विराटनगर । दुई दिनदेखि खसेको सुख्खा पहिरोले धनकुटाको भेडेटार हुँदै पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ । सडक खण्ड खुलाउन प्रयास गरिएपनि पहिरो नरोकिएको जनाइएको छ ।
साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिकै शुक्रबार बिहानैदेखि ढुंगामाटोसहितको खसिरहेको गाउँपालिकाकी उपाध्यक्ष मुना राईले बताइन् ।
शनिबार सडकमा थुप्रिएको माटोढुंगा पन्छाउने प्रयास गरिएको भएपनि नरोकिएका कारण सडक अवरुद्ध बनेको उनले जानकारी दिइन् ।
सडकको करिब तीन सय मिटर खण्डमा पहिरो थुप्रिएको छ । जसका कारण उक्त सडक खण्डमा यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको र पैदल यात्रा गर्न समेत जोखिम भएको जनाइएको छ ।
सुख्खा पहिरो नरोकिएका कारण पैदल यात्रा गर्न जोखिम भएकोले रातको समय पूर्ण रुपमा उक्त सडकमा यात्रा गर्न रोकिएको इलाका प्रहरी कार्यालय भेडेटारले जनाएको छ ।
भेडेटार–रवि–राँके सडक निर्माणलाई अहिले चौडा पार्ने काम भइरहेपनि निरन्तरको सुख्खा पहिरो चुनौतिपूर्ण बन्दै आएको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।
उनले शनिबार दिनभर भेडेटार–रवि–राँके सडक निर्माण गरिरहेको ठेकेदार कम्पनी एप्को इन्फ्रा टेकले जेसीभीलगायतका उपकरण परिचालन गरेपनि निरन्तर पहिरो खसेको जानकारी दिए ।
पूर्वी पहाडी जिल्लालाई जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको यो सडकको कुल लम्बाइ करिब एक सय किलोमिटर रहेको छ ।
भेडेटार–रवि–राँके सडक निर्माण गर्दा यस खण्डमा ठूलो खोला या नदी नपरेकाले लामो स्पान भएका ठूला पक्की पुल निर्माण गर्नुपर्ने आवश्यकता छैन । एक सय किलोमिटर लामो यो सडकमा साना खोल्साको पानी बग्नका लागि कल्भर्ट मात्रै निर्माण गरिएको जनाइएको छ ।
यति लामो सडक खण्डको बिचमा कतैपनि पक्की पुल आवश्यक नभएका कारण यो सडक संचालनमा आउँदा पहाडी क्षेत्रका बासिन्दालाई आवतजावतमा ठूलो सहजता हुने स्थानीयको भनाई छ ।
जिल्लागत रूपमा यो सडकको ४५ किलोमिटर खण्ड धनकुटा जिल्लामा रहेको छ । २२ किलोमिटर इलाम र ३० किलोमिटर खण्ड पाँचथरमा रहेको छ । बाँकी केही भाग इलाम–पाँचथर सिमानामा रहेको छ ।
कोशी प्रदेशका पहाडी जिल्लाबीचको वैकल्पिक सडक सञ्जालका रूपमा रहेपनि यो सडकको निर्माण भने निकै ढिलो भइरहेको स्थानीयले गुनासो गरेका छन् ।
View : 44
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved