Biratnagar, Morang, Nepal
१६ असोज २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योगी–व्यवसायीका समस्या समाधान गर्न सरकारसँग थप संवाद आवश्यक : अध्यक्ष श्रेष्ठ

उद्‌घोष संवाददाता
१५ असोज २०८३, बिहिवार

Advertisement

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि सरकारसँग थप प्रभावकारी संवाद र समन्वय आवश्यक रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङलगायत कोशी प्रदेशका उद्योगी व्यवसायिक संस्था तथा उद्यमीहरूसँगको छलफलका क्रममा अध्यक्ष श्रेष्ठले निजी क्षेत्रका सुझाव र समस्या समाधानका विषयलाई सरकारसमक्ष प्राथमिकताका साथ प्रस्तुत गर्न महासंघ तयार रहेको बताए । 

उनले सरकारले सुधारका केही प्रयास गरे पनि निजी क्षेत्रसँग प्रत्यक्ष संवाद र समन्वयमा अझै सुधार आवश्यक रहेको बताउँदै महासंघले त्यसका लागि निरन्तर पैरवी गरिरहेको बताए ।

श्रेष्ठले सीपमूलक तालिम, महिला उद्यमशीलता प्रवद्र्धन तथा स्थानीय तह र उद्योग वाणिज्य संघबीच सार्वजनिक–निजी साझेदारीमार्फत स्थानीय स्रोतको उपयोग गर्नुपर्नेमा समेत जोड दिए ।

अध्यक्ष श्रेष्ठलाई मुलुकको आर्थिक अवस्था, निर्यात व्यापार, बजारको शिथिलता र नीतिगत समस्याबारे पूर्वका उद्योगी व्यवसायीहरूले समस्या सुनाएका थिए । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विपद्का श्रृंखलावद्ध घटनाका कारण नेपालको निजी क्षेत्र र व्यवसाय थप प्रभावित भएको बताए । 

उनले चाडपर्वको समयमा अपेक्षित व्यापार हुन नसक्दा व्यवसायीको बैंक ब्याज भुक्तानीदेखि सरकारको राजस्व संकलनसम्म असर परेको बताए ।

चुनौतीपूर्ण अवस्थाका बाबजुद पनि महासंघ कोशी प्रदेश समितिले व्यवसायीहरूलाई हौसला प्रदान गर्दै सुरक्षित र निर्धक्क रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरण गर्दै आएको अध्यक्ष राउतले बताए ।

महासंघ कोशी प्रदेशमा आयोजित छलफलमा सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य गोपाल श्रेष्ठ, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष नवीन बस्नेत, केन्द्रीय सदस्य सुयश प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।

अध्यक्ष श्रेष्ठसँगको छलफलमा प्रदेश अध्यक्ष राउतले महासंघको आफ्नै भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै आगामी एक वर्षभित्र नयाँ भवनबाट सचिवालय सञ्चालन गर्ने तयारी समेत भइरहेको सुनाए ।

यता, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनिलकुमार साहले अध्यक्ष श्रेष्ठसँगको छलफलमा नेपाली खानेतेल उद्योग भारतको पछिल्लो भन्सार नीतिका कारण जोखिममा परेको गुनासो प्रस्तुत गरेका थिए । 

संघकै कार्यालयमा आयोजित भेटघाटमा भारतले कच्चा सूर्यमुखी तेल, सोयाबिन र पाम आयलको आयात महसुल घटाएपछि नेपालबाट हुने प्रशोधित तेलको निर्यात प्रभावित हुने बताए । 

साथै, नेपाली बजारमा भारतीय तेलको आयात बढ्न सक्ने जोखिम उनले औंल्याए । उनले स्वदेशी उद्योगको संरक्षणका लागि सरकारले तत्काल भन्सार नीतिमा आवश्यक समायोजन गर्नुपर्ने बताए ।

त्यस्तै, छलफलमा सहभागी व्यवसायीहरूले व्यापार घाटासँगै व्यवसायीबीच विश्वासको संकटसमेत बढ्दै गएको भन्दै उधारो कारोबार संरक्षणसम्बन्धी कानून तत्काल ल्याउन महासंघले पहल गर्नुपर्ने बताए । 

चाडपर्वको समयमा समेत स्वदेशी बजार शिथिल र सीमावर्ती भारतीय बजार सक्रिय हुने अवस्थालाई सम्बोधन गर्न भन्सार तथा राजस्व नीति पुनरावलोकन गर्नुपर्नेमा जोड दिए ।

व्यवसायीहरूले नेपालले श्रम सम्झौता भएका मुलुकहरूसँग स्वतन्त्र व्यापार सम्झौता (एफटीए) अघि बढाउनुपर्ने, एफटीएका लागि सरकार, कर्मचारीतन्त्र र निजी क्षेत्रबीच संयुक्त पहल गर्नुपर्ने सुझाव दिएका छन् । 

साथै, जोगबनी–किमाथांका व्यापारिक करिडोर, सुरुङमार्गलगायत रणनीतिक पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने विषयमा पनि महासंघ अध्यक्ष श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए ।

View : 52

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved