Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

पेट्रोलियम मूल्यवृद्धिको मारले लुब्रिकेन्ट्स उद्योग संकटमा

उद्‌घोष संवाददाता
१० जेठ २०८३, आइतवार

विराटनगर । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लागेपछि नेपालका लुब्रिकेन्ट्स उद्योगहरू दोहोरो–तेहोरो दबाबमा परेका छन् ।

कच्चापदार्थको अभाव, ढुवानी असहजता, प्लास्टिकजन्य प्याकेजिङ सामग्रीको मूल्यवृद्धि र तयारी वस्तुसँगको असमान प्रतिस्पर्धाका कारण उद्योग सञ्चालन नै चुनौतीपूर्ण बन्दै गएको उद्योगीहरूले बताएका छन् ।

मोरङको हात्तीमुढास्थित फुजिमा आयल कम्पनी लिमिटेडले पछिल्लो समय उत्पादन लागत अस्वाभाविक रूपमा बढेको जनाएको छ । 

कम्पनी सञ्चालक तथा प्रबन्ध निर्देशक सुबोध कोइरालाका अनुसार, लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक मुख्य कच्चापदार्थ ‘बेस आयल’को मूल्य मध्यपूर्व युद्ध र आपूर्ति संकटका कारण निरन्तर बढिरहेको छ ।

‘हामीले भारत र तेस्रो मुलुकबाट बेस आयल आयात गरेर उद्योगमा विभिन्न प्रकारका लुब्रिकेन्ट्स उत्पादन गर्दै आएका छौं,’ उनले उद्घोषसँग भने, ‘तर पछिल्लो समय मध्यपूर्वमा जारी युद्धका कारण कच्चापदार्थको उपलब्धता घटेको छ । निर्यातकर्ता कम्पनीहरूले अर्डर गरिसकेको सामानमै पनि मनपरी मूल्य बढाइरहेका छन् ।’

उनका अनुसार समस्या बेस आयलमा मात्र सीमित छैन । लुब्रिकेन्ट्स प्याकेजिङका लागि प्रयोग हुने प्लास्टिक कन्टेनर पनि पेट्रोलियम पदार्थमै आधारित भएकाले प्लास्टिक दानाको मूल्य बढ्दा साना–ठूला सबै प्रकारका प्याकेजिङ कन्टेनरको लागतसमेत आकाशिएको छ । यसले उद्योगको सम्पूर्ण उत्पादन चक्र प्रभावित बनेको कोइराला बताउँछन् ।

‘पहिले एउटा कन्टेनरको मूल्य जे थियो, अहिले त्यसको लागतमा पनि उल्लेख्य वृद्धि भएको छ,’ उनले भने, ‘तेल मात्रै होइन, त्यसलाई राख्ने भाँडादेखि लेबलसम्म सबैको लागत बढेको छ ।’ 

फुजिमाले लागत घटाउन पछिल्लो समय आफैं प्लास्टिक युनिट राखेर कन्टेनर अर्थात् प्लास्टिकका बट्टा पनि बनाउँदै आएको छ । तर, प्लास्टिकको दानामै बढेको मूल्यले त्यसको लागत पनि बढेको छ ।

यसरी प्लास्टिकका बट्टा, लेबल, ढुवानी सबैमा मूल्य बढ्दा लुब्रिकेन्टको समग्र मूल्यमा दबाब परेको कोइराला बताउँछन् । 

कोइरालाका अनुसार, लुब्रिकेन्ट्स भनेको मेसिन, गाडी, उद्योगका उपकरण तथा इन्जिनका चलायमान भागबीचको घर्षण घटाउन, ताप नियन्त्रण गर्न र पार्टपुर्जाको आयु बढाउन प्रयोग गरिने तेलजन्य पदार्थ हो । 

बोलिचालीमा धेरैले यसलाई ‘मोबिल’ भन्ने गरे पनि मोबिल वास्तवमा लुब्रिकेन्ट्सको एउटा अन्तर्राष्ट्रिय ब्रान्ड मात्र हो ।

यसअन्तर्गत इन्जिन आयल, गियर आयल, हाइड्रोलिक आयल, ट्रान्सफर्मर आयल, ग्रिज, कूलन्ट तथा विभिन्न औद्योगिक मेसिनरी आयल पर्छन् । 

नेपालमा सार्वजनिक तथा निजी सवारीसाधन, उद्योग, कृषि उपकरण, निर्माण मेसिनरी र जलविद्युत् आयोजनामा यसको व्यापक प्रयोग हुने गरेको छ ।

कोइरालाका अनुसार बेस आयल लुब्रिकेन्ट्स उत्पादनको मुख्य कच्चापदार्थ हो । 

कच्चा पेट्रोलियम पदार्थ अर्थात् क्रुड आयल प्रशोधनपछि प्राप्त हुने यस पदार्थमा विभिन्न रासायनिक तत्व र एडिटिभ मिसाएर विभिन्न ग्रेडका लुब्रिकेन्ट्स तयार गरिन्छ ।

बेस आयलबाट इन्जिन आयल, मोटरसाइकल आयल, डिजेल इन्जिन आयल, गियर आयल, हाइड्रोलिक फ्लुड, कम्प्रेसर आयल, ट्रान्सफर्मर आयल, औद्योगिक मेसिनरी आयल, ग्रिज तथा मेटल कटिङ आयलजस्ता उत्पादन तयार हुन्छन् ।

लुब्रिकेन्ट्समा विभिन्न ग्रेड हुने र त्यसले यसको गुणस्तर तथा प्रयोगको क्षेत्र निर्धारण गर्ने कोइराला बताउँछन् । 

सामान्यतया २०डब्लू–४०, २०डब्लू–५०, १५डब्लू–४० जस्ता ग्रेड नेपाली बजारमा बढी प्रयोग हुन्छन् । चिसो तथा तातो तापक्रममा तेलको कार्यक्षमता कस्तो हुन्छ भन्ने आधारमा ग्रेड निर्धारण गरिन्छ ।

‘लुब्रिकेन्ट्स कुन कम्पनीको हो भन्ने भन्दा पनि कुन ग्रेडको हो भन्ने महत्वपूर्ण हुन्छ,’ कोइराला भन्छन्, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ग्रेड भए जुनसुकै कम्पनीको उत्पादन पनि प्रभावकारी हुन्छ ।’

नेपालमा बेस आयल आयात गरी स्वदेशमै ब्लेन्डिङ र प्याकेजिङ गरेर बजारमा बिक्री गर्ने ठूला उद्योगहरू औंलामा गन्न सकिने भए पनि विभिन्न ब्रान्डमा प्याकेजिङ गरेर बिक्री गर्ने कम्पनी भने सयौंको संख्यामा रहेको कोइराला बताउँछन् ।

यद्यपि, बजारमा भारतीय तथा बहुराष्ट्रिय ब्रान्डहरूको वर्चस्व अझै कायम रहेको उनको गुनासो छ । 

उनका अनुसार नेपालमा सवारीसाधन आयात गर्दा निश्चित कम्पनीको लुब्रिकेन्ट्स प्रयोग गर्नुपर्ने अप्रत्यक्ष दबाब सिर्जना गर्नेे गरिएको छ ।

‘अमूक कम्पनीको लुब्रिकेन्ट्स प्रयोग गरेमात्र वारेन्टी–ग्यारेन्टी कायम हुन्छ भन्ने मनोवैज्ञानिक प्रभाव बजारमा छ,’ कोइराला भन्छन्, ‘त्यसले नेपाली उत्पादनप्रति उपभोक्तामा अनावश्यक डर पैदा गरेको छ ।’

स्वदेशी उद्योगीहरूका अनुसार नेपालमा कच्चापदार्थ आयात गर्दा उच्च लागत लाग्ने, ढुवानी महँगो हुने र तयारी वस्तुसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले उद्योग सञ्चालन आफैमा चुनौतीपूर्ण छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल महँगिएसँगै बेस आयलको मूल्य प्रतिटन सयौं डलरले बढेको उद्योगीहरूको भनाइ छ । 

त्यसको प्रत्यक्ष असर नेपाली बजारमा लुब्रिकेन्ट्सको मूल्यमा पर्ने भए पनि बजार गुम्ने डरले स्वदेशी उद्योगीहरूले तत्काल मूल्य समायोजन गर्न सकेका छैनन् ।

‘हामीले मूल्य बढाउनुभन्दा उत्पादन कटौती गर्ने विकल्प रोजेका छौं,’ कोइराला भन्छन्, ‘उत्पादन घटाउँदा कर्मचारी संख्यासमेत घटाउनुपर्ने अवस्था आएको छ ।’

उनका अनुसार लुब्रिकेन्ट्स उद्योग प्रत्यक्ष रूपमा पेट्रोलियम बजारस“ग जोडिएको उद्योग हो । कच्चा तेल महँगिंदा सबैभन्दा पहिले बेस आयलको मूल्य बढ्छ । त्यसपछि ढुवानी खर्च, प्याकेजिङ सामग्री, प्लास्टिक कन्टेनर, लेबल, रसायन तथा एडिटिभ्सको मूल्य पनि बढ्दै जान्छ ।

उद्योगीहरूले कच्चापदार्थ र तयारी वस्तुमा लाग्ने भन्सार दर असन्तुलित रहेको गुनासो पनि गर्दै आएका छन् । 

नेपाल लुब्रिकेन्ट्स संघका संस्थापक अध्यक्षसमेत रहेका कोइरालाका अनुसार बेस आयल आयात गर्दा हाल १५ प्रतिशतसम्म भन्सार, भ्याट तथा अन्य कर लाग्छ । 

जबकि तयारी लुब्रिकेन्ट्समा ३० प्रतिशत भन्सार शुल्क रहे पनि व्यवहारमा स्वदेशी उद्योगले पर्याप्त संरक्षण पाउन नसकेको उनको भनाइ छ ।

‘कच्चापदार्थमै उच्च कर लाग्दा स्वदेशी उत्पादन महँगो पर्छ,’ उनले भने, ‘सरकारले कच्चापदार्थमा सहुलियत र तयारी वस्तुमा थप संरक्षण नीति ल्याउन सके उद्योग विस्तार सम्भव छ ।’

उद्योगीहरूका अनुसार नेपालमा वार्षिक अर्बौं रुपैयाँ बराबरको लुब्रिकेन्ट्स खपत हुन्छ । 

स्वदेशी उद्योगले गुणस्तरीय उत्पादन गरे पनि नेपाली उत्पादनलाई हेर्ने दृष्टिकोणकै कारण बजार विस्तारमा समस्या भइरहेको उनीहरूको गुनासो छ ।

कोइराला भने आफ्नो कम्पनीले तीन दशकदेखि गुणस्तरमा कुनै सम्झौता नगरेकाले बजारमा टिक्न सफल भएको दाबी गर्छन् ।

‘विदेशी ब्रान्डभन्दा हाम्रो उत्पादन सस्तो छ, तर गुणस्तरमा कुनै कमी छैन,’ उनले भने, ‘अब उपभोक्ताले पनि स्वदेशी उत्पादनप्रति विश्वास बढाउन आवश्यक छ ।’

View : 103

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved