ष माझीलाई जवाफका लागि पत्र पठाइएको जनाइएको छ ।

स्थानीयले मागे उच्चस्तरीय छानबिन

ग्रामथानको पश्चिमी सिमाना क्षेत्रमा बग्ने लोहन्द्रा र पूर्वतर्फको सिंघिया खोलामा चरम रुपमा विगतदेखि नै अवैध उत्खनन् भइरहेको र त्यसमा अध्यक्ष माझीकै संलग्नता रहेको वडाका जनप्रतिनिधिहरूले आरोप लगाउँदै आएका छन् । 

निजी जग्गाको आडमा उत्खनन् हुने गरेको उनीहरूले बताएका छन् । 

मापदण्ड विपरीत जथाभावी खोलाजन्य सामग्रीको दोहन हुँदा बस्ती नै जोखिममा परेको भन्दै स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानबिनको माग गरेका हुन् ।

ध्यानाकर्षण पत्रमा माफियाहरूले वातावरणीय प्रभाव मूल्यांकन (आईई) को समेत खुलेआम दुरुपयोग गरेको स्थानीयले दाबी गरेका छन् । समाजका अध्यक्ष सरोज मोदीका अनुसार लोहन्द्रा र सिंघीया खोलाबाट अवैध रुपमा बालुवा, गिट्टी र ढुंगाको चरम दोहन भइरहेको जनाइएको छ ।

‘निजी जग्गाको आड लिएर मापदण्ड विपरीत ठूला मेसिन प्रयोग गरी गहिरो खन्ने, तोकिएको क्षेत्रफलभन्दा बढी उत्खनन् गर्ने र आईईको दुरुपयोग गर्ने जस्ता गतिविधि व्यापक रूपमा भइरहेको छ’ उनले प्रशासनलाई बुझाएको पत्रमा उल्लेख छ ।

जथाभावी उत्खननका कारण खोलाको प्राकृतिक धार परिवर्तन भई बस्तीहरू जोखिममा परेको बताए । 

अवैध रुपमा उत्खनन् भई निकासी हुँदा राज्यको राजश्व समेत गुमेको बताएका छन् ।

युवाहरूले स्थानीय तहबाट प्रभावकारी अनुगमन तथा नियन्त्रण हुन नसकेको भन्दै लोहन्द्रा र सिंघिया खोला क्षेत्रमा भइरहेको अवैध उत्खननबारे निष्पक्ष र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, मापदण्ड विपरीत कार्य गर्ने व्यक्ति वा निकायलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्ने र तत्काल अवैध उत्खनन् रोक्न स्थलगत अनुगमन कडा पार्नुपर्ने माग अघि सारेका छन् ।

View : 345

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved