Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले कोशी प्रदेश कमिटी बैठक

पदाधिकारीहरूले नै उठाए नेतृत्व सुध्रिनुपर्ने एजेण्डा

उद्‌घोष संवाददाता
१९ जेठ २०८३, मङ्गलवार

विराटनगर । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा खराब परिणामको सामना गरेयता कुनै समिक्षा गर्न नसकेको नेकपा एमाले कोशीभित्र नेतृत्व सुध्रिनुपर्ने ऐजेण्डा उठेको छ । 

भदौ २३ र २४ को हिंसात्मक जेनजी आन्दोलन र त्यसपछिको चुनावी सरकारले गराएको प्रतिनिधि सभा निर्वाचनयता समिक्षाबिहिन बनेको एमाले कोशीले आफ्नौ दशौं पूर्ण बैठक सोमबार सम्पन्न गरेको छ ।

बैठकमा प्रदेश कमिटीका केही पदाधिकारीहरूले कार्यकर्ताको चरम निराशाको प्रमुख कारण नै नेतृत्व रुपान्तरण हुन नसक्नु भएको बताएका छन् ।

एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जेनजी आन्दोलनलाई ‘खराने क्रान्ति’ को संज्ञा दिंदै त्यसपछिको निर्वाचनमा भोग्नु परेको खराब परिणामको समीक्षा गर्न ढिलाई भएको स्वीकार गरे ।

प्रदेश कमिटीका एक सदस्यका अनुसार अध्यक्ष खतिवडाले निर्वाचनमा ‘एमाले अलिक चिप्लिएर लडेको’ भन्दै त्यसयता पार्टीको अन्य कामका कारण ‘तुरुन्तै समीक्षा गर्न सकेनौं’ भन्दै माफी मागेका थिए । 

यद्यपि उनले निर्वाचनमा एमालेबाट प्रतिनिधिसभा निर्वाचित भएका २५ जना सांसद मध्ये कोशी प्रदेशबाट चारजना निर्वाचित भएको र चारजना समानुपातिकसहित सवैभन्दा धेरै ८ जना सांसद निर्वाचित हुनु खुसीको कुरा भएको बताएका छन् ।

उनले निर्वाचन लगत्तै जिल्ला कमिटीहरूले प्रारम्भिक समीक्षा गरी केन्द्रीय समितिमा प्रतिवेदनहरू पठाएको र पार्टी पनि सदस्यता नवीकरण र राष्ट्रिय भेलाको तयारीमा जुटेका कारण प्रदेशस्तरमा समिक्षा गर्न ढिलाई भएको प्रष्टोक्ति दिएका हुन् ।

अध्यक्ष खतिवडाले अप्ठेरो परेको बेलामा नेतृत्वमाथि मात्रै दोष लगाउनु उचित नहुने बरु सवैले समीक्षाको कठ्घरामा उभिन सक्नुपर्ने बताएका थिए । 

तर उक्त बैठकमा केही पदाधिकारीहरूले २०६४ पछि दोस्रो पटक पार्टीले नराम्ररी पराजय व्यहोरेको भन्दै अब सवैले कसैसँग पनि नडराइ कुरा राख्नुपर्ने अवस्था आएको बताएका थिए ।

पार्टीभित्र रुपान्तरणको बहस बढेको छ, अब फेरि यही अवस्थामा एमाले माथि उठ्न सक्छ कि सक्दैन भन्ने विश्वास तलसम्मै अन्योल छ, किन भयो यस्तो त भनेर आवाज उठेको छ’ उनले भने, ‘पार्टीभित्र निराशा देखिएको छ, यो कसको कारणले भएको हो ? जनताले किन हामी र हाम्रो नेतृत्वप्रति यस्तो अविश्वास गरे ?, यसमा हामीले गम्भीर भएर सोच्नु पर्दछ  निराशा छ । किन उत्साह छैन ? यो खोज्नु जरुरी छ, त्यसका लागि नेतृत्व सुध्रिर्नैपर्छ ।’

बैठकमा पार्टीले ठूलो युवा पंक्तिबाट विश्वास गुमाएको विषयमा प्रदेश कमिटी सदस्यहरूले आवाज उठाएका थिए । 

उनीहरूले पार्टीभित्रको गलत चिन्तन र सोच फेरिनु जरुरी भएको र सतही रुपमा पार्टी निर्माण हुन नसक्ने चिन्ता व्यक्त गरेका थिए ।

यता, बैठक लगत्तै एमाले कोशीले विज्ञप्तिमार्फत प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेका राष्ट्रियता विरोधी भनाइप्रति आपत्ति जनाएको छ । प्रधानमन्त्रीको सो अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन मागसमेत गरेको छ । 

त्यस्तै, पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध राजनीतिक प्रतिशोध र राज्य संयन्त्रको दुरुपयोग भएको भन्दै भत्र्सना गरिएको उल्लेख छ । 

सरकारले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीमाथि बल प्रयोग र विस्थापनका गतिविधि तीब्र पारेको आरोप लगाएको छ । 

आर्थिक वर्ष २०८३–८४ को बजेटले जनअपेक्षा सम्बोधन गर्न नसकेको निष्कर्ष निकाल्दै शिक्षा, स्वास्थ्य, ऊर्जा तथा सामाजिक सुरक्षामा करभार नबढाउन चेतावनी दिएको छ । 

एमालेले कोशीका पहाडी जिल्लाबाट भइरहेको बढ्दो बसाइँसराइ रोक्न विशेष नीति ल्याउन सरकारसँग आग्रह गर्दै वर्षायामजन्य विपद् व्यवस्थापनका लागि ठोस योजना बनाउन माग गरेको छ ।
फोटो पनि छ ।

View : 53

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved