Biratnagar, Morang, Nepal
२३ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेसमा आज चुनाव :

कोशीका को नेता कुन पदका उम्मेदवार ?

उद्‌घोष संवाददाता
२२ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कोशी प्रदेशबाट पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा नेताहरूले उम्मेदवारी दिएका छन् । कोशीबाट वरिष्ठ उपसभापतिमा झापाका विश्वप्रकाश शर्मा निर्विरोध चयन भइसकेका छन् । 

उपसभापति पदमा उम्मेदवारी दिएका मोरङका डा. मीनेन्द्र रिजालले भने उम्मेदवारी फिर्ता लिएका छन् । खुला उपसभापतिमा उम्मेदवारी दिएका रिजालले सभापति गगन थापासँग भेटेपछि उम्मेदवारी फिर्ता लिन तयार भएका छन् । 

मंगलबार उम्मेदवारी दर्ता गरेपछि रिजालले सभापति थापासँग भेटवार्ता गरेका थिए । भेटवार्तामा भएको कुराकानीको भिडियो डा. रिजालले आफ्नो फेसबुकमा पोस्ट गरेका छन् । 

भेटमा थापाले रिजालको अनुभव र ज्ञानलाई पार्टीमा उपयोग गर्नुपर्ने भन्दै पदाधिकारीमा प्रतिस्पर्धा नगरी पार्टीभित्रै बसेर काम गर्न आग्रह गरेका थिए । 

सभापति थापाले रिजालसँग आफूले पार्टी सभापतिको हैसियतमा सँगै बसेर काम गर्न चाहेको बताए । 

रिजालको अनुभव र ज्ञान नयाँ पुस्तालाई जोड्ने ‘पुल’ का रूपमा आवश्यक रहेको उनको भनाइ थियो । रिजालले पनि कांग्रेसलाई योगदान गर्ने कुरा आफ्नो प्राथमिकता रहेको भन्दै आफूले पदका लागि उम्मेदवारी नदिएको बताए । 

उनले कांग्रेसलाई पुनः बलियो बनाउन थापाको नेतृत्वलाई सहयोग गर्ने निर्णय गरेको बताए ।

यसैगरी कांग्रेस महामन्त्रीको खुलातर्फ मोरङका गुरुराज घिमिरे र डा. सुनिल शर्माले उम्मेदवारी दिएका छन् । महिलातर्फ महामन्त्रीमा मोरङकै डा. डिला संग्रौलाको उम्मेदवारी छ । 

सहमहामन्त्रीको खुलातर्फ मोरङका अमृत अर्याल र ओखलढुंगाका रामहरि खतिवडा उम्मेदवार छन् । 

अल्पसंख्यकतर्फ सोलुखुम्बुका आङगेलु शेर्पा, आदिवासी जनजातितर्फ संखुवासभाका तारामान गुरुङ र दलिततर्फ उदयपुरकी लक्ष्मी परियारले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

कोशी प्रदेशबाट केन्द्रीय सदस्यका लागि पनि विभिन्न क्लस्टरमा ठूलो संख्यामा नेताहरू प्रतिस्पर्धामा छन् । 

जस अनुसार भीम पराजुली, छत्रबहादुर गिरी, वीरमणि ढकाल, अनिलकृष्ण प्रसाई, कुमार लुइँटेल, केशव थापा, प्रकाशसिंह कार्की, रमेशजंग रायामाझी, राजीव कोइराला, पूर्णकुमार तुम्बापो, वीरकाजी राई, विजय सम्बाहाम्फे, विष्णुकुमार राई, सुरेश योङया, सूर्यकुमार नेम्वाङ, चन्द्रेश्वर शर्मा खत्वे, पंकजकुमार वर्मा, गोपालबहादुर थापा, बिनोदकुमार बस्नेत, शिवनारायण सिंह गनगाई र तिलप्रसाद सुब्बालगायत उम्मेदवार छन् । 

त्यस्तै उमा शिवाकोटी, मृदुला कोइराला, नरेन्द्र केरुङ, निश्कल राई, प्रदीप सुनुवार, गीता गुरुङ, प्रमिला राई, लीलादेवी बोखिम, शोभा चेम्जोङ, मनमाया विक, गोमाकुमारी पराजुली अन्सारी, पुनम सिंह, डा. सीता पोखरेल घिमिरे, नवोदिता चौधरी, प्रमिला चौधरी, सूची चौधरी, नजबुल खातुन र सञ्जाकुमारी दनुवार केन्द्रीय सदस्यको उम्मेदवार छन् । 

कोशी प्रदेशअन्तर्गत प्रदेश क्लस्टरबाट केन्द्रीय सदस्य महिला पदमा एक पदका लागि सरस्वती ढुंगाना र रेगीना भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ । कोशी प्रदेश खुलातर्फ तीन केन्द्रीय सदस्य पदका लागि महेश थपलिया, मेदनीप्रसाद सिटौला, विमलकुमार संग्रौला, हुकुमसिंह राई, राजेशकुमार खड्का, डम्बरबहादुर खड्का, दीपनकुमार श्रेष्ठ, जनार्दनराम निरौला, बिदुर बस्नेत, बाबुराम कोइराला (बासु), टिकाराज ढकाल, केशवप्रसाद भेटवाल, विश्वनाथ रिजाल र भीमबहादुर थापा उम्मेदवार छन् । 

३५ वर्षमुनिका युवा महिलातर्फ एक पदका लागि पूर्णिमा देव, प्रमिला ढकाल, मिरा कटुवाल, डा. योशिका भट्टराई, रक्षा यादव, रुबी सिटौला, लिजा बस्नेत र सरिता पौडेल उम्मेदवार छन् । ३५ वर्षमुनिका युवा खुलातर्फ एक पदका लागि अनोज कार्की, गोविन्द लिम्बू, गौरव भण्डारी, जयन्तदेव पोदार, दीपेन्द्र न्यौपाने, दोर्ची शेर्पा, मदन भण्डारी, विकल राई, विश्वराज तामाङ, समुन्द्र पोखरेल, सरोज थापा, सुविन पराजुली र हेमकाजी बस्नेतले उम्मेदवारी दिएका छन् ।

कांग्रेस महाधिवेशनमा बिहीबार निर्वाचन हुँदैछ । कोशी प्रदेशबाट पदाधिकारी र विभिन्न क्लस्टरमा उम्मेदवारी दिएका नेताहरूको संख्या उल्लेख्य रहेकाले प्रदेशको प्रतिनिधित्वका लागि पनि यो निर्वाचन महत्वपूर्ण मानिएको छ । १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । 

महाधिवेशनमा सहभागी ७ हजार २५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्ने छन् । मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ । 

प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको हो । 

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था गरिएको छ । 

त्यसैगरी खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नेछन् । 

भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बनेकाहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ । 

प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ । सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।

View : 49

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved