विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको अध्यक्षमा पुर्व सचिव महेन्द्र प्रसाद गुरागाईँलाई नियुक्त गर्न सिफारिस गरेको छ ।
प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा (२) मा प्रदेश लोक सेवा आयोगको अध्यक्ष र सदस्यको नियुक्तिको लागि सिफारिस गर्न मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश सभाको सभामुख र प्रदेश सभामा विपक्षी दलको नेता रहेको एक सिफारिस समिति रहने व्यवस्था छ ।
सोही व्यवस्था बमोजिम आइतबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षता बसेको सिफारिस समितिको बैठकले गुरागाईँलाई अध्यक्षमा नियुक्त गर्न प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
गुरागाईँ लामो समय निजामती सेवामा रहेर लोक सेवा आयोगमै काम गरेका व्यक्ति हुन् । उनले दुई बर्ष अघि सेवाबाट अवकाश लिएका थिए ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–१० मा पुरानो घर भएपनि उनी अहिले मोरङको उर्लाबारीस्थित मंगलबारेका बासिन्दा रहेका छन् ।
दफा ३ को उपदफा (७) अनुसार आयोगको अध्यक्षको पदावधि नियुक्ति भएको मितिले ६ बर्षको हुने जनाइएको छ । प्रदेश लोक सेवा आयोगको पहिलो अध्यक्षमा नियुक्त भएका उत्तम भट्टराई उमेर हदका कारण बिदा भएपछि अध्यक्ष पद रिक्त रहेको थियो ।
View : 588
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved