विराटनगर । आइतबार रातिबाट सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा सुरु भएको विवाद केही मिनेटमै हिंसात्मक झडपमा बदलियो ।
रातभर बन्दुकका आवाज सुनिए । सडकभर ढुंगा छरिए, पसलका सटर बन्द भए, रगतका टाटा देखिए । सोमबार बिहान घाम त उस्तै गरी उदायो, तर गाउँको मनोदशा भने फेरिइसकेको थियो ।
सोमबार सडकमा नेपाली सेना र अन्य सुरक्षा निकायको बाक्लो उपस्थिति थियो ।
कर्फ्यूकाबीच पनि विभिन्न स्थानमा स्थानीय आक्रोशित देखिए । आइतबार रातिको झडपले देवानगञ्ज मात्रै होइन, सुनसरीका अन्य क्षेत्रमा पनि तनाव फैलियो । इनरुवासहित विभिन्न स्थानमा प्रदर्शन, तोडफोड र राजमार्ग अवरोधका घटना भए ।
यस घटनामा सुरक्षाकर्मीको गोली लागेर एक युवाको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।
घटनापछि गृह मन्त्रालयले जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्व परिवर्तन गर्नुका साथै उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूका अनुसार देवानगञ्ज विवादको पृष्ठभूमि केही दिनअघिदेखि तयार भइरहेको थियो ।
कप्तानगञ्जस्थित शिव मन्दिर नजिक राखिएको मोहरमसँग सम्बन्धित झण्डा हटाएर अर्को झण्डा राख्ने विषय केही समयदेखि स्थानीय तह र प्रशासनसम्म पुगेको थियो । चाड सकिएकाले पुरानो झण्डा हटाउनुपर्ने र साउनमा शिव झण्डा राख्ने माग उठिरहेको थियो ।
सो मागलाई समयमै व्यवस्थापन गर्न नसक्दा असन्तुष्टि बढ्दै गएको र त्यसले हिंसात्मक अवस्था निम्त्याएको स्थानीयको भनाइ छ ।
‘दुवै पक्षले एकदमै सामान्य रुपमा लिएर विवाद समाधान गरेको भए यो यतिको हिंसा हुनुपर्ने कुरै थिएन,’ देवानगञ्जका एक स्थानीयवासीले भने ‘तर, दुवै पक्षले झण्डाको विषयलाई इगो (अहङ्कार)को रुपमा लिए । आज यो अवस्था आयो ।’
आइतबार साँझ साउने सोमबारका लागि बोलबम यात्राको तयारी भइरहेको थियो । त्यसक्रममा ठूलो आवाजमा डिजे बजाइएको थियो ।
राति करिब ९ बजेतिर अर्को समूहका केही व्यक्ति आएर डिजेको आवाजप्रति आपत्ति जनाएपछि भनाभन सुरु भयो । झण्डा राख्ने विषयमा रहेको असन्तुष्टि र तत्कालको विवाद मिसिदा अवस्था छिट्टै नियन्त्रणबाहिर पुग्यो ।
स्थानीय एक जनप्रतिनिधिका अनुसार, झण्डाको विषय र डिजेको आवाज दुवैले तनाव बढाउन भूमिका खेले ।
झडपका क्रममा दुवै पक्षबाट संयम नदेखिदा घटना हिंसात्मक बनेको उनको भनाइ छ ।
सामान्य विवाद केहीबेरमै ढुंगामुढा, लाठी तथा धारिलो हतियार प्रयोग हुने झडपमा परिणत भयो । बजार क्षेत्र तनावग्रस्त बन्दै गएपछि स्थिति नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरियो ।
जिल्ला प्रहरीका निमित्त प्रमुख डीएसपी चन्द्र खड्काका अनुसार अनुसार भीड नियन्त्रणका क्रममा अश्रुग्यास प्रहार गरिएको थियो । साथै नेपाल प्रहरीले केही राउन्ड र सशस्त्र प्रहरीले दुई दर्जनभन्दा बढी राउन्ड हवाई फायर गरेको जनाएको छ ।
त्यसक्रममा सुरक्षाकर्मीमाथि पनि आक्रमण भएको प्रहरीको दाबी छ । इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राई टाउकोमा चोट लागेर घाइते भएका छन् ।
घाइतेका आफन्त र स्थानीय भने प्रहरीले आवश्यकता भन्दा बढी बल प्रयोग गरेको आरोप लगाइरहेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।
झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका देवानगञ्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भयो ।
यस घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।
घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबेल अस्पताल तथा अन्य स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
न्युरो अस्पतालमा उपचाररतमध्ये कक्षा १० मा अध्ययनरत मिथिलेश मेहताको पेटमा गोली लागेको छ ।
उनका पिता दिलीप मेहता अस्पतालबाहिर छोराको अवस्थाबारे जानकारी लिंदै व्यग्र देखिन्थे ।
उनका अनुसार राति खाना खाएर सुत्ने तयारीमा रहेका छोरा बाहिर होहल्ला भएपछि के भइरहेको छ भनेर हेर्न निस्किएका थिए । त्यसपछि उनी गोली लागेर अस्पताल पुग्न पर्यो ।
त्यसै अस्पतालमा उपचाररत २२ वर्षीय अमलेश मेहताको ढाड र गर्धनमा गोली लागेको छ । हरेराम यादवको देब्रे तिघ्रामा गोली लागेको छ भने जयप्रकाश मेहताको पेटबाट गोली निकाल्न शल्यक्रिया गरिएको छ ।
विराट नर्सिङ होममा रवीन्द्र मेहता, अमितकुमार यादव, सुनिलकुमार मेहता र सुनिल मेहता उपचाररत छन् ।
नोबेल अस्पतालको सघन उपचार कक्षमा अमित यादवको उपचार भइरहेको छ । उनीहरु सबै देवानगन्ज ३ र ४ नम्बरकमा बासिन्दा हुन् ।
आइतबार रातिको घटनापछि सोमबार बिहानैदेखि विभिन्न स्थानमा प्रदर्शन सुरु भएको थियो ।
देवानगञ्ज–२ मा गाउँपालिका कार्यालय नजिक केही व्यक्तिको घर, हार्डवेयर पसल, मोटरसाइकल र एउटा ट्याक्टरमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।
कप्तानगञ्जमा पनि सवारीसाधन तथा अन्य सामग्रीमा आगजनीको प्रयास भएको थियो ।
मोहन मेहतामाथि पनि आक्रमण भएकोे छ । बजारबाट घर फर्कने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको र उनको उपचार भइरहेको छ ।
इनरुवामा प्रदर्शनकारीले बजार बन्द गराए, केही सवारीसाधन तथा संरचनामा तोडफोड गरे र पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थान अवरुद्ध बनाए ।
स्थिति थप बिग्रिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिकाको घुस्की, भुटाहाका साथै कप्तानगञ्ज तथा देवानगञ्ज बजार क्षेत्रमा कफ्र्यू आदेश जारी गर्यो ।
कर्फ्यूका बाबजुद केही स्थानमा प्रदर्शन जारी रहेपछि प्रशासनले नेपाली सेना परिचालन गर्यो । सेनाको उपस्थितिपछि अवस्था क्रमशः नियन्त्रणतर्फ उन्मुख भए पनि स्थानीयमा त्रास भने कायम रहेको देखिन्छ ।
देवानगञ्ज गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहताका अनुसार तनाव देवानगञ्जबाट सुनसरीका अन्य स्थानसम्म फैलिएको थियो । उनले अहिले सुरक्षाकर्मीको उपस्थितिले अवस्था केही शान्त देखिए पनि दीर्घकालीन समाधान संवादबाट मात्रै सम्भव हुने बताए ।
प्रशासनले सबै पक्षसँग बसेर विश्वासको वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।
देवानगञ्जमा अहिले गोली लागेकाहरू मात्रै घाइते छैनन् । वर्षौंदेखि एउटै बजारमा किनमेल गर्ने, एउटै विद्यालयमा पढ्ने, एउटै बाटो हिड्ने र दुःख–सुख बाँड्ने समुदायबीच अविश्वासको रेखा कोरिन थालेको महसुस स्थानीयले गरिरहेका छन् ।
घटनाअघि धार्मिक पहिचानभन्दा छिमेकीपन बलियो रहेको धेरैको अनुभव थियो । अहिले भने एकअर्कालाई शंकाको दृष्टिले हेर्ने अवस्था बनेको उनीहरू बताउँछन् ।
यही अविश्वास लामो समयसम्म रह्यो भने त्यसले कुनै पनि भौतिक क्षतिभन्दा ठूलो सामाजिक क्षति पु¥याउन सक्ने चिन्ता स्थानीयको छ ।
‘देवानगञ्जका लागि अबको चुनौती केवल दोषी पहिचान गर्नु मात्र होइन, समुदायबीच हराएको विश्वास पुनस्र्थापित गर्नु पनि हो,’ अध्यक्ष मेहताले भने ‘सरकार, नागरिक सबै मिलेर त्यसका लागि ठोस पहल गर्नुपर्छ ।’
स्थानीयबासीले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छने् । झण्डासम्बन्धी विवाद किन समयमै समाधान हुन सकेन, स्थानीय प्रशासनले सम्भावित जोखिमको मूल्यांकन किन गर्न सकेन, बल प्रयोग अपरिहार्य थियो वा थिएन, र प्रयोग गरिएको बल आवश्यक तथा समानुपातिक थियो कि थिएन भन्ने प्रश्नहरू विभिन्न दलका नेताहरुले उठाइरहेका छन् ।
कांग्रेस सभापति गगन थापादेखि, मुख्यमन्त्री हिक्मत कार्की, रास्वपा सांसद लालविक्रम थापासम्मको माग एकै छ ।
View : 58
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved