Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कन्टेनर बोकेको कार्गो रेल आइपुग्यो विराटनगर (फोटोसहित)

उद्‌घोष संवाददाता
५ साउन २०८३, मङ्गलवार

Advertisement

विराटनगर । भारतको कोलकाता बन्दरगाहबाट कन्टेनर बोकेको कार्गो रेल सिधै विराटनगरको भन्सार यार्ड आइपुगेको छ । ४० वटा कन्टेनर बोकेर शुक्रबार कोलकाताबाट गुडेको भारतीय रेल सेवाको कार्गो रेल विराटनगरका लागि पहिलो पटक आएको हो । 

सोमबार दिउँसो विराटनगरको भन्सार यार्ड प्रवेश गरेको हो । कोलकाता बन्दगाहबाट आएको मालबाहक रेल विराटनगर भन्सार यार्डमा प्रवेश गर्दा भन्सार कार्यालयको अगुवाईमा पूजाआजाका साथ स्वागत गरिएको थियो । 

रेलमा लोड गरिएका कन्टेनर भने मंगलबार औपचारिक कार्यक्रमका साथ भन्सार यार्डमा सामान लोडअनलोडको जिम्मेवारी पाएको ट्रान्स नेपालले अनलोड गर्नेछ । 

कन्टेनर अनलोडका अवसरमा उद्योगी व्यवसायी र नेपालका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा विशेष कार्यक्रम समेत गर्न लागिएको छ । 

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान अब निर्वाध रुपमा नेपाल आउने छन् । 

कोलकातास्थित नेपाली महावाणिज्यदूतावासका अनुसार भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले ४ नोभेम्बर २०२५ मा जारी गरेको ७३÷२०२५ नम्बरको सूचना अनुसार कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट रेलमार्फत हुने कार्गो ढुवानीको दायरा विस्तार गर्दै विराटनगर भन्सारको यार्डसम्म रेल कार्गो लैजान सकिने व्यवस्था गरेको थियो ।

भारत सरकारले भन्सारमार्फत इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम जडित नियमावली २०१९ संशोधन गरी सहज बनाएपछि पहिलो पटक विराटनगर भन्सार यार्डमा कन्टेनर बोकेको कार्गो रेल प्रवेश भएको हो । 

कार्गो रेलको कन्टेनरमा स्वस्तिक आयल इन्डष्ट्रिजले तेस्रो मुलुकबाट आयात गरेको दाना तोरी रहेको जनाइएको छ । 

यसअघिसम्म कोलकाताबाट छुटेको कार्गो रेल भारतको बथनाहा आएर कन्टेनर अनलोड गर्दै आएको थियो । सोमबारदेखि भने नेपालतर्फको भन्सार विन्दु विराटनगर भन्सार यार्डमै कन्टेनर बोकेर रेल आउन थालेको हो ।

विराटनगरको भन्सार यार्डमै कार्गो रेल ल्याउने लक्ष्यका साथ २०८० जेठ १८ मा परीक्षणका रूपमा एउटा कार्गो रेल आएको थियो । त्यतिबेला बथनाहाबाट २ हजार ४०० टन औद्योगिक कच्चा पदार्थ बोकेको कन्टेनर लिएर परीक्षणका रुपमा पहिलो कार्गो रेल विराटनगर भन्सार यार्ड आइपुगेको थियो । त्यसपछि व्यावसायिक रुपमै कार्गो रेल भन्सार यार्डसम्मै ल्याउन माग गर्दै उद्योगी व्यवसायीले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

विगतमा वीरगञ्जको भन्सार यार्डसम्म मात्रै कार्गो रेल कन्टेनर लिएर पुग्ने गरेको थियो । 

अब जोगबनीस्थित भारतीय भन्सार यार्ड हुँदै विराटनगरस्थित भन्सार यार्डसम्म कार्गो रेल आउने बाटो तयार भएको उद्योगी व्यवसायीहरूले बताएका छन् ।

विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले अब सबै प्रकारका मालबस्तु कन्टेनरमा हालेर कार्गो रेलबाट विराटनगर भन्सार यार्डमा ल्याउन बाटो सहज भएको बताए । उनले विगतको जस्तो समस्या नभएको जानकारी दिए ।

भन्सार यार्डमा लोडअनलोडका लागि ह्याण्डलिङको जिम्मा पाएको ट्रान्स नेपालले वीरगञ्ज भन्सार यार्डमा लोडअनलोडका लागि लिने शुल्कलाई नै विराटनगरमा पनि कार्यन्वयन गर्ने गरी कन्टेनर लोडअनलोड गर्ने जनाइएको छ । अवस्था हेर्दै पछि भने यहाँको दररेट कायम हुने भन्सार प्रमुख श्रेष्ठले बताए ।

विराटनगरसम्म रेल सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि ४० फिट लामो एकै पटकमा ४५ वटासम्म कार्गो कन्टेनर ल्याउन सकिने जनाइएको छ । 

विराटनगर भन्सार यार्डमा रेलबाट कन्टेनर आइपुग्दा नेपाली आयातकर्ताले बन्दरगाहमा तिर्नुपर्ने डेमरेज शुल्क, कन्टेनर डिटेन्सन शुल्क र सडक ढुवानीको अतिरिक्त लागत हट्ने विश्वास व्यक्त गरेका छन् । 

जसको परिणाम समग्र व्यापार पारवहन लागतमा कमी आउने र नेपाली उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता थप बलियो हुने जनाइएको छ ।

 

View : 62

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved